किलाघः महोत्सवमा सुप चाख्नेको भीड

काठमाडौँ — नेवारी भोजमा अनिवार्य मानिने बुँ लाः हत्तपत्त उपत्यकामै पाइँदैन । तर, काठमाडौं महानगपालिका–१८ द्वारा शनिबार आयोजित एकदिने ‘किलाघः महोत्सव’मा यो परिकार खानेको भीड लाग्यो । सेतो जाँडको छोक्रा सफा गरेर त्यसमा राँगाको हड्डी/मासु मिसाएर पकाइने एक प्रकारको सुप हो यो । अहिले सहरी क्षेत्रमा यो सुप खाने चलन बिस्तारै हराउँदै छ । 

किलाघः महोत्सवमा सुप चाख्नेको भीड

यंगः त्वाः कुमा खलः मिसा पुचः (महिला समूह) ले राखेको सुप चाख्नेहरू स्वाद मानिरहेका थिए । मिसा पुचःकी अध्यक्ष तारा प्रजापतिले बिक्री गरेर आम्दानी गर्नभन्दा पनि स्वादिष्ट परिकारप्रति चासो होओस् भनेर प्रदर्शनमा राखेको बताइन् । ‘यो खेर जाने चिजबाट बनाउने परिकार हो, खाएमा जाँड लाग्दैन,’ उनले भनिन्, ‘रुघाखोकी र टाउँ दुखाइमा औषधिको काम गर्छ ।


सुपले ‘रिफ्रेस’ पनि हुन्छ ।’ घाँटीमा भिपु माला, शरीरमा नेवारी भेषभूषामा सजिएकी ३७ वर्षीय राधिका महर्जन, सानुछोरी, नानीम्यजु, शर्मिला, सरस्वतीलगायत १२ जना महिला यःमरी बनाउन भ्याइनभ्याई देखिन्थे । उनीहरू त्यंगः त्वाः (टोल) का महिला समूहबाट आएका रहेछन् । ‘नेपाल भाषामा यः को अर्थ मनमर्ने र मरीको अर्थ रोटी बुझिन्छ । यो चामलको पिठोबाट बनाइने एक प्रकारको मिष्ठान्न हो,’ त्यंगः त्वाः पुचःका अध्यक्ष नानीहिरा महर्जनले भनिन्, ‘नेवारी संस्कृतिको जगेर्ना र प्रसारप्रसार गर्न प्रदर्शनीमा राखिएको हो ।’ यःमरीको स्वाद चाख्नेमा विदेशी पनि थिए ।


महोत्सवमा श्वेतकाली महिला समूहले भने दूध र प्लास्टिकका झोलाबाट बनाइएका सामान राखेका थिए । फाटेका कपडाबाट फूलदानी, गमला र घरैमा उत्पादन गरेको साबुनको झोल पनि बिक्रीमा राखिएको थियो । यी सामान बनाउन किलाघः टोलका ४८ वर्षीया मधु प्रधानांग, नरदेवी टोलका ४० वर्षीया रजनी राजभण्डारी, निता वज्राचार्य, अष्ट र मिश्री महर्जन साताअघिदेखि खटिएका थिए । ‘यस्तो महोत्सव प्रत्येक महिना आयोजना गर्नुपर्छ,’ प्रधानांगले भनिन्, ‘यसले महिलाको मानसम्मान र आम्दानी बढाएको छ ।’ उनका अनुसार खेर जाने प्लास्टिकजन्य वस्तुबाट उपयोगी सामान पर्याप्त उत्पादन गर्न सकिन्छ ।


महोत्सवमा हस्तकलालगायत १२ स्टल राखिएका थिए । किलाघः डबलीसँगै जयन्द्र राजभण्डारी, विनित बनिया र राजा वज्राचार्य अवलोकनकर्ताको नाम रञ्जना लिपिमा लेख्न व्यस्त थिए । ताम्सीपाखा युथ क्लब नरदेवीले भने सांस्कृतिक महत्व झल्कने तस्बिर राखेको थियो । यसबाहेक किलाघः सांस्कृतिक पुचःलगायत सांस्कृतिक बाजा खलकले धिमे, बाँसुरी, धाः बाजा प्रस्तुत गरेका थिए ।


वडाध्यक्ष न्हुछेँकाजी महर्जनले नेपाल भ्रमण वर्षलाई पूर्वाधार तयार गर्न नमुनाको रूपमा महोत्सव आयोजना गरेको बताए । ‘यसका लागि तीन लाख बजेट छुट्याएका थियौं,’ उनले भने, ‘विदेशी पर्यटकलाई लक्षित गरी अर्को महोत्सव गर्ने योजनामा छौं ।’

प्रकाशित : मंसिर १, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?