काठमाडौँ — टुँडिखेललाई अतिक्रमणमुक्त पार्न चलाइएको अकुपाई टुँडिखेल अन्तर्गत दोस्रो कार्यक्रम खरीको बोट रोपिएको छ ।
राणा प्रधानमन्त्री चन्द्र शमशेरले दासमुक्त घोषणा यही खरीको बोटको चौतारोमा गरेकाले त्यसलाई पुनःस्थापना गर्ने कार्यक्रम अन्तर्गत खरीको बोट रोपिएको अभियानकर्ताले जनाएका छन् ।
टुँडिखेललाई सैनिक मञ्च बनाउने क्रममा २०२८ सालमा खरीको रुख काटिएको थियो भने चौतारो भत्काइएको थियो । वनस्पतिविद् तीर्थ श्रेष्ठका अनुसार टुँडिखेलमा दुई वटा खरीका बोट थिए । श्रेष्ठका अनुसार खरीको बोटमा कुमारी थान पनि हुने भएकाले यसलाई काटिंदैनथ्यो ।
टुँडिखेलको पूर्वोत्तर दिशामा रहेको सांस्कृतिक वृक्ष गुरुमार्पाकै छेउमा रोपिएको छ खरी । खरीको बोटको चौतारो भत्काएर अहिले सैनिक मञ्च बनाइएको छ । त्यही ठाउँमा रोप्न नसकेपनि सांकेतिक रुपमा पल्लो छेउमा रोपिएको अभियन्ता सुशन वैद्यले जानकारी दिए ।
चन्द्र शमशेरले यही चौताराबाट वि.सं १९८१ मा दासमुक्त घोषणा गरेका थिए ।
प्रकाशित : कार्तिक ३०, २०७६ १६:२३