१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सरकारीले फर्काएका बिरामीले भरिन्छन् निजी अस्पताल

‘बेड पाएको भए ११ सय खर्च गरे पुग्थ्यो, निजीमा भेन्टिलेटरसहितको आईसीयूमा प्रत्येक दिन १४ हजार खर्च भयो’ 
फातिमा बानु

काठमाडौँ — डेंगु ज्वरोले थलिएका अर्घाखाँचीका ५१ वर्षीय जीवनकुमार बस्याल नौ दिनअघि बसुन्धरास्थित बीपी स्मृति अस्पतालको आईसीयूमा भर्ना भए । वीर अस्पताल र महाराजगन्जको शिक्षण अस्पतालमा बेड नपाएपछि उनलाई बीपीमा लगिएको थियो ।

सरकारीले फर्काएका बिरामीले भरिन्छन् निजी अस्पताल

बुटवल अस्पतालले मिर्गौलामा समेत समस्या भएको भन्दै काठमाडौंका ‘ठूलो’ अस्पताल लैजान परिवारलाई आग्रह गरेपछि एम्बुलेन्समा ११ हजार रुपैयाँ तिरेर १८ गते उनलाई काठमाडौं ल्याइयो । भेन्टिलेटर भएको आईसीयूमा उनको उपचार गर्दा दैनिक १४ हजार खर्च भएको आफन्त बाबुराम पौडेलले बताए । सरकारी अस्पतालमा बेड पाएको भए दैनिक ११ सय खर्च गरे पुग्थ्यो ।

‘पाँच लाखभन्दा बढी खर्च भइसक्यो,’ उनले भने, ‘सरकारी अस्पतालमा बेड पाइदिएको भए यत्तिको पैसा खर्च हुने थिएन । खेती गर्ने हाम्रो परिवारले थप खर्च कसरी जुटाउनु ?’ आईसीयूमा बेड खाली हुन्छ कि भनेर उनी वीर र शिक्षण अस्पताल दैनिकजसो धाउँछन् । ‘तर, कहिल्यै खाली छ भन्दैन,’ उनले भने ।


जनकपुरका १९ वर्षीय एक युवाको पनि ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । कात्तिक १० गते विष सेवन गरेर आत्महत्या प्रयास गरेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । धुलिखेल, हेल्पिङ ह्यान्ड, शिक्षण अस्पताल चहारे पनि बेड नपाएपछि ग्रिनसिटीमा भर्ना गरिएको उनकी दिदी गोमा मगरले बताइन् । मिर्गौला डायलसिस गर्नुपर्ने भन्दै हेल्पिङ ह्यान्डले बिरामीलाई शिक्षण अस्पताल रिफर गरेको थियो । ११ दिनेदेखि उनी ग्रिनसिटीको आईसीयूमै उपचाररत छन् । आईसीयूको चर्को खर्च जुटाउनै मगर परिवारलाई हम्मे परेको छ । ‘ऋण काढेर भए पनि उपचार खर्च जोहो गरिरहेका छौ,’ गोमाले भनिन् । ‘सरकारी अस्पतालमा चार/पाँचवटा बेड भीआईपीलाई छुट्याएर राख्छन् रे । मैले सबैतिर चहार्दा पनि पाइनँ,’ उनको गुनासो छ, ‘काठमाडौंमा कोही चिनेका छैनन्, हामीलाई किन दिन्थे र बेड ?’


सरकारी अस्पतालमा उपचार गराउन आएका यी दुई बिरामीजस्तै धेरैजसोले बाध्यतापूर्वक निजी अस्पतालमा उपचार गराउनुपरेको छन् । शिक्षण अस्पताललाई विश्वास गरेर पुगेका बिरामी बेड नपाएपछि वरिपरिकै निजी अस्पतालमा भर्ना हुन्छन् । ‘यहाँ छेउछाउ जति पनि अस्पताल छन्, टिचिङमा बेड नपाएका बिरामीले भरिएका छन्,’ शिक्षण अस्पतालकै एक डाक्टरले भने ।


राजधानीबाहिरका बिरामीमात्रै नभई काठमाडौं बूढानीलकण्ठकी ४५ वर्षीया कृष्णमाया श्रेष्ठले पनि शिक्षण अस्पतालमा बेड नपाएपछि निजी अस्पतालमा उपचार गराइरहेकी छन् । शिक्षण अस्पताल आकस्मिक कक्षका स्वास्थ्यकर्मीले चिरायु अस्पताल लैजान सुझाए । त्यहाँ पनि आईसीयू बेड नपाएपछि बीपी स्मृति अस्पतालमा उनको उपचार भइरहेको छ । आइसियूमा दैनिक ७ हजार रुपैयाँ खर्च हुने गरेको उनले बताइन् ।


बिरामी र उनीहरूका आफन्तले पाउने पीडा बुझ्न निजी अस्पताल पुग्दा आईसीयू र जनरल बेडमा सरकारी अस्पतालबाट फिर्ता पठाएका बिरामीले भरिएको पाइयो । चक्रपथको मेट्रो काठमाडौं अस्पताल, बसुन्धाराको चिरायु, बीपी स्मृति, ग्रिनसिटी, इसान महिला तथा बालबालिका अस्पतालका आईसीयू बेड शिक्षणबाट आएका बिरामीले भरिएका छन् ।


अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका बेडमा भने कान्ति बाल अस्पतालबाट फर्केका बिरामी भेटिए । ‘सरकारी अस्पतालको आईसीयू पाउने भनेको मन्त्री, नेता र शक्तिमा भएका ठूला व्यक्तिका आफन्तले मात्रै रहेछ,’ ग्रिनसिटीमा भेटिएका कुरुवा राजेन्द्र पराजुलीले आक्रोश व्यक्त गरे । शिक्षण अस्पतालमा भेन्टिलेटरसहितका ११ वटा आईसीयू बेड छन् । भेन्टिलेर नभएका थप २८ वटा बेड पनि छन् । अस्पतालमा आईसीयू चाहिने सरदर बिरामी ५० जनासम्म आउने निर्देशक डा. प्रेम खड्गाले बताए ।


आईसीयू बेड थप्नका लागि अस्पतालसँग बजेट नभएको उनको भनाइ छ । ‘शिक्षा मन्त्रालयसँग बारम्बार आग्रह पनि गर्‍यौं । बजेट नपाएपछि बेड थप्न सकिएन,’ खड्गाले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग बजेट माग गरिरहेका छौं । आश्वासनचाहिँ पाएका छौं ।’ भूकम्पले चर्काएको पुरानो प्रशासनिक भवन भत्काएर नयाँ भवन निर्माण गर्न सकिने उनले बताए । उनका अनुसार ३० बेड थप्नका लागि अस्पताललाई ४० करोड बजेट आवश्यक पर्छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?