उपत्यकामा रातको समयमा दैनिक ५ वटाभन्दा बढी सवारी दुर्घटना

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा रातको समयमा दैनिक ५ वटाभन्दा बढी सवारी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति गुड्ने गाडीको अनुपातमा दुर्घटना बढी हो । ०७५ असारदेखि ०७६ असारसम्म उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा ८ हजार ५ सय ११ दुर्घटना भएको थियो । 

उपत्यकामा रातको समयमा दैनिक ५ वटाभन्दा बढी सवारी दुर्घटना

साँझ ६ देखि राति १२ बजेसम्म मात्रै २ हजार ७८ दुर्घटना भएका छन् । यो तथ्यांकले उपत्यकामा हुने दुर्घटना झन्डै २५ प्रतिशत साँझमा हुने गरेको पुष्टि गर्छ । उपत्यकामा दैनिक सरदर २३ दुर्घटना हुने गरेकोमा साँझमा मात्रै ५ वटा हुने गरेको महाशाखाले जनाएको छ । ०७४/७५ मा यही समयमा १ हजार ३ सय ७७ दुर्घटना भएका थिए । तथ्यांकअनुसार त्यो समयमा सरदर ३ वटा मात्रै दुर्घटना हुन्थ्यो । ‘साँझमा दुर्घटना हुनुको मुख्य कारण सडकबत्ती नहुनु नै हो,’ महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने, ‘सवारीसाधनबाट जति लाइट आउँछ, अधिकांश सडक त्यसको आधारमा उज्यालो हुन्छ । साँझमा हुने दुर्घटनाको एउटा कारण सडकबत्ती पनि हो ।’


बाटो काट्दै गरेका सर्वसाधारण साँझमा सडकमा बत्ती नभएकै कारण दुर्घटनामा पर्ने गरेका छन् । ‘सवारी चलाउँदा अँध्यारोले टाढासम्म देखिँदैन । स्पिडमा रहेको सवारीले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिने गर्छन्,’ ढकालले भने । काठमाडौं उपत्यकामा साँझ पर्नेबित्तिकै सवारीको लाइट बाल्ने व्यवस्था कडाइका साथ पालना गराउन लागेको उनको भनाइ छ । रातमा सडकमा हुने चौपायका कारण पनि दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।


उपत्यकामा दुर्घटनाको कारणमध्ये सवारी चालकको लापरबाही मुख्य हो । अन्य कारणमा तीव्र गति, मापसे, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रुको लापरबाही, सडकको अवस्थालगायत छन् ।


‘दुर्घटना हुनेबित्तिकै दोष हामीलाई लगाइन्छ,’ २० वर्ष सार्वजनिक यातायात चलाएका धनबहादुर तामाङले भने, ‘सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधार हुँदैन । राति बत्ती छैन । सडकमा मार्किङ हुँदैन । ट्राफिक चिह्न पनि हुँदैन । जरिवाना हामीले तिर्नुपर्ने, सरकारले चाहिँ काम नै नगर्ने ?’


बत्तीबिनाको रिङरोड

सप्तरीका अरबिन्द्र मण्डल रिङरोडबाहिर तिखिदेवलमा बस्छन् । मजदुरी गर्ने उनी कामबाट घर फर्कंदा रातको ८ बज्छ । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर भए पनि सडकबत्ती छैन । बत्ती नहुँदा अँध्यारोमा डराइडराइ बाटो काट्नुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘चालकले फराकिलो सडक भएकाले गाडी तीव्र गतिमा गुडाउँछन् । हेडलाइट कम हुने सवारीका चालकले टाढाबाट बाटो काट्नेलाई देख्दैनन् ।’


सर्वसाधारणको भीड हुने चोकमा न सडक बत्ती छ न त बाटो काट्न आकाशेपुल । राति हुने दुर्घटनामध्ये प्रमुख कारण सडकबत्ती भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता रविकुमार पौडेलले बताए । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले गरेको ‘रोड सेफ्टी अडिटिङ’ प्रतिवेदनमा कोटेश्वरदेखि कलंकीसम्मको आठ लेन फराकिलो सडकमा दुर्घटना न्यूनीकरण गर्न चार सय वटा सडकबत्ती राख्न सुझाव दिइएको थियो । तर, यहाँ बत्तीको पोलसमेत गाडिएको छैन ।


रातमा पैदलयात्रु दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । महाशाखाका अनुसार चक्रपथ सडकमा १९ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सडक मापदण्डअनुसार अनिवार्य रूपमा सडकबत्ती हुनुपर्छ । चक्रपथको गति ५० किमि प्रतिघन्टा तोकिएको छ । ‘तर, गतिअनुसार सुरक्षा व्यवस्था अपनाइएको छैन,’ उनले भने ।


सडक विभागका महानिर्देशक केशवकुमार शर्मालाई जिज्ञासा राख्दा सडकबत्ती राख्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको भएको भन्दै पन्छिए । ‘हामीले ललितपुर महानगरलाई यसबारेमा जिम्मेवारी पनि दिइसकेका छौं,’ उनले भने । ललितपुर महानगरपालिकाका सूचना अधिकारी रुद्रप्रसाद गौतमले सडकबत्ती जडानका लागि महानगर र नेपाल विद्युत् प्राधिकरणबीच सहमति भएर काम अगाडि बढिसकेको बताए ।



प्रकाशित : कार्तिक २७, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?