२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बस्ती झिलीमिली, मुख्य सडक अन्धकार

(भक्तपुर) — सूर्यविनायक–तीनकुने ६ लेनको ९ दशमलव १ किलोमिटर सडकमा पोल ठडिएको छ । राति बत्ती बल्नुपर्ने ती पोलमा विज्ञापनका बोर्डमात्र झुन्ड्याइएका छन् । पोलमा प्रहरीले सीसी क्यामेरा त राखेको छ, तर बत्ती नहुँदा क्यामेराले काम गर्दैन ।

बस्ती झिलीमिली, मुख्य सडक अन्धकार

‘जिल्लाको मुख्य सडक अन्धकार छ । सडकबत्ती नहुँदा दुर्घटना गराउने सवारीसाधनको पहिचान गर्न सकिँदैन,’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले भने ।


जापान सरकारले सन् २०११ मा सूर्यविनायक–तीनकुने सडक निर्माण गरेर नेपाललाई हस्तान्तरण गर्दा केही सडकको बीचमा बत्तीसहितको पोल गाडिएको थियो । साँझ पर्नेबित्तिकै बत्ती बल्ने र उज्यालो हुनेबित्तिकै स्वत: बत्ती निभ्थ्यो । सडकमा बत्ती व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल सरकारको थियो । तर, सल्लाघारी–सूर्यविनायक सडकखण्डमा पोलसमेत गाडिएको छैन । पोल ठडिएको स्थानमा समेत बत्ती बल्दैन ।


सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक योजनाकी इन्जिनियर शिला श्रेष्ठले दक्ष प्राविधिक नहुँदा सडकबत्ती जडान हुन नसकेको बताइन् । प्रत्येक वर्ष टुक्रे बजेट विनियोजन हुने र पर्याप्त बजेट अभावका कारण सडकबत्ती जडानमा ढिलाइ भएको उनको भनाइ छ ।


सूर्यविनायकदेखि कोटेश्वर तीनकुनेसम्म ३० मिटरको फरकमा करिब ३ सय बत्ती जडान गर्नुपर्ने र त्यसका लागि करिब ९ करोड खर्च लाग्ने अनुमानित प्रस्ताव सरकारलाई पेस गरिएको थियो ।


नगर झलमल्ल

सडक अन्धकार भए पनि भक्तपुर मध्यपुर नगर क्षेत्र भने राति झलमल्ल देखिन्छ । भक्तपुर नगरपालिकाले बिजुलीको यत्रतत्र तारलाई व्यवस्थित गरी उज्यालो नगर स्थापित गर्न तार भूमिगत बनाउँदै छ । ‘अव्यवस्थित तारले सांस्कृतिक सुन्दर नगरको दृश्य प्रदूषित भयो, तार भूमिगत गर्ने व्यवस्थापनमा लागेका छौं,’ भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले भने, ‘सम्पदा क्षेत्रको अधिकांश स्थानमा सडकबत्ती, सीसी क्यामेरा जडानको कार्य भइसक्यो, क्रमश: सवारी निषेध गर्दै लानेछौं ।’


तारलाई भूमिगत गरी आधुनिक प्रविधिको सेन्सर/फोटो स्वीच प्रणालीअन्तर्गत दरबार प्रवेशद्वारबाट बत्ती जडान कार्यको सुरुवात गरेको नगरपालिका प्राविधिक शाखाका हरिरत्न ध्वजु बताउँछन् । चालु आर्थिक वर्षमा नगरको ४ वडामा २०, ५ मा १५, ७ मा ३०, ८ मा ६० र ९ वडामा १ सय बत्ती गरी २ सय २५ सडकबत्ती जडान गरेको ध्वजुले बताए । प्रतिबत्ती जडानका लागि करिब ८ हजार रुपैयाँ खर्च भएको थियो ।


त्यस्तै, मध्यपुर थिमि नगरपालिकाले भने जग्गाधनीको लागत साझेदारीमै बिजुलीका तार भूमिगत गर्ने भएको छ । प्राधिकरणको थिमि शाखादेखि गठ्ठाघरस्थित राधाकृष्ण मन्दिरसम्मको तार भूमिगत गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ । नगरपालिकाले ५० प्रतिशत र जग्गाधनीले ५० प्रतिशत लागत साझेदारी गर्ने सहमति गरेको जनाएको छ ।


घनाबस्तीमा टाँगिएका नांगो तार र साँघुरा सडकमा गाडिएका पोलले दुर्घटना निम्त्याउने भएकाले जोखिम कम गर्न तारलाई भूमिगत गर्ने योजना अघि सारिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘पुराना पोलमा जथाभावी टाँगिएका तारले बजार कुरूप बनाएको छ, बस्तीमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुने रहेछ,’ उनले भने, ‘स्थानीयको लागत सहभागितामा तारलाई भूमिगत गर्न र बस्ती उज्यालो अभियान थालेको हो ।’


तार भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सहयोग गर्ने उनले बताए । नगरपालिकाले प्राधिकरणलाई तार भूमिगत गर्ने र पोल हटाउने प्रस्ताव गरेपछि प्राधिकरणले सर्वे गरी एक करोड ९८ लाख रुपैयाँको लागत इस्टिमेट तयार गरेको जनाएको छ । तार भूमिगत गर्न स्थानीय जग्गाधनीले प्रतिफिट २५ सय रुपैयाँका दरले नगरपालिकालाई रकम दिने सहमति भएको छ । त्यसैगरी, मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक सम्पदा, मठमन्दिर, मूर्तिको संरक्षण तथा अपराधजन्य गतिविधि न्यूनीकरणका लागि नगरको पुराना बस्तीमा सडक बत्ती र सीसी क्यामरा जडानको कार्य थालेको जनाएको छ । चालु आव ०७६/७७ मा प्रहरी समुदाय साझेदारीअन्तर्गत सीसीक्यामेरा जडान तथा बत्ती जडानका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।


चाँगुनारायणमा ६ सय बत्ती

चाँगुनारायण नगरपालिकाले ‘उज्यालो चाँगुनारायण’ अभियानअन्तर्गत मुख्य सडकमा करिब ६ सय सडकबत्ती जडान गर्ने भएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार पर्यटकीय गन्तव्य नगरकोटमा ८०/८० मिटर दुरीमा १ सय ३० वटा, च्याम्हासिंह–नाला सडकमा ७० वटा, दुवाकोट–झौखेल, देकोचा–चाँगुनारायण मन्दिर, कमलविनायक भत्केकोपाटी–नगरकोट, ब्यासी–झौखेल, मुहानपोखरी–चरेली सडकमा बत्ती जडानका लागि विद्युत प्राधिकरण भक्तपुरसँग सहमति गरेको छ । त्यसैगरी, सूर्यविनायक नगरको १० वटै वडाको मुख्यमुख्य ठाउँमा सडकबत्ती जडान अभियान थालिएको छ । सूर्यविनायक–६ का वडाध्यक्ष रामेश्वर ध्वजुले भने, ‘मुख्य सडकबाहेक सर्भिस ट्रयाकलगायत नगरक्षेत्रमा स्थानीय बासिन्दासँगको सहकार्यमा बत्ती जडान भएको छ ।’


प्रकाशित : कार्तिक २७, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?