पाटन दरबारमा नृसिंह

कान्तिपुर संवाददाता

(ललितपुर) — पाटन दरबार क्षेत्र । आइतबार रातको करिब १ बजे । खिं, धा:, दमो खिं, मृदंग, नगदा, पोंगा र झ्यालीलगायत बाजाको धुनले वातावरण गुन्जायमान थियो । अत्यधिक भीडभाड । विष्णु भगवानका १० मध्ये चौथो अवतार नृसिंहको नाच अवलोकन गर्नेको घुइँचो थियो । नाचमा नृसिंहले दानव हिरण्यकश्यपुको वध गरेको दृश्य देखाइएको थियो । त्यसअघि शनिबार हिरण्याक्षको वध गर्ने वराह अवतारको नाच देखाइएको थियो ।

पाटन दरबारमा नृसिंह

जलशयन नाच भनी मधु कैटवको वधलगायत नाचका यी मुख्य पाटो हुन् । नाचमा नृसिंह कृष्ण मन्दिरका पुजारी प्रतापधर शर्मा बने भने हिरण्यकश्यपुको भूमिकामा किरण चित्रकारले गरे ।


पाटन दरबवार क्षेत्रको यो पुरानो नाच हो । स्थानीयले यसबाट विष्णुको महिमा र पौराणिक कथा नयाँ पुस्तालाई बुझाउँछन् । कात्तिक नाच संरक्षण समिति कोषाध्यक्ष उत्तमरत्न शाक्यका अनुसार नाचले आफूसँग शक्ति हुँदैमा घमण्ड गर्न नहुने र शक्तिको सदुपयोग गर्नुपर्ने सन्देश दिन्छ । ‘यो पुरानो नाच हो,’ उनले भने, ‘बर्सेनि देखाउनैपर्छ तर नाचको उचित संरक्षणका लागि खर्च पर्याप्त नहुँदा समस्या छ ।’ पौराणिक कात्तिक नाच प्रवर्द्धन गर्न यसपटक ललितपुर महानगरपालिका–१६ वडा कार्यालयले अक्षय कोष स्थापना गर्न बीउ पुँजीका रूपमा १० लाख रुपैयाँ दिने घोषणा गर्दा समितिमा आबद्ध सदस्य खुसी छन् । वडाध्यक्ष निर्मलरत्न शाक्यले नाचका लागि नृसिंहको नयाँ मुकुट पनि हस्तान्तरण गरेका थिए । ‘अर्को वर्ष वराह अवतार नाचका लागि पनि मुकुट बनाउन लगाउँछौं,’ उनले भने, ‘संस्कृति संरक्षणमा बजेट अभाव हुन दिँदैनौं ।’ नाच हेर्न आएका संस्कृतिमन्त्री योगेश भट्टराइले संस्कृति संरक्षणका लागि छुट्टै १० लाख उपलब्ध गराउने आश्वासन दिए ।


सोमबार वस्त्रहरण लीला नाच देखाइयो । मंगलबार दैत्य लीला नाच देखाएपछि १२ दिने नाचको शृंखला यो वर्षका लागि समापन हुनेछ । पौराणिक नाचसँगै कलाकर्मीले च्वले खुदाँ दाँखुदाँ, कौलाखिचा, महामूर्ख प्रहसन, सुकुलीतुलिगु, माक:सि मिगु, जिचा, छ्याध्वग्गी, मिमुसे र बनेगु जस्ता नेपाल भाषाका शीर्षकका नाच पनि प्रदर्शन गरेका छन् । बा:थ: नाचको कथामा तीनजना देवताहरू ब्रह्मा, विष्णु र महादेव धर्तीमा मनुष्यको भेषमा आउने कथा समेटिएको थियो । बा:थ:नाचमा प्रयोग हुने मुकुण्डोको खास महत्त्व छ । कोषाध्यक्ष शाक्यले कुनै पनि नाचको सशक्त पक्ष संगीत हुने गरेको बताए । ‘कात्तिक नाचमा संगीतका साथै गीतको बोलले दर्शकलाई मोहित बनाउने गरिन्छ,’ उनले भने ।


उक्त नाच सिद्धिनरसिंह मल्लले राष्ट्र र जनताको कल्याणार्थका लागि नेपाल सम्वत ७६१ सँगै सुरु गरेको जनविश्वास छ । सिद्धिनरसिंह मल्लले वराह र नरसिंह डबलीमा प्रर्दशन गर्नेगरि उक्त नाच आठ दिन चलाएको इतिहासमा पनि छ । उनका पुत्र श्रीनिवास मल्लले नेपाल सम्वत ७८७ मा सात दिन लोकनाटक बा:थ: प्याँख थपेर १५ दिन पुर्‍याएका थिए । श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले माधवानर र उषाहरण गरि १५ दिन थपेर कात्तिक महिनाभरि एक महिना चलाएका थिए ।


प्रकाशित : कार्तिक २६, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?