३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पुन:स्थापना केन्द्र पुगिन् १२ वर्षीया

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रसूतिगृहबाट डिस्चार्ज हुने भएपछि उनी आइतबार बिहानैदेखि खुसी थिइन् । अनुहारमा केही सन्तोष र खुसीको भाव थियो । अछामकी यी १२ वर्षीया बालिका बोल्न सक्दिनन् । कुकुरले खुट्टामा टोकेको थियो । आफन्तले त्यसको उपचारका लागि अस्पताल लैजाँदा उनको गर्भ रहेको खुलेको थियो । चिकित्सकले पाँच महिनाको गर्भवती रहेको बताएपछि उनलाई काठमाडौं ल्याइएको हो । 

बोल्न नसक्ने बालिका, कलिलो उमेर र संवेदनशील अवस्था । चिकित्सकका लागि पनि उनको उपचार सहज थिएन । ‘सुरक्षित गर्भपतन तरिकाले गरायौं,’ अस्पताल निर्देशक डा. जागेश्वर गौतमले भने, ‘अब उनको स्वास्थ्य अवस्था सामान्य छ । हेरचाह, आराम र नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । पौष्टिक आहार पनि चाहिन्छ ।’ असामान्य प्रकारको केस भएकाले अस्पतालले सावधानीपूर्वक उनको स्वास्थ्योपचारमा ध्यान दिएको उनले बताए ।


अस्पतालबाट डिस्चार्ज भए पनि उनी अछामको रामारोशनमा घर जान भने पाइनन् । नियमित स्वास्थ्य जाँच गर्नुपर्ने भएकाले उनलाई ललितपुरको गोदावरीस्थित आशा नेपाल नामक संस्थाले संरक्षण दिएको छ । छोरीलाई बिरानो सहरमा छाडेर जानुपर्दा ठूलोबुवा कृष्णबहादुर भने चिन्तित थिए । ‘घर लैजाऊँ भने फेरि कसैले उस्तै बनाइदिने हो कि भन्ने पीर लाग्यो । संस्थामा छोरी सुरक्षित हुन्छे भने म यतै जिम्मा लगाइदिन्छु,’ उनले भने, ‘घर लगे पनि के गर्नु, हेर्ने कोही छैन ।’


एक महिनाअगाडि बालिकालाई कुकुरले टोकेको थियो । उपचार गर्न लैजाँदा पेटमा गर्भ भएको पुष्टि भएको थियो । जिल्लामा उपचार नभएपछि दुई साताअघि उनलाई काठमाडौं ल्याइएको हो । अस्पताल रहुन्जेल विभिन्न व्यक्ति र संघसंस्थाले उनलाई आर्थिक सहयोग गरे । सहयोगका रूपमा हालसम्म प्राप्त ६७ हजार रूपैयाँ खाता खोलेर बालिकाकै नाममा राखिदिने कृष्णबहादुरले बताए ।


बालिकालाई भेट्न आइतबार महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि अस्पताल पुगेकी थिइन् । अस्पताल प्रशासनसँग उनको स्वास्थ्यस्थितिबारे थापाले जानकारी लिनुका साथै आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाइन् । ‘हिंसापीडित महिला र बालकालिकालाई सहयोग गर्न हामीसँग छुट्टै कोष छ,’ उनले भनिन्, ‘हामी त्यो कोषबाट सहयोग गर्न सक्छौं । उपचार, पढाई खर्च सरकारले नै गर्छ ।’ मन्त्रीसँगै बालिकालाई भेट्न विभिन्न संघसंस्थाका प्रतिनिधि पनि अस्पताल पुगेका थिए ।


अस्पतालले डिस्चार्ज दिए पनि केही समयसम्म नियमित स्वास्थ्य परीक्षण आवश्यक भएकाले बालिकालाई काठमाडौंमै राख्नुपर्ने भयो । अब उनलाई कुन संस्थाले आवधिक संरक्षणमा लैजाने भन्नेमा केहीबेर बहस नै चल्यो । मंत्रालय र संघसंस्था प्रतिनिधि बीचको छलफलपछि अन्तत: आशा नेपालले जिम्मा लिने निष्कर्ष आयो ।


संस्थाले बालिकाको स्वास्थ्य उपचार, पढाइ र कानुनी उपचार पनि खोजिदिने महिला मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रमुख अधिकृत अञ्जु ढुंगानाले बताइन् । ‘बालिकालाई नियमित स्वास्थ्योपचारका लागि स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने भएकाले घर नपठाई काठमाडौंमै राख्ने निर्णय भएको हो,’ उनले भनिन्, ‘परिवारसँगको सल्लाहले उनलाई पुनर्स्थापना केन्द्रमा राखिएको हो ।’ बालिकाको मानसिक स्वास्थ्यको समस्याका कारण पनि घर पठाउन नमिलेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २६, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?