कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

गलत रगत प्रकरण  : प्रहरीले टेरेन अदालतको आदेश

फातिमा बानु

काठमाडौँ — गलत रगत चढाउँदा सर्लाहीकी ५ वर्षीया आकृतिकुमारी साहको मृत्यु भएको घटनामा जाहेरी नलिएको प्रहरीले उच्च अदालत पाटनले दिएको अनुसन्धान आदेश पनि बेवास्ता गरेको छ । प्रहरीले जाहेरी नलिएपछि बालकिाका अभिभावक अदालत पुगेका थिए । अदालतले कात्तिक ८ मा प्रहरी वृत्तलगायत नेपाल मेडिकल काउन्सिल र काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई जाहेरी लिएर कारवाही अघि बढाउन आदेश दिएको थियो । 

जाहेरी दर्ताका लागि आफू दिनहुँ प्रहरी कार्यालय धाइरहँदा पनि कुनै वास्ता नगरेको मृतकका आफन्त सुरेन्द्र साहले गुनासो गरे । ‘जाहेरी दर्ता गर्न मिल्दैन भनेर झुलाइरहन्छन् । दर्ता नगर्नुपर्ने कारण लेखेर दिनु म अन्य निकाय जान्छु भन्दा त्यो पनि दिँदैनन्,’ उनले भने, ‘न्यायका लागि सात महिनादेखि धाइरहेको छु । अदालतसम्म पुग्दा पनि न्याय पाउन नसकिने रैछ ।’ न्याय दिनुको साटो घटनाका दोषीले आफू र परिवारलाई आर्थिक प्रलोभन देखाएर मुद्दाबाट पछि हट्न दबाब दिएरहेको उनले बताए ।


न्यायाधीश कृष्णलाल भट्टराई र माधवप्रसादको इजालासले गरेको आदेशमा ‘साहको शल्यक्रिया गर्ने क्रममा सहिद गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रमा मृत्यु भएको तथ्यमा विवाद छैन । निवेदकले जाहेरी दर्ता गर्न ल्याएपछि दर्ता गरेर अनुसन्धानको प्रक्रियामा लैजानुपर्छ । नेपाल मेडिकल काउन्सिल, सरकारी वकिल कार्यालयसँग समन्वय गरि अनुसन्धानको प्रक्रिया अगाडि बढाउनु,’ भनिएको छ ।


मुटुको समस्या भएर गत वैशाख १३ मा बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अस्पताल भर्ना भएकी साहको चार दिनपछि शल्यक्रिया भएको थियो । वैशाख २३ मा अस्पतालले बालिकाको मृत्यु घोषणा गर्‍यो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएकाले मृत्युमा हुनुमा अस्पतालको लापरबाही भएको आफन्तले आरोप लगाए । घटनालगत्तै आफन्तले दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेका थिएनन् । उपचारमा अस्पतालका तत्कालीन निर्देशक डा. ज्योतीन्द्र शर्मा, डा.रवीन्द्रभक्त तिमिला र डा. नवीनचन्द्र गौतम संलग्न थिए । आफन्तले उपचारमा संलग्न तीनै जना चिकित्सक, प्रशासन प्रमुख दीपेन्द्र खड्का, ल्याब इन्चार्ज विन्देश्वर यादव र बेहोस गराउने चिकित्सक जेजुनाथ पोखरेलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरी दर्ता नभएपछि पीडित अदालत पुग्न बाध्य भएका थिए । घटनाको छानबिनका लागि मेडिकल काउन्सिलले डा.भगवान कोइरालाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । ऐनबमोजिमका विज्ञ नराखिएको उक्त समिति खारेज गरी मेडिकल काउन्सिलबाट जाहेरी फिर्ता मागेर अनुसन्धान अघि बढाउनपर्ने अदालतको आदेशमा छ ।


काउन्सिलले गरेको अनुसन्धानबाट पनि बालिकाको शरीरमा गलत रगत नै चढेको पुष्टि भइसकेको छ । रगत चढाउने प्रक्रियामा ल्याब इन्चार्ज विन्देश्वर यादव र टेक्नीसियन सरला कोइरालालाई हदैसम्मको कारबाही काउन्सिलले तोकेको छ । ल्याब टेक्नीसियनलाई नियमन गर्ने निकाय स्वास्थ्य व्यवसायी परिषद् हो । यी दोषीलाई कारबाही गर्नुपर्ने भन्दै काउन्सिलले परिषद्लाई पत्राचार गरेको गरे पनि हालसम्म उनीहरूलाई कारबाही भएको छैन । दोषी प्रमाणित भइसक्दा पनि उनीहरू गंगालाल अस्पतालमै कार्यरत छन् ।


प्रहरी वृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले सरकारी वकिल कार्यालयले जाहेरी फिर्ता नगरेका कारण आफूले आदेश कारबाही अघि नबढाएको बताए । पीडित पक्षलाई बेवास्ता गरिएको उनले अस्वीकार गरे । ‘पीडित पक्ष यहाँ आएकै छैनन् । मैले त उनीहरूलाई देखेको पनि छैन,’ उनले भने, ‘शल्यक्रिया जस्तो मेडिकल विषयमा प्रहरीले मात्रै छानबिन गर्न सक्दैन । मेडिकल विज्ञ छनोट गरी सम्बन्धित निकायसँग समन्वय गरेर चाँडै अनुसन्धान गर्छौं ।’

प्रकाशित : कार्तिक २६, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?