चक्रपथ दोस्रो खण्ड विस्तार : विकल्पबिनै रुख कटान

हरियाली जोगाएर पनि गर्न सकिने निर्माणका विषयमा आयोजनाले विकल्प नै खोजेन
प्रशान्त माली

काठमाडौँ — चक्रपथ सुधार योजनाले रिङरोडको दोस्रो खण्डअर्न्तगत ‘साइट क्लियरेन्स’ गर्ने नाममा बिनायोजना धमाधम रुख काटिरहेको छ । सडक किनारामा पर्ने कंलकी–बालाजु क्षेत्रका चार सयवटा रुख कटान भइसकेको छ । उक्त सडक खण्डमा २ हजार ५७ वटा रुख काट्ने सरकारको योजना छ ।

चक्रपथ दोस्रो खण्ड विस्तार : विकल्पबिनै रुख कटान

सरकारको कामप्रति प्रकृतिप्रेमीहरूले भने विरोध जनाउदै आएका छन् । उनीहरूले योजना बनाएर रुख कटान गरेमा आधा भन्दा बढी बचाउन सकिने बताउदै आएका छन् । वातावरण इन्जिनियर भूषण तुलाधारले विस्तृत डिजाइन तयारी बिनै रुख कटान गर्नु गलत भएको बताए । ‘थोरै मात्र रुख कटान गरे पुग्नेगरि डिजाइन बनाउन सकिन्छ । सडक क्षेत्रका रुखले सहरको वातावरण प्रदुषण २५ प्रतिशत रोक्न मद्दत गर्छ,’ उनले भने, ‘फुटपाथमा रुख भएमा त्यसले शोभा पनि दिन्छ । एउटा रुख हुर्काउन २० औं वषौं लाग्छ ।’ धमाधम काट्नुभन्दा सरकारले पुनर्विचार गरेमा अझै पनि धेरै रुख बचाउन सकिने उनले बताए ।


चक्रपथको दोस्रो खण्ड ११ दशमलव ६ किमी छ । चीन सरकारको अनुदान सहयोगमा सडकको मध्यभागबाट २५/२५ मिटर सडक बन्न लागेको हो । २५/२५ मिटर बाहेक ६/६ मिटर ट्रयाक रोड नेपाल सरकारले बनाउने छ ।


योजनाअनुसार बाहिरी घेरामा हटाउनुपर्ने एक हजार ६७ र भित्री घेरामा नौ सय ९० वटा रुख काट्नैपर्ने पहिचान गरिएका छन् । सरकार गम्भीर भएमा बाहिरी घेरामा पर्ने रुख बचाउन सकिने तुलाधरले बताए । चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले काटिएको स्थानमा रुखविरुवा फेरि रोपिने दाबी गरे । ‘यसलाई धेरै ठूलो इश्यु बनाउन जरुरी छैन । जंगलभित्र बाटो लगेको हैन,’ उनले भने, ‘सडकको राइट अफ वेमा रोपेका रुख हटाउन लागेको हो । पछि सडकको दुवैतिर ग्रिन बेल्ट राख्छौं ।’ पुराना ढल्न लागेका रुख भएकाले पनि काट्न जरुरी रहेको दाबी उनले गरे । ‘पछि रोप्ने कुनै रुख फल लाग्ने, कुनै फूल फुल्ने विशेष किसिमको हुनेछ,’ उनले भने ।


अहिले सामाखुसी क्षेत्रका सडक किनारका रुख कटान गर्ने तयारीमा छ । रुख कटान गर्न वन निगमलाई जिम्मेवारी दिइएको छ । निगमले रुख काटेपछि पेस गरिने बिलका आधारमा भुक्तानी दिने योजना प्रमुख रिमालले बताए । रुख कटान, सडक मिचेर बनाइएका संरचना भत्काउनेलगायत क्लियरेन्स कामका लागि यो वर्ष १० करोड छुट्याइएको छ ।


बालकुमारीमा खरीबोट चोक छ । चोक नामकरण नै खरीको बोटले भएको हो । तर, अहिले त्यहाँ खरीबोट देख्न पाइदैन । सडक विस्तारका क्रममा खरीबोट काटिएको थियो । कलंकी–कोटेश्वर सडक खण्ड विस्तारका क्रममा सातदोबाटो क्षेत्रमा पनि थुप्रै रुख काटिएका थिए । सडक निर्माणपछि बिरुवा रोप्ने भन्ने गरिए पनि हालसम्म रोपिएको छैन । त्यतिबेला महालक्ष्मीस्थानका बासिन्दाको विरोधले गर्दा त्यस क्षेत्रका करिब २० वटा रुख बचेका थिए । ‘दोस्रो रिङरोडको हालत पनि पहिलेकै जस्तो हुने देखिएको छ,’ इन्जिनियर तुलाधारले भने, ‘त्यस्तो कुनै पनि हालतमा हुन दिनु हुँदैन ।’ योजना प्रमुख रिमालले भने रिङरोडको पहिलो खण्डमा तीन सयभन्दा बढी बिरुवा रोपिएको दाबी गरे ।


योजनाको लक्ष्य मंसिरसम्ममा साइट क्लियरेन्स गर्ने छ । योजनाका अनुसार कंलकी–धोबीखोला खण्डअर्न्तगत सार्नुपर्ने बिजुलीका पोल एक हजारवटा छन् जसमध्ये तीन सय वटा सारिसकेको छ । खानेपानीका पाइप सार्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय भइरहेको योजनाले जनाएको छ । दोस्रो खण्ड कलंकीबाट सुरु भएर चाबहिलस्थित गोपीकृष्ण हल अगाडिको पुलमा पुगेर टुंगिन्छ । सडकको चौडाई फुटपाथसहित ५० मिटरको हुनेछ । प्रतिघन्टा ५० किमिका दरले सवारीसाधन सञ्चालन गर्न सकिने छ । सहायक लेनमा प्रतिघन्टा २० किमिका दरले गुडाउन सकिनेछ ।


सडक बिस्तार गर्दा हटाउनुपर्ने रुखविरुवा जोगाउन काठमाडौं महानगरपालिकाको ‘ट्री ट्रान्सप्लान्टर’ ल्याउने योजना अलपत्रमा छ । नयाँ रुख रोपेर हुर्काउन निकै समय लाग्छ । यसैलाई ध्यानमा राखेर महानगरले हुर्किसकेका १० देखि १२ फिटसम्मका रुखहरू सार्न मिल्ने दुइवटा ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन ल्याउने योजना चार वर्षअघि बनाएको थियो । उक्त मेसिन खरीद गर्न हालसम्म सम्बद्ध पदाधिकारी कसैले पनि चासो लिएका छैनन् । ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन विदेशमा खासै नयाँ प्रविधि हैन । नेपालमा अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन । मेसिनले रुखलाई जेरैबाट उखेल्छ । त्यसकै आकारमा अर्को ठाउँ तयार गरिएको खाल्डोमा रुख लगेर गाडिदिन्छ ।

प्रकाशित : कार्तिक २६, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?