मोटरसाइकल चालकको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिका–९ ताथलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नालाबाट च्याम्हासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नम्बरको मोटरसाइकल नालीमा खस्दा इलाम घर भई चाँगुनारायण–९ ताथली फैढोका बस्ने ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । यस्तै, चाँगुनारायण नगरपालिका–८ जितपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् । 

नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नम्बरको बोलेरो जिपले सोही दिशा तर्फबाट आउँदै गरेको बा८३प ८७३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलका अनुसार घाइतेहरूमा स्कुटर चालक सुनसरी धरान नगरपालिका–१ की १८ वर्षीया सुनिता जिमी राई, जिप चालक काभ्रे मण्डनदेउपुर–२ का ३५ वर्षीय मंगलबहादुर तामाङ, जिपमा सवार मण्डनदेउपुर–५ का ५५ वर्षीय गोकुल ढकाल र १८ वर्षीय सुवास तामाङ छन् । घाइते तीनजनाको भक्तपुर अस्पताल र एकको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइएको छ ।

प्रकाशित : कार्तिक २४, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

अकुपाई टुँडिखेल : अतिक्रमण रोक्न नागरिक सडकमा

पहिलो चरणमा खुलामञ्चको अतिक्रमण हटाउने र अन्तिम चरणमा सेनाले बनाएका संरचनासमेत हटाएर रानीपोखरीदेखि दशरथ रंगशालासम्म खाली गराउने अभियानको योजना छ 
दामोदर न्यौपाने

काठमाडौँ — टुँडिखेल अतिक्रमण रोक्न सरकारलाई दबाब दिने उद्देश्यले नागरिक सडकमा उत्रिएका छन् । ‘अकुपाई टुँडिखेल’ अभियानअन्तर्गत उनीहरूले शनिबार मानवसाङ्लो बनाई टुँडिखेल घेरे ।

मानव साङ्लोमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, सांसद भीमसेनदास प्रधान, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वमन्त्री हिसिला यमि, कांग्रेस नेता गगन थापा, प्रदेशसभा सदस्य जीवन डंगोल, छिरिङ लामा, विराजभक्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठलगायत उपस्थित थिए । नेपाली आर्किटेक्ट इन्जिनियरको संस्था सोना, नेवा: राजनीतिक अभियान, नेपाल प्राध्यापक संघलगायतका संस्थाले कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा खुलामञ्चको दुईवटा ढोकालाई नेपालको प्रतीक मानेर राष्ट्रिय झन्डा गाडिएको थियो । झन्डा गाडिएको दुवै ठाउँबाट मान्छे निस्कने व्यवस्था गरिएको थियो । दुईवटै गेटबाट निस्केर सैनिक मञ्चको उत्तरतिरको बाटोमा मानव साङ्लो बनेको थियो । टुँडिखेल घेराउमा धिमे, भुस्याजस्ता नेवारी बाजासहित सांस्कृति समूह पनि सहभागी थिए ।

यहाँ आउनेमा कुनै न कुनै रूपमा टुँडिखेलसँग अनुभूति जोडिएकाहरू पनि थिए । सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट थाहा पाएर आएकाहरू थुप्रै थिए । ‘अरूको फेसबुकमा राखेको पोस्ट हेरेर आएको,’ ६० वर्षीय प्राध्यापक शालिकराम श्रेष्ठले भने, ‘आफूले सानैदेखि खेलेको ठाउँ अतिक्रमण हुँदा दिक्क लागेको छ । म कुपन्डोलदेखि खेल्न यहीँ आउँथे ।’ ०३६ सालसम्म बिहान–बेलुका खेल्ने ठाउँ भए पनि त्यसपछि सेनाले परेड खेल्न थाले उनले बताए । ‘परेड खेल्न थालेपछि बिहान त्यहाँ पस्न नदिएपछि दिउँसो खेल्न थाल्यौं । दिउँसो पनि दिन छाड्यो,’ श्रेष्ठले भने, ‘बिस्तारै त्यहाँ भवन बनाउन थाल्यो । अहिले त मिनी रंगशाला नै बनाइदियो ।’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अभियानमा सहभागी हुन ट्वीटरमार्फत् आह्वान गरेका थिए । ‘ऐतिहासिक टुँडिखेललाई सरकारी र अन्य अतिक्रमणबाट मुक्त गरेर सबै नागरिकको साझा मैदानको रूपमा स्थापित गर्ने जनस्तरबाट सुरु भएको अभियानलाई तार्किक निष्कर्षमा पुर्‍याऔं,’ उनले लेखेका थिए, ‘रानीपोखरीदेखि रंगशालासम्मका सबै संरचना हटाएर वा भूमिगत लगेर काठमाडौंको फोक्सोलाई बचाऔं । नत्र सबै निसासिएर मर्नेर्छौं ।’

राष्ट्रिय गान गाएर सुरु भएको कार्यक्रम बेलुन उडाएर समापन गरिएको थियो । हरियो रिबनले घेरा लगाएर मान्छे भित्र पर्ने गरी मानव साङ्लो बनाइएको थियो । ‘हरियो प्रकृतिको प्रतीक हो,’ मानव साङ्लो व्यवस्थित गर्दै अभियन्ता गणपतिलाल श्रेष्ठले भने, ‘यो ठाउँ धार्मिक, सांस्कृतिक मात्र होइन, वातावरणीय रूपले पनि महत्त्वपूर्ण छ । राजधानीबासीले स्वच्छ हावा लिने ठाउँ विभिन्न बहानामा मिचिएको छ । टुँडिखेलमा उर्लिएको यो जनलहरले देशभर यस्ता खुला ठाउँ मिच्नेविरुद्ध लहर ल्याउनेछ ।’

अभियानका संयोजक विजय श्रेष्ठले तीन महिनासम्म यो अभियान सञ्चालन हुने जानकारी दिए । ‘तीन महिनाभित्रमा टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन सरोकारवाला बाध्य हुनेछन् भन्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भने । तीन चरणमा यो कार्यक्रम सफल बनाइने उनको भनाइ थियो । ‘पहिलो चरणमा खुलामञ्चको अतिक्रमण हटाउने, अन्तिम चरणमा सेनाले बनाएका संरचनासमेत हटाएर रानीपोखरीदेखि दशरथ रंगशालासम्म खाली गराउने अभियानले योजना बनाएको छ,’ उनले भने । अभियानअन्तर्गत हरेक साता केही न केही दबाबमूलक कार्यक्रम भइरहनेछन् । ‘कलाकारले गीत गाउन सक्छन् । चित्रकारले चित्र कोर्न सक्छन्,’ उनले भने, ‘टुँडिखेलसँग जजसको जे अनुभूति छ, त्यो सुनाउन सक्छन् ।’


प्रकाशित : कार्तिक २४, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×