कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मन्दिर ठडियो, शोभा हरायो’

चाँगुनारायण परिसरको क्षतिग्रस्त संरचनाको बेवास्ता गर्दै शुक्रबार दर्शनार्थीले घन्टौं लाइन बसेर दर्शन गरे । पुनर्निर्माणमा ढिलाइ हुँदा चौघेरा सत्तल अस्तव्यस्त छ   
लीला श्रेष्ठ, सीमा तामाङ

(भक्तपुर) — कतै पुनर्निर्माणका लागि भत्काइएका गारो, कतै जस्ताको छानाको भरमा अडिएको जीर्ण सत्तल । क्षतिग्रस्त चौघेरा सत्तलबीच उभिएको छ, चाँगुनारायण मन्दिर । शुक्रबार हरिबोधिनी एकादशीका दिन चाँगुनारायण मन्दिरमा विशेष भिड लाग्यो । मन्दिर परिसरको क्षतिग्रस्त संरचनाको बेवास्ता गर्दै दर्शनार्थीले घन्टौं लाइन बसेर चाँगुनारायणको दर्शन गरे । 

‘मन्दिर ठडियो, शोभा हरायो’

‘चार वर्षअघि आउँदा जस्तो थियो, क्षतिग्रस्त संरचना अहिले नि उस्तै,’ कागेश्वरी मनोहरा ब्रह्मखेलकी राजकेशरी खड्काले भनिन्, ‘मन्दिर त बनेछ, वरिपरिको क्षतिग्रस्त सत्तलले मन खल्लो बनायो ।’ मन्दिर ठडिए पनि परिसरको अस्तव्यस्त संरचनाले विश्व सम्पदामा सूचीकृत प्राचीन चाँगुनारायणको शोभा नदेखिएको उनले गुनासो गरिन् ।


चाँगुनारायणसँग जोडिएको संरचना संरक्षणमा सरोकारवाला निकायले विशेष पहल गर्नुपर्ने दर्शनार्थीको सुझाव छ । ‘मन्दिरको प्रवेशद्वारदेखि नै अव्यवस्थित छ,’ ललितपुर गोदावरीका आकाश कार्कीले भने, ‘यो आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रप्रतिको बेवास्ता हो । दर्शनार्थीका लागि एकछिन अडिन सक्ने ठाउँ छैन । धराप सत्तलको भग्नावशेषसमेत हटाइएको छैन ।’ बसपार्क, शौचालय, मन्दिरको सिँढी व्यवस्थापनमा नगरपालिकालगायत संरक्षणमा लाग्नुपर्ने उनको सुझाव छ ।


०७२ वैशाखको भूकम्पले जीर्ण बनेको चाँगुनारायण, किलेश्वर महादेव मन्दिरले भने दुई वर्षमै मुहार फेर्‍यो । तर, चौघेरा सत्तल बेवास्तामा पर्‍यो । पुरातत्त्व विभाग भक्तपुरका प्रमुख मोहन सिं लामाले भने सत्तल पुनर्निर्माण सुरु भइसकेको बताए । विभावका अनुसार सत्तल पुनर्निर्माणका लागि ०७५ माघ २ मा लुम्बिनी/सानु सुवाल/पवन जेभीसँग सम्झौता भएको हो । उत्तर पश्चिम र पश्चिमतर्फको पाटीमध्ये मूल पूजारीको सामान राख्ने सत्तलबाहेक क्षतिग्रस्त संरचना भत्काउने कार्य भएको उनले बताए ।


‘मूल पूजारीको पूजा सामग्री राख्ने ठाउँ अभावमा चरणबद्ध किसिमबाट पुनर्निर्माण गर्ने तयारी भएको छ,’ उनले भने । मन्दिरको उत्तर पश्चिमतर्फ भने भूक्षय हुन सक्ने जोखिम रहेकाले टेको पर्खाल (रिटेनिङ वाल) को कार्यपछि मात्र सत्तल पुनर्निर्माण गर्नुपर्ने देखिएको प्रमुख लामा बताउँछन् । सत्तल निर्माणका लागि पुरातत्त्व विभागले सुरुमा २४ करोड रुपैयाँ लागत अनुमान गरेको थियो । बोलपत्र प्रक्रियामा जाँदा निर्माण कम्पनीसँग करसहित १६ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको लामाले बताए । ०७८ असार १५ भित्र चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल निर्माण गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ । सत्तल पुनर्निर्माणका लागि निर्माण सामग्री ओसारपोसारमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ ।


‘निर्माण सामग्री मन्दिर परिसर पुर्‍याउन नयाँ प्रविधि अपनाउन खोजे पनि सफल भएन,’ लामाले भने । सत्तल पुनर्निर्माणका लागि कलात्मक झ्याल, ढोका आवश्यक पर्ने र पर्याप्त काठको अभावका कारण पनि समयमा काम हुन नसकेको पुरातत्त्व विभागले जनाएको छ ।


चार नारायणमा दर्शनार्थीको भीड

भगवान् विष्णुको पूजा, आराधना, भजन कीर्तन र व्रत बसी तुलसीको बिहे गरी मुलुकभर शुक्रबार हरिबोधनी एकादशी मनाइएको छ । भगवान् विष्णु जागा भएको अवसरमा विशेषगरी चाँगुनारायण, इचंगुनारायण, विशंखुनारायण र शेषनारायणमा भक्तजनहरूले पूजाअर्चना गर्ने प्रचलन छ । चार नारायण पुग्न नसक्ने भक्तजनहरू राजधानीको चिकंमुगलमा अटकनारायण, ब्रह्मटोलमा बन्देनारायण र उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गर्छन् । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुंगामा स्थापना गरिएको छ ।


‘ठूलो एकादशीमा बुढानीलकण्ठको दर्शन गर्न पाउनु नै अहोभाग्य हो,’ बनेपाका मनोरथ तिमल्सिनाले भने, ‘हरेक वर्ष एकादशी मेलामा आउने गरेको छु ।’ सुकेधाराकी पिकीं शाह र कपनकी सुनिता न्यौपानेले भने मन्दिरमा लाइन देखेर बाहिरबाटै पूजा गरे । ‘यत्रो लाइन छ, कसरी मन्दिर पस्न सकिएला र,’ शाहले भनिन्, ‘दर्शन गर्न पाउनु नै ठूलो कुरा हो, मन्दिर नै पस्नुपर्छ भन्ने छैन ।’


बिहीबार मध्यरातदेखि नै भक्तजनहरू लाइन बसे पनि १ बजेदेखि मन्दिरको ढोका खोलिएको श्री १ हजार ८ स्वामी निगमानन्द महाराजले बताए । ‘८ वर्षको अन्तरालमा यस वर्ष भक्तजनको अधिक भीड देखियो,’ उनले भने । कात्तिक महिनाभरि दर्शनार्थीहरू आउने भए पनि हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्म भक्तजनको भीड हुने बूढानीलकण्ठ मेला सञ्चालन समितिका संयोजक तथा ३ नम्बरका वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?