१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वडाको अभियान : घरमै वृद्धवृद्धाको स्वास्थ्य परीक्षण

ललितपुर महानगरपालिकाको ३ नम्बर वडा कार्यालयले सुरु गरेको ‘नि:शुल्क स्वास्थ्य उपचार अभियान’ बाट वृद्धवृद्धाले प्रत्यक्ष लाभ लिएका छन्
प्रशान्त माली

(ललितपुर) — वृद्धावस्थाका कारण पुल्चोककी राममाया महर्जन भर्‍याङबाट तलमाथि गर्न सक्दिनन् । लौरोको सहारामा मुस्किलले एउटा कोठाबाट अर्कोमा पुग्छिन् । २०७२ को भूकम्पको त्रासले उनको मुटुमा समेत असर पुगेको थियो । त्यसयता उनी दैनिक औषधि सेवन गर्छिन् । प्रत्येक साता अक्सिजन, गुल्कोजको मात्रा र प्रेसर जँचाउनुपर्छ । 

वडाको अभियान : घरमै वृद्धवृद्धाको स्वास्थ्य परीक्षण

ललितपुर महानगरपालिकाको ३ नम्बर वडाले घरदैलोमा पुगेर नि:शुल्क प्राथमिक स्वास्थ्य उपचार सेवा थालेपछि भने उनको पीडा कम भएको छ । सोमबार स्वास्थ्य टोलीले उनी रहेको पाँचौं तलामा पुगेर जाँच गर्‍यो । सुगर, प्रेसर सबै ठीक भएको जानकारी गराउँदा उनको खुसीको सीमा रहेन । ‘हामीजस्ता वृद्धाका लागि यस्तो कार्यक्रम ल्याएर अत्यन्त राम्रो गर्‍यो,’ ९२ वर्षीया महर्जनले हाँस्दै भनिन्, ‘सबैलाई धन्यवाद छ ।’ टोलीले उनको तौल, ज्वरो, अक्सिजन र शरीरमा गुल्कोजको मात्रालगायत परीक्षण गरेको थियो ।


महर्जनको स्वास्थ्य परीक्षणलगत्तै टोली पुल्चोक ‘छेँ क्व’ टोलमा पुग्यो । ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षणमा थिए, वडा कार्यालयबाट खटिएका गंगा महर्जन, रञ्जु तोलांगी र रुपेश थापा । पसलमा बसिरहेकी ८६ वर्षीया नानीबेटी महर्जनलाई उनीहरूले एकै स्वरमा भने, ‘तपाईंको स्वास्थ्य अवस्था जाँच गर्न आएका छौं ।’


नर्ससहितको टोली घरमै आएपछि उनी पनि दंग परिन् । प्रेसरको बिरामी उनले १५ वर्षदेखि निरन्तर औषधि सेवन गर्दै आइरहेकी छन् । प्रत्येक साता प्रेसर जँचाउनुपर्नेमा यसपटक उनले भ्याइनन् । नर्सले प्रेसर जाँचेर ठिक भएको जानकारी गराएपछि मात्रै उनले ढुक्कको सास फेरिन् ।


‘सुगर देखापरेको छ, तर औषधि नै खानुपर्ने अवस्थामा होइन,’ नर्स गंगा महर्जनले सुझाइन्, ‘गुलियो खानेकुरा र आलु नखानुस्, दिनको एक छाक रोटी खानुस् । ठीक हुन्छ ।’


पुल्चोक त:ननी टोलका ८४ वर्षीय धवचा महर्जन मुटुका बिरामी हुन् । उनले हिँडडुल गर्न नसकेको चार वर्ष बित्यो । गत वर्ष अल्सर भएपछि उनी थला परे । घरमा बस्दाबस्दै न्यास्रो मानेका उनलाई बुहारीले स्वास्थ्य टोली आएको जानकारी गराएपछि खुसी देखिए । ‘स्थानीय तहमा जनप्रतिनिधि आएको बल्ल महसुस भएको छ,’ बुहारी मायाले भनिन्, ‘घरमै स्वास्थ्यकर्मी आएपछि बालबालिकाको पनि स्वास्थ्य जाँच गराउन पायौं ।’ जाँच गर्ने क्रममा महर्जनको प्रेसर निकै बढेको पाइयो । ‘प्रेसर कम गर्न मुख बाँधेर हुँदैन । औषधि नै खुवाउनुपर्छ,’ नर्सले भनिन्, ‘नत्र हातखुट्टा नचल्ने रोग लाग्न सक्छ ।’ उनले बिरामीमा दम देखापरेकाले धूमपान नगराउन पनि सल्लाह दिइन् ।


ललितपुर महानगरपालिका– ३ नम्बरमा ३ सय ५० जना वृद्धवृद्धा छन् । अधिकांश रोगबाट ग्रसित छन् । उनीहरूमध्ये कोही कष्टकर यात्रा गरेर मेडिकल त कोही अस्पताल पुगिरहेका छन् । नसक्नेहरू घरमै कुँजिन बाध्य छन् । ललितपुर महानगरले घरदैलो नि:शुल्क स्वास्थ्य उपचार अभियान सुरु गरेपछि भने उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको छ ।


वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन बेलैमा उपचार गराउनुपर्छ भनेर सचेतना जगाउने यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । ‘अर्को सातादेखि ईसीजी र युरिन टेस्टको सुविधा पनि थप्छौं,’ उनले भने, ‘रोग देखापर्ने ३० देखि ६० वर्ष उमेर समूहमा हो । युवावस्थामा जोस जाँगर हुने भएकाले उपचार गराउनेतिर ध्यान हुँदैन ।’


अभियानले वडाका बासिन्दामा देखिएको रोगसम्बन्धी तथ्यांक संकलनमा पनि सघाउ पुर्‍याउने उनले बताए । ‘वडा कार्यालयमा स्वास्थ्य केन्द्र पनि सञ्चालनमा गरिसकेका छौं,’ उनले भने, ‘बिरामीलाई सरकारले दिँदै आएको औषधि र नि:शुल्क स्वास्थ्य परामर्श दिने व्यवस्था गरेका छौं ।’ उनले केन्द्रमा साताको एक दिन डाक्टर पनि राख्ने तयारीमा रहेको बताए । वडाले इन्फ्लुएन्जा भ्याक्सिन दिने योजना पनि बनाएको छ । यसका लागि ३ लाख रुपैयाँ बजेट पनि विनियोजन गरिसकेको वडाध्यक्ष महर्जनले बताए ।


नर्स महर्जनका अनुसार अभियानले सर्वसाधारणमा स्वास्थ्यसम्बन्धी चेतना जगाएको छ । ‘सानो परामर्शले ठूलो रोग लाग्नबाट बचाउन मद्दत गर्छ,’ उनले भनिन्, ‘परिवारको समय र खर्च पनि बचाउँछ ।’ अभियानमा संलग्न नर्स सुमेरु सिटी अस्पतालबाट नि:शुल्क खटिएका हुन् ।



प्रकाशित : कार्तिक २०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?