कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

विस्तार नगरी कालोपत्र

कान्तिपुर संवाददाता

ललितपुर — पटक–पटक अवरोध हुँदै आएको ढोलाहिटी–चापागाउँ सडकमा हालकै अवस्थामा कालोपत्र गरिने भएको छ । सडक विस्तार नगरीकन जस्ताको तस्तै कालोपत्रे गर्ने सहमति भएको सांसद राजकाजी महर्जनले जानकारी दिए । मंगलबार मन्त्रीस्तरीय बैठकमा ढोलाहिटी–लेले खण्डभित्र पर्ने सडकमा कालोपत्रे गर्ने निर्णय भएको उनले बताए ।

२०६९ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले सातदोबाटो–ढोलाहिटी १७.२ मिटर कायम गर्ने निर्णय गरेको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ मिटर नै कायम गर्न निर्देशन दियो । त्यसयताको विस्तारमा समस्या आउँदा अहिले सडकमा ठुल्ठूला खाल्डाखुल्डी बनेका छन् भने धुलोका कारण स्थानीय मारमा छन् ।


सरकारले कालोपत्रे गर्दागर्दै बीचमा घर तथा जग्गाको क्षतिपूर्ति दिएमा विस्तारित सडकमा अहिलेकै ठेकेदारले कालोपत्रे गर्ने पनि निर्णय भएको सांसद महर्जनले बताए । ‘अहिले कालोपत्रे गर्नका लागि ग्राभेल बिछ्याउने काम भइरहेको छ,’ उनले भने, ‘चाँडोभन्दा चाडो काम सक्ने गरी सहमति भएको छ ।’


सातदोबाटो–लेले सडकको मापदण्ड २२ मिटर छ । ढोलाहिटी–ठेचो ३.२ किमि सडक दिवा र शैलुङ कन्स्ट्रक्सन जेभीले २३ करोड ३१ लाख ४६ हजार रुपैयाँमा र ठेचो–चापागाउँ ४ किमि सडक कन्टेक कम्पनीले २६ करोड ७१ लाख ९३ हजारमा निर्माण गर्ने ठेक्का पाएका थिए ।


गत शुक्रबारमात्रै चापागाउँ, ठेचो र सुनाकोठी सडकखण्डको दुरवस्थाबारे स्थानीयले जनप्रतिनिधि र ठेकेदारप्रति आक्रोश पोखेका थिए । गएको जेठमा ठेचो, चापागाउँ र सुनाकोठीका बासिन्दा मिलेर पाँच दिन सडक ठप्प

पारेका थिए । त्योभन्दा अघि खुमलटारवासीले डिभिजन सडक कार्यालय ललितपुरमा तालाबन्दी नै गरे । सडक ठप्प पारेपछि ती क्षेत्रका सांसद र मेयरले दसैंभित्र कालोपत्रे गरिसक्ने लिखित प्रतिबद्धता जनाए पनि माग पूरा नहुँदा स्थानीय सडकको धुलोका कारण मारमा छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?