सद्भाव फैलाउँदै छठ

छठ पर्वले धार्मिक सद्भाव बढाउनुका साथै तराई–पहाडबीचको भौगोलिक सम्बन्धलाई अझ मजबुत बनाएको छ
लीला श्रेष्ठ

(भक्तपुर) — विशेषगरी तराईका मधेसी समुदायमा उत्साह र निष्ठाका साथ मनाइने छठ पर्व विस्तारै पहाडी समुदायमा फैलँदै छ । सिन्धुली कमलामाई नगरपालिका डाँडीगुराँसेकी पवित्रा पौडेलले त छठ मनाउन थालेको ६ वर्ष भयो । उनी अहिले भक्तपुरको कमलपोखरीमा आराध्यदेव सूर्यको आराधना गरी धुमधामका साथ छठ मनाउँदै छिन् । 

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर उनले व्रत सुरु गरेकी हुन् । दोस्रो दिन सख्खर हालेर बनाइएको खीर छठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिने प्रचलनलाई आफूले पनि अँगालेको उनको भनाइ छ । ‘नेपालीपन जागृत गरी तराई–पहाडलाई जोड्न छठ पर्व मनाउन थालेकी हुँ,’ उनले भनिन्, ‘धर्म एउटै हो विधि पुर्‍याएर मनाउनुपर्छ ।’

सिन्धुलीकी अजिता शर्मा भने आस्थाका कारण छठ पर्वमा रमाउन थालेको बताउँछिन् । छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी बिहान अर्घ्य दिने विधिअनुसार आफूले छठ मनाउने गरेको उनले बताइन् । ‘पहाडीमूलमा जन्मी हुर्केको भए पनि हिन्दु आस्थाकै कारण छठ मनाउन थालेकी हुँ,’ उनले भनिन् ।

कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्मरोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । छठका व्रतालुहरू कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । षष्ठीमा रातभर जाग्राम बसी सप्तमीका दिन उदाउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएपछि पर्व समापन हुने परम्परा रहेको सप्तरी घर भई कमलविनायकमा टेलर सञ्चालन गर्दै आएका धनीलाल मण्डलले बताए । भक्तपुर नगरपालिका–१० कमलपोखरी र हनुमानघाटस्थित डिलमा छठीमाताको प्रतिमा स्थापित गरी तराई–पहाडमूलका बासिन्दाले छठ पर्व मनाएका छन् । उपत्यकामा पहाडी र मधेसी समुदायले एकसाथ छठ मनाइहँदा सामाजिक सद्भावलाई बढावा दिएको छ । छठमा विशेषगरी छठीमाता र सूर्य देवको पूजा गरिने मण्डलले बताए । भक्तपुरको कमलपोखरीबाहेक मनोहरा खोला, हनुमानघाट, काठमाडौंको कमलपोखरी, वाग्मतीलगायतका खोला तथा नदी किनारमा पनि व्रतालुहरूले छठ मनाएका छन् । छठ व्रत महिला तथा पुरुष दुवैले लिने गरेका छन् । तेस्रो तथा चौथो दिन निर्जल अर्थात् पानी नखाईकन अखण्ड व्रत बस्दै सूर्यपूजा हुने गरेको छ । छठ पर्व आर्यहरूको सूर्य उपासना परम्पराकै एक अंग रहेको मण्डलले जानकारी दिए ।

‘संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्, तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन,’ भक्तपुर सूर्यविनायककी सरस्वती कार्कीले भनिन्, ‘सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।’

सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएकाले पहाडिया भईकन पनि छठ पर्व मनाउन थालेको उनले बताइन् । महाभारतअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको र उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख भएको मण्डलले बताए । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको बताइन्छ ।

सप्तरी घर भई कमलविनायक बस्ने शिल्पा चौधरी व्रत गरे दु:ख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने विश्वासकै कारण छठ मनाउँछिन् । ‘झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रशन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पनि छ,’ उनले भनिन् । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने चलन पनि छ । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । भक्तपुर कमलविनायकका किशोर श्रेष्ठका अनुसार राजधानीवासीले नमनाए पनि उपत्यकाबाहिरका पहाडियाहरूले छठपर्व महत्त्वका साथ मनाउँछन् । उनले भने, ‘प्रत्येक वर्ष भक्तपुरमा छठ मनाउनेको संख्या बढ्दो छ ।’ छठ पर्वले धार्मिक सद्भाव बढाउनुका साथै तराई–पहाडलाई जोड्ने कार्य गरेको श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक १७, २०७६ ०९:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विद्रोही आक्रमणमा ५३ सैनिक मारिए

(एजेन्सी)

बामाको — मालीको उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिक पोस्टमा विद्रोहीले गरेको आक्रमणमा कम्तीमा ५३ सैनिकको मृत्यु भएको छ । मृतकमध्ये एक सर्वसाधारण छन् । 

सेनाले ट्वीट गर्दै ‘आक्रमणलाई आतंककारी हमला’ भनेको छ । इस्लामिक लडाकुहरूले गराएका पछिल्ला हिंसामध्ये यो ठूलो भएको अधिकारीहरूको भनाइ छ ।

नाइजरसँगको सिमामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा विद्रोहीले आक्रमण गरेका सरकारका प्रवक्ता याया सान्गारेले जनाएका छन् । उनले आक्रमणपछि उक्त स्थानको अवस्था सरकारी फौजको नियन्त्रणमा रहेको बताए ।

‘अहिले अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचानको कार्य भइरहेको छ,’ उनले ट्वीटरमा लेखेका छन् । उनका अनुसार आक्रमण र क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

अधिकारीहरूका अनुसार घटनाको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । त्यस क्षेत्रमा अल कायदा आबद्ध जिहादीहरूको प्रभाव बढी रहेको मानिन्छ ।

सन् २०१२ मा इस्लामिक विद्रोहीले मालीको उत्तरी क्षेत्र आफ्नो नियन्त्रणमा लिएका थिए । त्यसलगत्तै फ्रान्स नेतृत्वको चलाइएको सुरक्षा कारबाहीमा उक्त भूभाग फिर्ता गरिए पनि शान्ति स्थापित हुन सकेको छैन भने मालीका अन्य स्थान तथा छिमेकी देशमा समेत हिंसा फैलिएको छ ।

सेप्टेम्बर अन्त्यमा बुर्किना फासोमा विद्रोहीले दुइटा सैनिक क्याम्पमा आक्रमण गरेका थिए । आक्रमणमा ३८ सैनिकको मृत्यु भएको थियो । माली, बुर्किना फासो, चाड, नाइजर र मौरिटानियामा फ्रान्सको सहयोगमा ‘जी ५ सहेल’ नामक प्रतिआतंकवादी कारबाही सञ्चालन गरिँदै आएको छ ।

प्रकाशित : कार्तिक १७, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT