कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मध्यपुर थिमिमा ८ वटा पार्क बन्दै

लीला श्रेष्ठ

(भक्तपुर) — मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रभित्र ८ वटा पार्क निर्माण गर्ने भएको छ । नगरपालिकाको तेस्रो नगरसभामा पेस भएको चालू आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रमअनुसार फोहोर फाल्ने स्थानको रूपमा रहेको सार्वजनिक/पर्ति जग्गा संरक्षण गरी पार्क निर्माण गर्न लागिएको हो । 

मध्यपुर थिमि–१ लोकन्थलीको सार्वजनिक जग्गा संरक्षण गरी बाल उद्यान निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष सुरज खड्काले बताए । ‘गोरखनाथ क्षेत्रको भिरालो क्षेत्रमा भू–क्षयको समस्या भएकाले गत आवमा २० लाख रुपैयाँको लगानीमा टेको लगाइएको थियो,’ उनले भने, ‘चालू आवमा बाल उद्यान निर्माण तथा व्यायाम केन्द्र निर्माण गर्ने योजना छ ।’


मध्यपुर थिमि–२ नाट्यश्वरीमा अत्याधुनिक अपांगमैत्री नाट्यश्वरी पार्क बन्ने भएको छ । पार्क निर्माणका लागि नगरपालिकाले चालू आवमा ७५ लाख रुपैयाँ विनियोजन गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुर थिमि–२ वडा कार्यालयले सुविधासम्पन्न अपांगमैत्री पार्क निर्माणको तयारी गरेको जनाएको छ । समुदायलाई समेट्ने गरी करिब १० रोपनी क्षेत्रफलमा फूलबारीसहितको भ्यु टावर, सत्तल, पार्किङ, चिल्ड्रेन पार्क, रक क्लाइम्बिङ, वाटर फललगायत संरचना बनाउन डिजाइन तयार गरिसकेको वडाध्यक्ष राम थापामगरले बताए । पार्कमा सत्तल निर्माणका लागि ३६ लाख ६५ हजार रुपैयाँ, पार्किङसहितको सामाजिक भवन निर्माणका लागि ५१ लाख ९५ हजार, भ्यु टावर निर्माण गर्न ७१ लाख २७ हजार, शौचालयका लागि २५ हजार ४७ हजार, ल्यान्डस्केपका लागि १ करोड ९४ लाख ३७ हजार गरी करसहित करिब ४ करोड २९ लाख रुपैयाँ लागत इस्टिमेट तयार गरेको वडा कार्यालयले जनाएको छ ।


मध्यपुर थिमि नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क निर्माणको अवधारणा अघि सारेको थापामगर बताउँछन् ।


त्यसैगरी, मध्यपुर थिमि–४ शंखधर चोकमा अपांगमैत्री शंखधर पार्क निर्माण सुरु भएको छ । मध्यपुर थिमिको मुख्य प्रवेशद्वार शंखधर चोकसँगैको भिरालो क्षेत्रमा फुटपाथसहितको पार्क निर्माण हुनेछ । करिब १ सय ३० रोपनी क्षेत्रफलमा परम्परागत प्राचीन ढुंगेधारा तीनवटा, सिँढी, फुटपाथ र रेलिङ निर्माण गर्न लागेको नगरपालिकाले जनाएको छ । साबिक इनार तथा कुवाको पानी ढुंगेधाराबाट आउने गरी निर्माण गरिसकेको नगरप्रमुख श्रेष्ठले बताए । प्राविधिकको रिपोर्टअनुसार पार्क निर्माण तथा सर्वेका लागि करिब १३ करोड रुपैयाँ लागत इस्टिमेट तयार पारिएको छ । नगरपालिकाले गत आवमा शंखधर चोक गुरुयोजना कार्यान्वयन शीर्षकमा ५० लाख रुपैयाँ र शंखधर चोक हनुमन्ते सडक सुधार शीर्षकमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । चालू आवको वार्षिक बजेट, नीति तथा कार्यक्रममा शंखधर चोक गुरुयोजना कार्यान्वयन शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।


त्यस्तै, मध्यपुर थिमि–९ स्थित नीलबाराही क्षेत्रमा नगरपालिकाले इको पार्क बनाउने भएको छ । भू–क्षयका कारण उक्त क्षेत्रमा ८ वटा खोँचहरू बनेका छन् ।


‘नगरभित्र संकलित फोहोरमध्ये ६० प्रतिशत कुहिने, २० प्रतिशत पुन: प्रयोग गर्न सकिने र २० प्रतिशत प्रयोग गर्न नमिल्ने फोहोर छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘कुहिनेलाई प्रांगारिक मल बनाउने र नकुहिनेलाई समेत दुई भागमा विभाजन गरी व्यवस्थापन गर्ने योजना छ ।’


चालू आवको वार्षिक नीति तथा कार्यक्रममा विष्णुकुण्डल पार्क निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । विष्णुकुण्डल क्षेत्र हरियाली/सुन्दरताका लागि युरोपियन युनियनले करिब १० लाख रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ । मध्यपुर थिमि–५ ले नीलवर्ण गणेश चोडेस्थित फोहोर फाल्ने स्थानलाई सरसफाइ गरी पार्क निर्माण गर्ने भएको छ । करिब ६ रोपनी क्षेत्रफलमा बन्न लागेको पार्क निर्माणका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । त्यस्तै, मध्यपुर थिमिले नगदेश संग्रहालय तथा पार्क निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक १६, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?