कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कात्तिक नाच आजदेखि

प्रशान्त माली

(ललितपुर) — पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा हुने ऐतिहासिक कात्तिक नाच शुक्रबारबाट सुरु हुँदै छ । १२ दिनसम्म चल्ने नाचका लागि बिहीबार दरबारको नासल चोकस्थित नाथेश्वरको पूजा गरिएको छ । नाचको पहिलो दिन ‘सुदामा लीला’ नाच देखाइने कात्तिक नाच संरक्षण समितिले जनाएको छ । दोस्रो दिन बा:थ प्याँख देखाइनेछ ।

कात्तिक नाच आजदेखि

यसमा ‘माक:सि मियेगु व खुसि छिकेगु’ कथा भनी श्रीकृष्ण, जय, विजय, सत्यभामा, रुक्मणीलगायत १० जना कलाकारले सेतो जामा, सेतो चोलो, हाकुपटासीजस्ता मौलिकता झल्कने पोसाक लगाएर नृत्य प्रस्तुत गर्नेछन् ।


आइतबारदेखि बिहीबारसम्म उषाहरण लीलानाच प्रदर्शन गरिने समितिले जनाएको छ, जसअन्तर्गगत वाणासुरलाई सहर्षभुज वरदान, उषा र अनिरुद्र शृंगार, देवी प्याँख, युद्ध कला प्रदर्शन गरिनेछ । समितिका अनुसार त्यसपछि जल शयन (मधु–कैटव वध), वराह अवतार नाच सुरु हुनेछ । कृष्णलीलामा आधारित यस नाचमार्फत दानव हिरण्याक्षको घमन्ड र अहंकार चलाखीपूर्ण तरिकाले नाश गरेको देखाइने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए । ‘नाचमा दानव हिरण्याक्षले पाताल, जमिन र स्वर्ग तीनै स्थानमा आफ्नो राज्य चलाउन देवता र मानव जातिलाई दु:ख दिनेछ,’ उनले भने, ‘स्वर्गका राजा इन्द्रले भगवान् विष्णुलाई पुकार्न यज्ञ गर्ने, दानवले यज्ञ भंग गर्न खोज्दा भगवान् विष्णु वराहको अवतारमा आई दानवलाई वध गर्ने दृश्य देखाइनेछ ।’


शाक्यका अनुसार नाचमा दानव वाणासुरकी छोरी उषा र श्रीकृष्णका नाति अनिरुद्रबीचको प्रेमसम्बन्ध झल्काइन्छ । ‘दानवको अहंकारलाई नाश गरी उषा र अनिरुद्रलाई मिलन गराइएको कथा छ,’ उनले भने, ‘नृत्यमा मनुष्य चोला धारण गरिसकेपछि अहंकार र घमन्डजस्ता अहंबाट सधैं टाढिएर बस्नुपर्छ भन्ने सन्देश यसमा छ ।’ कलाकारहरू नाचमा मुकुन्डो, चोलो, जामा, श्रीपेच, धाँगडा, माला, सिक्री, जबी (कम्मरमा लगाइने), लच्कन, सुदर्शनचक्रलगायत वेशभूषाले सजिएका हुन्छन् । यसमा खिं, बबू, ता, प्वंगा, धा, दम्वखिं, जो नगडा, मृदंगा (पचिमा), झ्याली, पोंगा र जुगुरात्रि र म्वाली (सनही) जस्ता बाजाको प्रयोग हुन्छ ।


नृत्यअनुसार सहभागी हुने विभिन्न गण (समूह) हुन्छन् । उषाहरण लीला नाचअन्तर्गत कृष्ण गणमा १२ जना, महादेवमा ६, इन्द्रमा ९, वाणासुरमा ५ र देवी गणमा ६ जना हुन्छन् । वाद्यवादक र संगीतकारबाहेक अन्यमा गरी जम्मा ४० जना कलाकार हुन्छन् । नाच बेलुका ७ बजेदेखि करिब १० बजेसम्म सञ्चालन हुन्छ । नेवारीमा नाचलाई कात्ती प्याखं भनिन्छ । अन्तिम दिन वस्त्रहरण लीलानाच हुने समितिले जनाएको छ । यो कृष्णलीलामा आधारित नाच हो, जसका मुख्य पात्र कृष्ण हुन् । राजा सिद्धिनरसिंह मल्लको पालादेखि प्रदर्शन हुँदै आएको नाच २००६ सालसम्म २७ दिनसम्म चलेको इतिहासकारहरू बताउँछन् । त्यसपछि दुई दिन मात्र (वराह अवतार र नरसिंह अवतार) सञ्चालन भएको थियो । विभिन्न निकायको सहयोगमा २०३८ सालदेखि आठ दिन प्रदर्शन हुँदै आएकामा गत वर्ष १२ दिनमा सीमित भयो ।


छोट्टियो नाच

परम्पराअनुसार कात्तिक महिनाभर अथवा २७ दिन सञ्चालन गर्नुपर्ने नाच यस वर्ष पनि १२ दिनमा सीमित हुने भएको छ । ‘हाम्रो लक्ष्य कात्तिक महिनाभर नै सञ्चालन गर्ने थियो तर सरकारी निकायले बेवास्ता गर्दा छोट्याउनुपर्‍यो,’ कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष शाक्यले भने, ‘१२ दिन सञ्चालन गर्न करिब चार/पाँच लाख रुपैयाँ आवश्यक पर्छ, नाच पूरै सञ्चालन गर्ने हो भने ३० लाख चाहिन्छ ।’


पहिला अड्डा (गुठी संस्थान स्थापना गर्नुअघि) हुँदा नाचमा सहभागी हुने कलाकारलाई अड्डाबाट खटिएका कर्मचारीले घरमै आएर मानसम्मानसाथ बोलाउँथे । संस्कृति संरक्षणमा स्थानीयहरू लागिपर्दा पनि सरकारी निकायले बेवास्ता गर्दा नाच सञ्चालनमा समस्या भएको कात्तिक नाचका गुरु केशवकृष्ण श्रेष्ठ बताउँछन् । ‘बडादसैंमा पाटन दरबारमा फूलपाती भित्र्याउन पनि कात्तिक नाचको मुख्य भूमिका हुन्थ्यो,’ उनले भने, ‘तर सम्बन्धित सरकारी निकायले पहल नगर्दा बन्द भएको छ ।’

प्रकाशित : कार्तिक १५, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?