म्हःपूजामा विदेशी

पाटन दरबार क्षेत्रमा १० देशका ४५ विदेशीले पहिलोपटक सुकुलमा बसेर नेवारी परम्पराअनुसार म्हःपूजा गरे
प्रशान्त माली

(ललितपुर) — शिरमा ढाका टोपी लगाएर लहरै बसेका विदेशी । सम्मुखमा एक–एक मन्दः (मण्डल) । मन्दमा आँखे, वा (धान), हाकु मुस्या (कालो भटमास), ग्वः गु माय् (मास) । अघिल्तिर तःसी (बिमिरो), झमसी, आमासी, पासी, खोसी (ओखर), केरा, अम्बा, भोगटेलगायत फलफूल । तःसीमाथि खेलु इताः, तपुगु जंजका, स्वामाः स्वा (फूलको माला) । 

मन्दमा सुरुमा थकालीलाई बस्न लगाइयो । त्यसपछि क्रमशः अन्य व्यक्ति बस्न थाले । थकालीलाई शंखको पानीले चोख्याई सुकुन्दा, बिमिरोलगायत फलफूलको पूजा गरी अर्घ्य दिन लगाइयो । यो रौनकसँगै उत्सव सुरु भयो । त्यसपछि सबैले पालैपालो पूजा गरे ।

सगुनमा धौ, खेय् र न्या (दही, अन्डा, शुक्ति माछा) देखेपछि विदेशीहरू मुखामुख गर्न थाले । अधिकांश त सलिचा (माटोको कचौरा) मा लोकल रक्सी र जाँडमा रमाइरहेका देखिन्थे । नेवारी परम्पराअनुसार सगुनमा रक्सी वा जाँडमध्ये एक अनिवार्य लिनुपर्छ । ज्यापू समाजका उपाध्यक्ष सन्तमान महर्जनले विधिपूर्वक म्हःपूजा गरे संकट निर्मूल हुने र जगत्मा शान्ति हुने धार्मिक विश्वास रहेको बताएपछि उनीहरू थप हौसिए ।

नेवार जातिले तिहारमा म्हःपूजा अथवा आफ्नो शरीरको आफैंले पूजा गरी सुगन (हाँस वा कुखुराको फूल) लिई आपसमा ‘न्हू दँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना) आदानप्रदान गर्ने गर्छन् । यस वर्ष ललितपुरमा भने फरक दृश्य देखियो । पाटन दरबार क्षेत्रमा विभिन्न १० देशका ४५ विदेशीले पहिलोपटक सुकुलमा बसेर नेवारी परम्पराअनुसार म्हःपूजा गरेका छन् । उनीहरूलाई यो अवसर ज्यापू समाज यलले जुटाएको हो । सोमबार साँझ इटली, फ्रान्स, स्विट्जरल्यान्ड, अमेरिका, स्विडेन, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, नर्वे, स्पेनलगायत देशका नागरिक म्हःपूजामा सहभागी भए ।

नेवारको ठूलो चाड हो स्वन्तिः (तिहार) । नयाँ कार्य सुरु गर्नेबेला सफलताको कामना गरेर शान्तिस्वस्ति गर्ने चलन छ ।

स्पेनका किलियन जर्नेटले म्हःपूजामा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे । ‘यस्ता कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्नुपर्छ,’ उनले भने, ‘नेपाली परम्परा अन्तराष्ट्रियस्तरमा समेत पुगेको छ, यस्ता आकर्षणले विदेशीलाई तान्छ, जसको फाइदा नेपालको अर्थतन्त्रमा पुग्छ ।’ एउटा जातीय संस्थाले मात्र नभई राष्ट्रले नै योजनाबद्ध तरिकाबाट यसखाले कार्यक्रम आयोजना गर्न सुझाए ।

विदेशीहरूलाई पूजा गर्न लगाउँदा सम्यक सम्बुद्धका रूपमा आएका पुष्पकेतु राजालाई नमस्कार गरी स्वा (फूल), धू, धूप, सिन्ह, जाकी (अक्षता), चिउरा, मोही, फलफूल, पेय पदार्थ र दक्षिणा राखी मन्त्र पनि वाचन गरिएको थियो । ज्यापू समाजका उपाध्यक्ष महर्जनले राष्ट्रिय विभूति शंखधर साख्वाले देशका जनतालाई ऋण मुक्त गराएको सम्झनामा भाइटीकाका दिनबाट नेपाल संवत् फेरिने गरेको सुनाए । नेपाल सम्वत् ११४० सुरु भएको बताएपछि विदेशीहरूले ‘ह्याप्पी न्यु इयर’ भन्दै एक–आपसमा खुसी साटे ।

यमपञ्चकको पाँचौं वा अन्तिम दिन भाइटीका गर्ने चलन छ । प्रायः नेवारहरूले भने बुधबार भाइटीका लगाए । संस्कृतिविद् हरिराम जोशीका अनुसार म्हःपूजा जस्ता उत्तम कार्य कृष्णपक्षभन्दा शुक्लपक्षमा गर्ने गरिन्छ । म्हःपूजाको रात समूहगत रूपमा परम्परागत भाकामा गीत गाउँदै देउसी–भैलो खेल्ने चलन छ । नेपालमा म्हः (शरीर) लाई महत्त्व दिई पूजा गर्ने सिद्धान्त लीलाबज्रले प्रतिपादन गरेको कथन रहेको संस्कृतिविद् जोशी बताउँछन् । लीलाबज्र लिच्छविकालीन समयका हुन् । उनी तक्षशीला, विक्रमशील महाविहारका प्राध्यापक हुन् । द्यःपिनिगु (देवता) को मूर्तिमा तान्त्रिक शक्तिद्वारा जीवन्यास गर्ने व्यक्ति हुन् । हाम्रो शरीरमा सबै देवीदेवता र तीर्थस्थलहरू रहेको महत्व बुझेर म्हःपूजा गरिएको जनविश्वास छ ।

ज्यापू समाजका उपाध्यक्ष महर्जनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर म्हः पूजा आयोजना गरिएको बताए । म्हःपूजाका दिन वसन्तपुरबाट सुरु भएको झाँकीसहितको र्‍याली जैसीदेवल–लगन–न्हुमट–कोहीहिटी–भीसमेस्थान–यत्खा–नरदेवी–टेंगल–असन–इन्द्रचोक भई पुनः वसन्तपुर पुगेर टुंगिएको थियो ।

प्रकाशित : कार्तिक १४, २०७६ ०७:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘छरपस्ट कानुन एकीकरण गर’

कान्तिपुर संवाददाता

काठमाडौँ — कानुनको संख्या धेरै र छरपस्ट भएपछि संसदीय समितिले तिनको एकीकरण गरी सकेसम्म थोरै कानुन बनाएर जनतामाझ पुर्‍याउन सुझाएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मौजुदा कानुनहरूको अध्ययन गरी तिनलाई एकीकरण गरी चुस्त बनाउन र तिनको जानकारी आम जनतामाझ गराउन सरोकार निकायहरूलाई सुझाव दिएको हो ।

समितिले कानुनहरूको पुनरावलोकन गर्नुपर्नेमा जोड दिँदै हरेक प्रकारका कानुनलाई जनताले सरल र सहज रूपमा प्राप्त गर्ने बनाउनसमेत सरोकार निकायहरूलाई भनेको छ । ‘कानुनको मान्य सिद्धान्तले कानुनको अनभिज्ञता क्षम्य हुँदैन भनिन्छ । यसको अर्थ कानुनको जानकारी आम जनतासमक्ष राज्यले समयमै पुर्‍याउनु हो,’ विधायन समितिले आफ्नो वार्षिक प्रतिवेदनमा लेखेको छ, ‘तर कानुनहरू आम जनतामाझ पुर्‍याउनका लागि प्रभावकारी व्यवस्थाको कमी देखिन्छ ।’

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले कानुन बनाएर मात्र हुँदैन भन्दै तिनको कार्यान्वयनको अवस्था र जनतामाझ पुगे/नपुगेको हेर्नुपर्ने बताए । ऐनहरू राजपत्रमा प्रकाशित हुने भए पनि अन्य कानुनहरू प्रकाशित नहुने भएकाले तिनलाई एकीकृत गरी प्रकाशन गर्न र जनताले सहज रूपमा प्राप्त गर्ने बनाउन समितिले जोड दिएको हो ।

समितिले ऐन, नियमावली, विनियमावली, कार्यविधि, निर्देशिकालाई एकीकृत गर्न र तिनलाई अनलाइनमा राख्नसमेत सरोकारवाला निकायहरूलाई सुझाएको छ । नेपाल कानुन आयोगको वेबसाइटअनुसार मौजुदा ऐन ३ सय ३९ र नियमावलीको संख्या ३ सय २९ र ३४ वटा गठन आदेश छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालय, विभागदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायका विनियमावली, कार्यविधि, निर्देशिका के कति छन् भन्ने यकिन छैन ।

प्रकाशित : कार्तिक १४, २०७६ ०७:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT