आधुनिक सामग्री प्रयोगले तिहारको मौलिकता हरायो

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिका–२, ब्यासीकी संगीता तजले यतिबेला लक्ष्मीपूजाको तयारीमा व्यस्त छिन्  । यसअघि नै उनले घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ‍र्‍याङलगायतको सरसफाइ सिध्याइसकिन्  ।

भाइटीकामा पाँच दाजुभाइलाई उपहार के दिने भन्ने अन्योल उनमा छ ।

तौमढीको तिहार विशेष मेलामा भेटिएकी संगीता किनमेलमा व्यस्त देखिइन् । ‘वर्षभरि मनाइने चाडपर्वमध्ये तिहारको महत्त्व बेग्लै छ,’ उनले भनिन्, ‘किनमेल, उपहार, दाजुभाइ/दिदीबहिनीको स्नेह, म्हःपूजा र आशीर्वाद ।’ लक्ष्मीपूजा, म्हःपूजा र तेलको धाराले छेकेर कहिल्यै नओइलाउने मखमलीको मालासँगै दाजुभाइको दीर्घायुको कामना गर्ने क्षण विशेष रहेको उनी बताउँछिन् ।

दाजुभाइ/दिदीबहिनीको प्रेम, स्नेह र सद्भावको पर्वका रूपमा मनाइने तिहारले संगीताजस्तै धेरै महिलालाई व्यस्त बनाएको छ । सहरको मुख्य चोकहरू तिहारका सामग्रीले भरिभराउ छन् । ‘दीपावली, सप्तरंगी टीका, देउसी/भैली, मखमली/सयपत्री फूल र स्नेहरूपी आशीर्वादले उमंग थपेको छ,’ स्थानीय सुन्तली जोशीले भनिन्, ‘तिहारको किनमेलले छुट्टै आनन्द दिन्छ ।’

बजारमा बिमिरो, ओखर, कटुस, सप्तरंगी टीका, मखमली, सयपत्री फूल, भाइमसला, ढाका टोपी, फलफूल, रंगीचंगी विद्युतीय बत्ती, माटोको पाला, कुचो, गरगहनालगायतको बिक्री बढेको छ ।

तिहारका लागि भक्तपुर नगरपालिकाका तौमढी, दत्तात्रय, सूर्यविनायक, सल्लाघारी, नयाँ थिमि, पुरानो थिमि, गठ्ठाघर, कौशलटार, लोकन्थलीलगायत मुख्य चोकहरूको रौनक बेग्लै छ । विशेषगरी लक्ष्मीपूजा, म्हःपूजा र भाइटीकाका लागि किनमेलको थलोको रूपमा तौमढीलाई लिने गरिएको तौमढी क्लबका अध्यक्ष विजय द्यौभडेलले बताए । ‘बिस्केट जात्रा, गाईजात्रालगायत भक्तपुरका अधिकांश चाडपर्वले तौमढीको रौनकता बढेको छ,’ उनले भने, ‘काभ्रे, कालीमाटीका व्यापारीसमेत तिहारमा तौमढी आउँछन् ।’

भक्तपुरका अन्य स्थानमा पनि भीड बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष तिहारमा महँगी बढेको सर्वसाधारणले गुनासो गरे । ‘तिहारमा नभई नहुने सामग्रीको भाउ सर्वसाधारण सुहाउँदो छैन,’ संगीताले भनिन्, ‘फलफूल, मखमली/सयपत्री फूल, मिठाईको भाउ अकासिएको छ ।’ चाडपर्वसँगै अकासिने बजार भाउलाई नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गरेको सर्वसाधारण बताउँछन् । मिठाई, मासुलगायत चाडपर्वमा नभई नहुने खाद्यवस्तुको अनुगमन हुन नसक्दा गुणस्तरहीन र महँगीको मार बेहोर्नुपरेको कमलविनायककी तारा अवालले बताइन् । ‘चाडपर्वले छोपेको छ, किनमेल नगर्ने कुरा पनि भएन,’ उनले भनिन्, ‘उच्च बजार भाउ नियन्त्रण गर्ने, गुणस्तरीय सामग्री खरिद–बिक्रीतर्फ सम्बन्धित निकायको अनुगमन फितलो छ ।’

आधुनिकताले छोप्यो
केही वर्षअघिसम्म माटाको पालामा दीपावली गर्ने भक्तपुर विभिन्न किसिमका विद्युतीय बत्तीले झिलीमिली देखिन्छ । थोरैले मात्र माटोको पाला प्रयोग गर्ने गरेका छन् । ‘बढ्दो आधुनिकता र प्रविधिका कारण विद्युतीय सामग्रीले बजार लियो,’ सूर्यविनायक नगरपालिकाकी रजनी जोशीले भनिन्, ‘प्राकृतिक र वातावरण सुहाउँदो सामग्रीले भन्दा रंगीचंगी र झिलीमिलीले मान्छेलाई तान्यो । माटोको भाँडोले स्वास्थ्यलाई असर गर्दैन, त्यो अहिलेका मान्छेले बुझेका छैनन् ।’

देखावटीपन र आधुनिकताले तिहारको मौलिकता लोप भएको संस्कृतिकर्मीहरू बताउँछन् । ‘हाम्रो तिहार परनिर्भरतामा आधारित भयो, भारतलगायत सात समुद्रपारिका मुलुकबाट सामान नआए तिहार मनाउनै नपाउने वातावरण बनिसक्यो,’ साहित्यकार एवं संस्कृतिकर्मी तेजेश्वरबाबु ग्वंगले भने, ‘मौलिकताबाट हटेर देखासिकीमा परिणत भयो ।’ पहिले आफैंले उत्पादन गरेको फलफूल, मखमली/सयपत्री फूलको उपहार आदानप्रदान हुने गरे पनि अहिले विद्युतीय बत्ती, रंगीन मिठाई भित्रिएसँगै देखावटी गर्ने शैलीका कारण मौलिकता हराउँदै गएको उनी बताउँछन् ।

ग्वंगका अनुसार नयाँ धानको चामल पिसेर बनाइएको सेल, मुटुमारी (एक किसिमको रोटी) बनाई दाजुभाइलाई कोसेली लग्ने संस्कार हराउँदै गयो । विभिन्न रङ मिसिएका मिठाईले गर्दा घरघरमा सेलरोटी पाक्ने क्रम घट्यो । त्यसैगरी माटोको पालामा तेल राखेर बत्ती बाली लक्ष्मीपूजा गर्ने समाज विद्युतीय बत्तीमा हराएको उनले बताए।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पर्यटकीय गाउँ बनाउन जुटे जनप्रतिनिधि

ललितपुरको वाग्मती, महांकाल र कोन्ज्योसोम गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउन चार वर्षअघि बनाइएको योजना कार्यान्वयन गर्न जनप्रतिनिधि र स्थानीय बासिन्दा लागिपरेका छन्
प्रशान्त माली

ललितपुर — दक्षिणी ललितपुरका वाग्मती, महांकाल, कोन्ज्योसोम गाउँपालिकाले आफ्नो ठाउँलाई पर्यटकीय स्थल बनाउन थरीथरीका योजना अघि सारेका छन्  । सडक निर्माणसँगै गाउँका पर्यटकीय स्थल चिनाउने योजनामा गाउँपालिकाका पदाधिकारी लागिपरेका हुन्  ।

वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जंगल सफारी र शिविर सञ्चालनमा ल्याउन पूर्वाधार तयार भइरहेको बताए । ‘पर्यटन प्रवर्द्धन गर्न प्रदेश र केन्द्र सरकारले पनि भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘दक्षिणमा जंगल सफारीको विकास गर्न सकेमा सौराहा पुग्नुपर्दैन ।’

महांकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले धार्मिकसँगै कृषि र खेल पर्यटनको प्रचूर सम्भावना रहेकाले यसलाई पूरा गर्न योजना बनाएको बताए । स्थानीय तहसँगै पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, वातावरण मन्त्रालय, ललितपुर उद्योग वाणिज्य संघलगायत संघसंस्थाले पनि लगानी गर्नुपर्ने भएकोले सहकार्य भइरहेको उनको भनाइ छ । ‘जडिबुटी खेती गर्न पनि अध्ययन थालिसकेका छौं,’ उनले भने ।

कोन्ज्योसोम गाउँपालिकाले पर्यटन विकासकै लागि यस वर्ष एक करोड रुपैयाँ वजेट विनियोजिन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले कोन्ज्योसोम शान्ति वाटिका, दलचोकीमा भ्युटावर बनाउन लागिरहेको बताइन् ।

‘कोन्ज्योसोमको अर्थ ब्रहृमा, विष्णु र महेश्वरको त्रिमूर्ति हो,’ उनले भनिन्, ‘गुप्तेश्वर महादेव गुफा फेदबाट करिब तीन किमि उचाइमा छ । त्योभन्दा उचाइमा कोन्ज्योसोम शान्ति वाटिकामा तीनै देवताका मूर्ति बनाउन डीपीआर तयार गरेर शिलान्यास भइसकेको छ ।’ उनका अनुसार मूर्ति बनाउन १० करोड रुपैयाँ लाग्छ । यस्तै दलचोकीमा भ्युटावर बनाउन यस वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

टावर निर्माण भएपछि ललितपुरको सबैभन्दा उपयुक्त दृश्यावलोकन स्थल बन्ने उनले बताइन् । यहाँबाट उपत्यकाका तीनै जिल्ला, तराई र हिमशृखंला एकैपटक अवलोकन गर्न सकिन्छ ।

कस्ता छन् पर्यटकीय गन्तव्य ?
आर्थिक वर्ष २०७२/७३ मा तत्कालीन जिल्ला विकास समिति ललितपुरले जिल्लाको दक्षिण भेगलाई पर्यटकीय गन्तव्यको मुख्य केन्द्र बनाउने पञ्चवर्षीय गुरुयोजना बनाएको थियो । गुरुयोजनाअनुसार दक्षिण भेगमा एकदेखि १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन् ।

जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, डुंगा सयर, प्याराग्लाइडिङ, गुफा ध्यान, घोडचढीलगायत छन् । गुरुयोजना लागू गर्न दक्षिण ललितपुरका कोन्ज्योसोम, महांकाल र वाग्मती गाउँपालिका मिलेर अगाडि बढ्नुपर्ने कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले बताइन् ।

दक्षिण भेगमा धरानको बराह, गुल्मीको रिडी र मुस्ताङको मुक्तिनाथजस्तै पुरातात्त्विक महत्त्वको तीर्थस्थल पनि छन् । गोटीखेलमा त्रिवेणी वैतर्णीधाम र घडघडा नदी छ । वैतर्णीधामको दक्षिणपट्टि कालेश्वर र उत्तरपूर्व ‘टापु’ पनि छ । यी टापु हिमालमा जोडिएको दृश्य धनुषाको जनकपुर, रौतहटको नगरपुर, पर्साको परमानुपर र भारतबाट समेत अवलोकन गर्न सकिन्छ ।

कालेश्वरस्थित मृगविसौना र काभ्रेसँगको सीमास्थल मानिने देउरालीस्थित थुम्काडाँडा जिल्लाकै सबैभन्दा अग्लो भ्यु प्वाइन्ट हो । यहाँबाट उत्तरका हिमशृंखलाहरू, पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थान, पश्चिम र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । मानिखेलको खोरभञ्ज्याङलाई पनि पर्यटकीय स्थानका रूपमा विकास गर्न सकिन्छ । गिम्दीको चमेरे गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, प्युटारको नागगुफा उत्कृष्ट गन्तव्य स्थल हुन् ।

जंगल सफारी, चट्टान आरोहण र जलयात्राका लागि दक्षिण भेगमा अधिकांश जंगल क्षेत्र छन् । केही क्षेत्रलाई समेटेर जंगल सफारीको प्याकेज बनाउन सकिने स्थानीयवासी बताउँछन् । चौघरे–ठोस्ने खोलासम्मको सडक आसपासमा वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ । मूल मोटरबाटोको दायाँबायाँ मृग, खरायो, कालिज, हरिण, जरायो, मृग जस्ता वन्यजन्तु देख्न सकिने भएकाले जंगलमा यात्राको सम्भावना छ ।

गुरुयोजनामा उल्लेख भएनुसार भारदेउ–गुप्तेश्वर डाँडामा निस्केर टुटुवा हुँदै कालेश्वरको मृगबिसौना र बतासेडाँडासम्म एकदिने जंगल सफारी रुट विकास गर्न सकिन्छ । त्यस्तै चौघरेबाट जंगल सफारी गरेर मृगविसौना पुगेका पर्यटकलाई देउरालीमा तामाङ समुदायको ढ्यांग्रो नाच र झाँक्री नाच देखाउन सकिनेछ ।

कालेश्वर महादेव मार्गमा पर्ने पार्वतीडाँडा र कालेश्वर महादेवडाँडाको पूर्वी र दक्षिणी मोहडामा चट्टान आरोहणको सम्भावना छ ।
बल्खु–माल्टासम्म जलयात्रा सञ्चालन गर्न सकिन्छ ।

माल्टामा मगर संस्कृति, नाच र संस्कृति झल्कने परिकारसहित कार्यक्रम सञ्चालन गर्न सकिन्छ । मानिखेलस्थित बिमिरेचौर फाँटमा ल्यान्ड गर्नेगरी प्याराग्लाइडिङ गराउने योजनामा रहेको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

जिल्लाको सबभन्दा चिसो र अग्लो स्थान फुल्चोकी हो भने सबैभन्दा होचो तथा गर्मी गिम्दीको हेल्टार । गर्मी र चिसो दुवै क्षेत्रमा पाइने चराचुरुंगी अवलोकन गर्न सकिने वर्ड वाचिङ रुट बनाउन सकिन्छ । त्यस्तै कृषि पर्यटनको सम्भावना पनि प्रचुर मात्रामा छ । कालेश्वर–बुखेल चिया, सुदूर दक्षिणी भेग कफी, दक्षिण पश्चिमी क्षेत्र दलहन र तेलहन बाली, भैंसीपालन र दूध व्यवसायको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने सरोकारवालाहरू बताउँछन् । खेल पर्यटन प्रवर्द्धन गर्न गल्फ, टेनिस, ब्याडमिन्टन कोर्ट, क्रिकेट मैदान बनाउने उपयुक्त स्थान पनि छन् । भट्टेडाँडा र माझखण्ड जोड्ने केबुलकारको प्रारम्भिक वातावरणीय परीक्षण (आईई रिपोर्ट) तयार भइसकेको छ । केबुलकार वाग्मती गाउँपालिका–३ भट्टेडाँडा छपेलीबाट ५ नम्बरस्थित माझखण्ड २.८ किमि दुरीमा बन्नेछ । सन् २०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कोन्ज्योसोमका उपाध्यक्ष लामाले चौघरेमा खेलमैदान बनाउने योजनामा रहेको बताइन् । ‘शंखुलाई दूधको पकेट क्षेत्र बनाउन लागिपरेका छौं,’ उनले भनिन् । धार्मिक प्याकेजमा जान चाहनेलाई गुप्तेश्वर, वैतरणी, कालेश्वर लोग्तुक गुम्बा, नागगुफा, टीकाभैरव, बतासे, गढी, शिसवन, चमेरे गुफा, रमिते, माझखण्ड विहार, भट्टेडाँडा, सुन्तोलीडाँडामा स्वर्गद्वारी मन्दिर, तिलेश्वर, गुप्तेश्वर, महदेव मन्दिर छन् । नल्लु डाँडामा पाथिभरा मन्दिर छ । पाथिभरालाई थप विकास गर्न गुरुयोजना बनाउने तयारीमा रहेको लामाले बताइन् ।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT