माइक्रोबसमा रत्नपार्क–बानियाँटार : सार्वजनिक यातायातमा जे देखियो...

कोचाकोच यात्रु चढेपछि भित्र सास फेर्नै गाह्रो हुनेगरी उकुसमुकुस थियो । उभिने केही त खलखली पसिना निकालिरहेका देखिन्थे
सीमा तामाङ

काठमाडौँ — घन्टाघर । साँझ ५ बजे । चिसो सिरेटो चलिरहेको छ । हुलका हुल मानिस यताउता कुदिरहेका छन् । गाडीको ट्याँट्याँटुँटुँले उपत्यका नाम मात्रैको ‘हर्न निषेधित क्षेत्र’ भएको भान हुन्छ । दिनभरको काम सकेर घर फर्कनेहरूको लर्कोले बाटो हिँड्नै सकस छ । रत्नपार्क हुँदै घर फर्कन सडकछेउ र पेटीमा उभिने पनि उत्तिकै छन् ।

माइक्रोबसमा रत्नपार्क–बानियाँटार : सार्वजनिक यातायातमा जे देखियो...

माइक्रो र बसका सहचालकहरू यात्रु चढाउन आफ्नो स्वरले भ्याएसम्म चिच्याइरहेका छन् । महानगरीय प्रहरी कार्यालय छेउ र भोटाहिटीबाट पुल पार गरेर ठेलमठेल गरेर रत्नपार्क आउनेको भीड पनि बढेको देखिन्छ । सर्वसाधारणको भीड जति बढ्दै जान्छ, केहीचाहिँ प्रहरी कार्यालयको मूलगेट छेउ सडकको लाइनमा थपिन्छन् ।


लाइनमा दिनभरिको काम सकेर फर्कने युवादेखि वृद्धवृद्धासम्म छन् । ढिला आउनेजति लाइनको पछाडि थपिँदै छन् । लाइन बढेर भोटाहिटी नजिकको पुलतर्फ पुग्नै लागेको छ ।


कतिपय पैदल यात्रुहरू लामो लाइन देखेर जिज्ञासु नजर तेर्स्यारहेका थिए । कोही पहिले नै आएर आफ्नो साथीको लागि लाइन बसिरहेका थिए ।


यो लाइन टोखा नगरपालिकाको बानियाँटार जाने यात्रुहरूको हो । जमल, त्रिचन्द्र कलेज अगाडिको सडकबाट सामाखुसी बानियाँटार लेखेको माइक्रोबस आउनेबित्तिकै उनीहरू तँछाडमछाड गर्दैनन् । लाइनमा जसको पालो आयो सरक्क चढ्छन् ।


१२ सिटको माइक्रोमा २० जनाभन्दा बढी एकैपटक छिरेको देखियो । अगाडि लाइनमा हुनेको रोजाइ चालकसँगैको सिट हुन्थ्यो । एकैपटक दुई वटा माइक्रोबस आउँदा लाइन स्वाट्टै घट्थ्यो । माइक्रो आउन ढिलाइ हुनासाथ लाइन तन्किइहाल्थ्यो ।


मंगलबार अपराह्न सवा ५ बजे बानियाँटार जाने यात्रुको लाइनमा हामी पनि थपियौं । हाम्राअगाडि ८५ जना थिए । लाइनमा बस्ने कोही हातमा झोला समाएका देखिन्थे, कोही काखे बच्चा बोकेका । कसैका हातमा किनमेल गरेको सामानका पोकापन्तुरा ।


अगाडिको लाइन सरेकै थिएन । सरोस् पनि कसरी ? माइक्रो नै आएको थिएन । लाइन मिच्दै बीचमा छिर्ने आँट कसैले गरेनन् । दोहोरो लाइन बस्न पनि कोही तम्सिएनन् । लाइन बसेको ५ मिनेट (५ बजेर २० मिनेट) मा हामीभन्दा पछाडि ६३ जना पुगिसकेछन् ।

५ बजेर २२ मिनेटमा बा १ ज ८४६१ नम्बरको माइक्रो आइपुग्यो । त्यसमा मुस्किलले २० जनाजति चढे ।


हामीभन्दा पछि हुनेको संख्या ८८ पुगिसकेछ । लाइन छेउमै बा १ ज ८९१३ नम्बरको माइक्रो पार्किङ गरिराखेको देखियो । लाइन लामो देखेर होला यात्रु चढाउन अघि बढ्यो । तर, गोंगबुसम्म मात्रै जाने भए पनि हामीभन्दा अघि र पछि लाइनमा बसेकाहरू फटाफट चढे । यसमा चढ्न भने निकै दौडधुप भयो । एउटा माइक्रो आउँदा अलि यताउता गर्दै सलबलाउँथे । जब माइक्रो अटाइनअटाई यात्रु लिएर आफ्नो गन्तव्यतर्फ छुट्थ्यो, फेरि लाइनले आकार लिइहाल्थ्यो ।


५ बजेर २५ मिनेटमा बा १ ज ८१८० नम्बरको माइक्रो आइपुग्यो । हामी अघि त बढ्यौं, तर अटेनौं । ढोकामा पुगेपछि माइक्रोका सहचालकले ढोका बन्द गरिदिए । हामीभन्दा अघिको लाइनमा दुई जना थिए, केहीबेरमा एक वृद्ध र वृद्धा पनि लाइन नबसी अघि आए । एक युवा छेउमा आएर भन्न थाले, ‘अब त यसरी लाइन बस्नुपर्ने दिन पनि धेरै छैन । अस्ति चीनको राष्ट्रपति आएर पैसा दिइसक्यो । अब बाटो फराकिलो भएपछि यसरी लाइन बस्नुपर्दैन । टक्क आउनेबित्तिकै गाडी पाइन्छ ।’


काठमाडौंमा गाडी अभाव हुने सबै ठाउँमा चीनले रकम दिएर यात्रा सहज बनाउन लागेको गफ सुन्नेचाहिँ हामीसहित अरू चार जना थिए ।


सहकर्मी फोटोपत्रकार कविन अधिकारी गाडीमा चढ्दा हुने भीडभाड र लाइनको फोटो खिचिरहेका थिए । यात्रुहरू भन्दै थिए, ‘आज फोटो पत्रकार पनि हामीले गाडी चढ्दाको पीडा खिच्न आएछन् । जति खिचे पनि हुने केही होइन ।’


गाडी चढ्न लाइन बस्दा लाग्थ्यो, हामी कुनै मेला वा मन्दिरमा छिर्न लागिरहेका छौं । हामीभन्दा अघि सूर्यदर्शन हाइटसम्म पुग्ने युवती भेटिइन् । लाइन बसेको १५ मिनेटसम्म पनि माइक्रोबस नआएपछि हामीले उनलाई सोध्यौं, ‘कति समयसम्म कुर्नुपर्छ ?’

‘यसअघि त दुई घन्टासम्म कुरेका थियौं ।’


लाइन बसेको २० मिनेमा बा १ ज ८३५० नम्बरको माइक्रो आइपुग्यो । यसमा चाहिँ हाम्रो पालो आउने पक्का थियो, किनभने हामी अगाडि नै थियौं । हामी चढ्ने बेला पछाडि लाइनमा बस्ने १ सय ३४ जना थिए ।


अघिल्लो लहरको सिटमा दुई जना वृद्धवृद्धा बसेपछि हामी दोस्रो लहरको सिटमा बस्यौं । हरियो ज्याकेट लगाएका सहचालक भन्दै थिए, ‘तीन/तीन जना बसौं है ।’ हामी बसेको सिटमा अर्का एक पुरुष पनि थपिए । अन्तिम सिटमा चार जना थिए । ढोकादेखि अन्तिम सिटसँग जोडिएको लामो सिटमा चार जना, चालक पछाडिको पछिल्तिर फर्केको सिटमा चार जना बसे । अगाडि चालकसँगैको सिटमा भने दुई जनामात्रै थिए । उभिनेको संख्या नौ थियो ।


१२ सिट क्षमताको माइक्रोमा २३ जना बसेका थिए । उभिनेसहित ३२ जना यात्रु लिएर ५ बजेर ३७ मिनेटमा माइक्रोबस बानियाँटारतर्फ अघि बढ्यो ।


काठमाडौंका माइक्रोबसमा हुने कष्टपूर्ण यात्रा हाम्रो रिपोर्टिङको विषय थियो । यसका लागि सुरुमा छान्यौं, रत्नपार्क–बानियाँटार रुट ।


जब माइक्रो गुड्न थाल्यो, यात्रुहरू आफ्ना पीडा सुनाउन थाले । कोही च्यापियो भन्दै थिए त कोही खुट्टा कुल्चिएकोमा गुनासो गर्दै थिए । हामी बसेको सिटको छेउमा उभिनेमा महिलाहरू पनि थिए । उनीहरूलाई सिट छाड्न हामी उठ्ने अवस्थै थिएन । हाम्रो छेउमा बस्ने पुरुषको आडमा एउटी महिला बसेकी थिइन् । उभिएकी दुई महिलाको बच्चा हामीले राख्नेबाहेक सिट छाड्नै सकेनौं । हामी चढेको माइक्रोमा चाहिँ लाइन मिचेर चढ्ने पनि रहेछन् । यतिका यात्रु चढेपछि भित्र सास फेर्नै गाह्रो हुनेगरी उकुसमुकुस थियो । उभिने केही त खलखली पसिना निकालिरहेका थिए । एकले अर्कोलाई सम्झाउँदै भनिरहेका थिए, ‘यस्तै हो बानियाँटारको गाडीमा । सधैं ठेलमठेल ।’


उभिनेहरू बस्नेलाई सोधिरहेका थिए, ‘कहाँ आइपुग्यो ?’ कोही त भन्दै थिए, ‘बानियाँटार आइपुग्या हो ?’ किनकि उभिएका यात्रुले बाहिर देख्न सक्ने अवस्था थिएन । तर, साँझ झमक्कै परिसक्दा माइक्रो ठमेल नजिकमात्रै पुगेको थियो ।


गल्कोपाखामा सिटमा बसेका दुई जना झरे । सहचालकले थप तीन जना चढाए । उभिनेहरू चालकलाई भन्दै थिए, ‘अब त अति भयो, यतिका मान्छे भएर पनि नपुग्ने ?’


कपुरधारामा हाम्रो काखमा बसेकी बच्चाकी आमा झर्ने भइन् । उनी झरेपछि थप दुई जना चढे । यसरी गोंगबु चोकसम्म माइक्रोबाट झर्ने र चढाउने क्रम चलिरहृयो । यात्रु कोचाकोच भएपछि सहचालक भन्थे, ‘अलि भित्रभित्र सर्नुस् है ।’ गोंगबु चोकमा पाँच जना झरे, उत्ति नै चढे ।


रत्नपार्कबाट उभिएरै बानियाँटार पुलसम्म पुगेकी एक महिला भने कष्टले भगवान् पुकारिरहेकी थिइन्, ‘हे भगवान्, यस्तो सास्ती गरेर कहिलेसम्म माइक्रो चढ्ने होला ? उभिँदाउभिँदा ढाड र गर्दन दुखेर मर्नै लागिसक्यो ।’


पुलसम्म पुग्दा पनि यात्रुको संख्या २२ थियो । धनेश्वर चोकमा साँझ ६ बजेर २५ मिनेटमा पुग्दा बल्ल उभिने यात्रुले सिट पाए । माइक्रो अर्को स्टपतर्फ लाग्यो । हामी यही ओर्लेर फर्कने गाडीको पर्खाइमा लाग्यौं ।


साढे ६ बजेपछि बानियाँटारबाट रत्नपार्कसम्म गाडी नै नचल्ने रहेछ । हामी ओर्लेको दुई मिनेटमै बा १ ज ८२८१ नम्बरको माइक्रो आयो । तर, गोंगबु चोकसम्म मात्रै आउने थियो । गाडी खाली हुँदा चालकले बारम्बार दुखेसो पोख्दै भन्थे, ‘यसरी खाली गुडाएर घाटा पर्ने भयो ।’


पैदलयात्रुको भीडमा चर्को हर्न बजाउँदै अघि बढिरहृयो । भित्री बाटोको जाम छल्दै गाडी गोंगबु चोकमा त आइपुग्यौं तर त्यहाँबाट रत्नपार्क आउने गाडी पाउनै मुस्किल । गाडीको पर्खाइमा बस्ने उत्तिकै थिए । पहिलो गाडीमा हामी चढ्नै सकेनौं । दोस्रोमा बल्लतल्ल चढेर जमल आइपुग्दा ७ बजिसकेको थियो । हामी चढेको बा १ ज ८१२१ नम्बरको माइक्रोबसका चालकले बानियाँटारमा ३५ वटा माइक्रो भए पनि यात्रुले लाइन लागेर चढ्नुपरेको सुनाए ।


ती चालकका अनुसार बानियाँटार, टोखा, गोंगबुलगायतको रुटमा ९७ वटा माइक्रोबस चल्छन् । यी रुटमा चल्ने माइक्रोले दैनिक माइक्रोको समितिलाई ६ सय २० रुपैयाँ बुझाउनुपर्छ । यो समितिले न त आफूले राम्रो सेवा दिन सकेको छ न त अरुलाई प्रवेश दिन्छ । यो रुटमा नयाँ व्यवसायी प्रवेश गर्नुपर्‍यो भने रुटको मात्रै न्यूनतम पाँच लाख रुपैयाँ तिनुपर्छ ।


ती चालकको यी कुरा सुनेपछि हामी जमलबाट हिँड्दै रत्नपार्क (जहाँ हामी लाइन लागेका थियौं) आइपुग्यौं । हामी चढ्दाको जस्तो लाइन बस्ने कोही थिएनन् । बानियाँटार जाने तीन जना महिला उभिइरहेका थिए । दुई घन्टाअघिको जस्तो माइक्रो कुर्नेहरू थिएनन् । सडकबत्ती र गाडीको बत्तीले उज्यालो देखिन्थ्यो । पारिपट्टि फुटपाथमा कराएर सामान बिक्री गर्नेको आवाज भने चर्कै सुनिन्थ्यो ।

केहीबेरमा बा १ ज ८३५६ नम्बरको माइक्रो आइपुग्यो । त्यो पनि गोंगबुसम्म मात्रै जाने रहेछ । माइक्रोका सहचालकले भने, ‘गोंगबुसम्म जाने भए आउनुस् । त्यहाँबाट त तेल लगाएर घर जाने हो ।’


बेखबर विभाग

बानियाँटार जान सर्वसाधारण लाइनमा बसेर माइक्रोबस चढ्न बाध्य छन् । तर यसबारे यातायात व्यवस्था विभागलाई कुनै जानकारी छैन । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘हामीलाई कुनै जानकारी छैन, तपाईंले भनेपछि थाहा पायौं । यसबारेमा हामी बुझ्नेछौं ।’


विभागका महानिर्देशकले जानकारी नभएको बताए पनि ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले लाइन सिस्टम दुई वर्षदेखि सञ्चलनमा रहेको जानकारी दिए । ‘तपाईं पहिलोचोटि पर्नुभएछ, यस्तो चलेको दुई वर्ष भइसक्यो ।’


बिहान र दिउँसो गाडी चढ्न लाइन बस्नु नपरे पनि साझँमा लाइन नबसी गाडी धरै छैन । गाडी चढ्नेको भीड, ठेलमठेल, पहिला आए पनि अशक्त र वृद्धवृद्धाले गाडी चढ्न नसक्ने भएपछि लाइन सिस्टम लागू गरिएको प्रवक्ता पौडेलले बताए । ‘अन्य स्थानमा पनि लाइन सिस्टम राख्न खोजिएको हो । तर साँघुरो ठाउँ हुने भएकाले कार्यान्वयन हुन सकिरहेको छैन,’ उनले भने । रत्नपार्कमा लाइन सिस्टम सुरु भएपछि अहिलेसम्म सर्वसाधारणले गुनासो नगरेको उनको भनाइ छ ।


साँझमा गाडीको समस्या हुने र निर्धारित गन्तव्यसम्म नजाने गरेको यात्रुको गुनासो सुनाउँदा प्रवक्ता पौडेलले भने, ‘यातायात व्यवसायीले कति बजेसम्म गाडी चलाउनका लागि रुट परमिट लिएका छन्, सोहीअनुसार चालकले गाडी चलाउँछन् ।’


देश संघीय व्यवस्थामा प्रवेश गरिसके पनि यातायात व्यवस्था विभाग तथा यातायात व्यवस्था कार्यालयको जिम्मेवारी नछुट्याउँदा त्यसको असर यात्रुहरूसम्म पुगेको छ । सवारीसाधनसँग सम्बन्धित काम गर्ने यातायात व्यवस्था विभाग यात्रुहरूको समस्यामा अनभिज्ञ छ । विभागले अहिले लाइसेन्स छापिदिनेबाहेक अन्य केही काम नगर्ने विभागका सूचना अधिकृत तीर्थराज खनालले बताए ।


‘विभागले देशभरकै सवारीसाधन व्यवस्थापन गर्न नयाँ यातायात व्यवस्था ऐन तर्जुमा गर्दर् ैछ,’ उनले भने, ‘यसबाहेक पुराना ऐनअनुसार सर्वसाधारणको प्रश्नको जवाफ दिने काम मात्र छ ।’


विभागको केही काम नभएकाले खारेज गर्दा नै राम्रो हुने उनले बताए । नेपाल सरकारको सार्वजनिक सवारीसाधन नभएकाले निजी क्षेत्रबाटै सञ्चालन हुने गरेको उनको भनाइ छ ।


यदि सवारीसाधन सञ्चालन हुने रुटमा जाँदा यात्रु पाइने र आउँदा खाली आउनुपरेको खण्डमा कम्पनीले सवारी नचलाउन सकिने साना–ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका निमित्त प्रमुख मधुकुमार काररन्जितले बताए । ‘संघ तथा प्रदेशबाट पठाइएको नीतिनियम मात्र कार्यालयले कार्यान्वयन गर्छ,’ उनले भने, ‘उपत्यकाको सार्वजनिक सवारीसाधन व्यवस्थापन गर्न छुट्टै कार्यक्रम तथा नियम बनाउँदैन ।’ रुट परमिट दिँदा चौबिसै घन्टा सवारीसाधन चलाउनु भनी दिइने गरेको उनले बताए ।


चढ्नेबित्तिकै १५ रुपैयाँ

सरकारले एक वर्षअघि काठमाडौं, भक्तपुर र ललितपुरमा न्यूनतम भाडादर १४ रुपैयाँ निर्धारण गरे पनि यातायात व्यवसायीले १५ रुपैयाँ लिइरहेका छन् । यातायात व्यवस्था विभागले ०७५ असोज ७ मा चार किलोमिटरसम्म यात्रा गर्दा १४ रुपैयाँ भाडा निर्धारण गरेको थियो । तर, व्यवसायीले सर्वसाधारणसँग एक रुपैयाँ बढी लिएर ठगी गरिरहेका छन् ।


काठमाडौं उपत्यकामा एउटा माइक्रोमा कम्तीमा २५ जनाले यात्रा गर्छन् । त्यही रुटमा फर्कंदा अरू २५ जनाले थप यात्रा गर्छन् । यसरी एउटा माइक्रोले आठपटक ओहोरदोहोर गर्दा दिनमा दुई सय जनाभन्दा बढी यात्रु बोक्छन् । माइक्रो मात्रै होइन अन्य सार्वजनिक यातायातले पनि यसरी नै न्यूनतम १४ रुपैयाँको सट्टा १५ रुपैयाँ लिने गरेको पाइएको छ ।


प्राध्यापक सूर्यराज आचार्यले केही वर्षअघि गरेको अध्ययनअनुसार काठमाडौं उपत्यकामा दैनिक १२ लाख जनाले यात्रा गर्छन् । व्यवसायीले सरकारले तोकेभन्दा बढी भाडा असुल गरिरहेको अध्ययनले देखाएको छ । एकजना यात्रुबाट दैनिक औसतमा तोकिएको दरभन्दा चार रूपैयाँ बढी भाडा असुल्ने गरेको पाइएको उक्त अध्ययनले बताउँछ ।


अध्ययन भन्छ, ‘यातायात व्यवसायीले काठमाडौं उपत्यकाबाट मात्रै दैनिक १२ लाख यात्रुबाट ४८ लाख रुपैयाँभन्दा बढी ठगी गरिरहेका छन् ।’ यसका आधारमा एक वर्षमा १ अर्ब ७२ करोड ८० लाख रुपैयाँ व्यवयासीले ठगी गरे पनि सरकारले अनुगमनसमेत गर्न सकेको छैन । ‘यातायात क्षेत्रमा त खुलेआम ठगी भइरहेको छ,’ कानुन व्यवसायी एवं उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘तोकिएभन्दा बढी भाडा उठाउँदा पनि कारबाहीको भागीदार बनाइँदैन ।


सार्वजनिक यातायातको व्यवस्थापन सहज बन्न नसक्दा सर्वसाधारण सधैंजसो कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । ‘पैसा तिरेर पनि सहज यात्रा गर्न पाइँदैन । कोचिएर यात्रा गर्दा बस/माइक्रोका चालक र सहचालकको दुर्व्यवहार सहनुपर्छ,’ बानेश्वरबाट महाराजगन्जसम्म दैनिक नेपाल यातायात चढ्ने सुस्मिता बस्नेतले भनिन्, ‘भाडामा उस्तै किचकिच हुन्छ ।’


उपत्यकामा साँझ ८ बजेपछि सवारीसाधन नपाएपछि ट्याक्सीमा महँगो भाडा तिर्नुपर्ने अर्को बाध्यता छ । कतिपय सहचालकले त विद्यार्थी कार्ड देखाउँदा पनि दुर्व्यवहार गर्ने गरेका छन् । ‘बिहान र बेलुका त कार्ड देखाउन पनि डर लाग्छ,’ त्रिचन्द्र क्याम्पसमा अध्ययनरत नवराज आचार्यले भने, ‘भाडा छुट माग्दा झर्किने र कार्डै फ्याँकिदिने गर्छन् ।’


'छैन कार्ड छुट’

सूर्यविनायक–६ नयाँबस्तीकी रिता श्रेष्ठ खिचापोखरीमा फेन्सी पसल चलाउँछिन् । रत्नराज्य क्याम्पसमा अध्ययनरत श्रेष्ठ कलेजबाट पसल पुग्छिन् । पसल बन्द गरेर घर फर्किंदा दिनहुँ साँझको साढे ७ बज्छ । पुरानो बसपार्कबाट बस चढेकी उनलाई सूर्यविनायक पुग्न झन्डै एक घन्टा लाग्छ । बसपार्कबाटै बस चढ्ने उनले सिट त पाउँछिन् तर, विद्यार्थीले पाउने भाडा छुट भने कहिल्यै पाउँदिनन् । ‘८ बजेपछि चालक, सहचालकले भाडामा छुट दिँदैनन्,’ उनले भनिन्, ‘भाडाको विषयमा विवाद गर्नै छोडिसकेँ, एक दिन होइन दुई दिन होइन, कति झगडा गर्नु ।’


साँझ सार्वजनिक बसमा यात्रा गर्ने अधिकांश विद्यार्थी र ज्येष्ठ नागरिकले समेत भाडामा छुट पाउँदैनन् । बसका कर्मचारीले आफूखुसी निर्णय गर्दै छुट दिँदैनन् । सहचालकले बस चढ्नुअघि नै ‘कार्ड छुट छैन’ भन्दै यात्रु कोच्छन् । ‘चालक/सहचालकको मनपरी छ, ८ बजेपछि छुट पाउन त नसोचे हुन्छ,’ अर्का यात्रु रविन कुम्पाखले भने ।



‘दिउँसो खाली चलाउनुपर्छ’- सानुकाजी प्रजापती, अध्यक्ष, सामाखुसी यातायात


बानियाँटार, मनमैजु, म्हेपी, टोखा, सहेन्सामा हाम्रो कम्पनीको गाडीबाट सेवा दिइरहेका छौं । हामीसँग १ सय ३५ गाडी आबद्ध छन् । बानियाँटारमा मात्रै २८ वटा गाडी चल्छन् । अफिस समयमा यात्रु बढी भए पनि दिउँसो खाली गाडी गुडाउनुपर्छ । अब यो रुटमा बस हाल्ने तयारी गरिरहेका छौं ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?