स्वीकृतिबिनै जग्गा प्लटिङ : कारबाहीमा जनप्रतिनिधिको मौनता

जग्गा व्यवसायीले सडकको पर्खाल नै भत्किने गरी प्लटिङ गरेका छन्
लीला श्रेष्ठ

(भक्तपुर) — भक्तपुरका चारवटै स्थानीय तहमा सार्वजनिक/पर्ति जग्गा अतिक्रमण गरी प्लटिङ भइरहे पनि सम्बन्धितलाई कारबाही हुन सकेको छैन । स्थानीय तहको नेतृत्व लिएका जनप्रतिनिधिले मौन स्वीकृति दिएकाले जग्गा कारोबारीलाई प्लानिङ गर्न हौसला मिलेको स्थानीयबासीको आरोप छ ।

दसैं बिदाको मौका छोपेर जग्गा व्यवसायीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा डोजर चलाएर जग्गा प्लटिङ गरेका छन् । भिरालो जग्गामा डोजर लगाएपछि स्थानीयबासीको सिँचाइको मुख्य स्रोत राजकुलोसमेत पुरिएको छ । जग्गा प्लटिङ गर्न वडा कार्यालयको सिफारिसमा नगरपालिका र नगर विकास प्राधिकरणबाट स्वीकृति लिनुपर्ने हुन्छ । ‘तर यहाँको जग्गा प्लानिङ गर्न डोजर चलाउन कसैले पनि स्वीकृति लिएको छैन,’ वडाध्यक्ष किरण थापाले भने, ‘रातारात डोजर चलाएर प्लानिङ गरिएको छ ।’

प्लटिङको स्वीकृति सिफारिस गर्नुअघि नगरपालिकाले बस्तीयोग्य हो/होइन अध्ययन गर्नुपर्ने नियम छ । खेतीयोग्य जग्गामा प्लटिङको सिफारिस गर्न मिल्दैन । नगरपालिकाले बस्तीयोग्य जग्गाको यकिन गरेर सिफारिस गरेपछि मात्र नगर विकास प्राधिकरण कार्यालयले स्वीकृति दिने नीतिगत व्यवस्था छ ।

जग्गा व्यवसायीले नगरपालिका, नगर विकासलाई बेवास्ता गर्दै सार्वजनिक सम्पत्तिको अतिक्रमण गरी डोजर चलाएको स्थानीयवासी बताउँछन् । ‘सिँचाइको मुख्य स्रोत राजकुलो पुरिएको छ भने सार्वजनिक बाटो नै मासिने गरी प्लानिङ गर्न लागिएको छ,’ स्थानीय केशव बस्नेतले भने । अवैध प्लटिङको विषयमा वडा कार्यालयमा उजुरीसमेत परेको छ । सिपाडोलमा जस्तै चाँगुनारायण नगरपालिका–८ कालीओपीस्थित कमलविनायक–नगरकोट वैकल्पिक सडक नै मिचेर जग्गा प्लटिङ गरिएको छ । जग्गा व्यवसायीले सडकको पर्खाल नै भत्किने गरी प्लटिङ गरेका हुन् । उक्त स्थानमा जग्गा खरिद गर्ने ग्राहकले भवन बनाउन मिल्ने अवस्थासमेत छैन । ‘तीनतिरबाट सडकको मापदण्ड मिचेर भिरालोमा प्लटिङ गरिएको छ,’ स्थानीय ध्रुव केसीले भने, ‘सडकको मापदण्ड छोड्दा कुनै संरचना नै बन्दैन ।’

केन्द्रीय सरकार र नगरपालिकाले जग्गा प्लटिङ कार्यविधि तथा निर्देशिकासमेत बनाएका छन् । तर, अनुमतिबिना प्लटिङ गर्दासमेत नगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाएको छैन ।

‘स्थानीय जनप्रतिनिधिको आडमा भू–माफियाले सार्वजनिक जग्गा, सडक, राजकुलो, खोला मिचेर पर्खाल लगाउने, डोजर चलाउने काम गरेका छन्,’ चाँगुनारायण नगरपालिका–९ ताथलीका विमल थापाले भने, ‘कारबाहीको कुरै छाडौं उल्टै संरक्षण छ ।’ चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा मापदण्डविपरीतका प्लटिङ भइरहेको उनले बताए ।

सूर्यविनायक नगरपालिकाको जग्गा प्लटिङ कार्यविधि–२०७४ र चाँगुनारायण नगरको जग्गा विकास निर्देशिका–२०७४ अनुसार व्यवसायीले नगरपालिकाको कार्यविधिविपरीत स्वीकृति नै नलिई प्लटिङ गरका छन् । कार्यविधिअनुसार प्लटिङ गर्दा नक्साको आवेदन नगरपालिकामा दर्ता भएको मितिले सात दिनभित्र भवन इजाजत शाखाले स्थलगत सर्जमिन गरी सम्बन्धित सँधियार र रोहवरमा वडा कार्यालयका प्रतिनिधि तथा अन्य सात जनालाई राखी नगरपालिकामा पेस गर्नुपर्ने हुन्छ ।

जग्गा प्लटिङको नाममा व्यवसायीले मनोमानी ढंगले डोजर/एक्स्काभेटर चलाएको स्थानीयको गुनासो छ । ‘प्लटिङको नाममा व्यवसायीले स्थानीयको आँखामा छारो हाल्ने काम गरेका छन्,’ स्थानीय अरुणा श्रेष्ठले भनिन्, ‘सस्तोमा जग्गा किनेर महँगोमा बेच्नलाई ढिस्को ताछेर सम्याइएको छ ।’ जथाभावी ढिस्को ताछ्ने, सडक खन्ने गर्दा बस्ती भासिने जोखिम बढेको उनले बताइन् ।

नगरपालिकाले भने स्वीकृतिबिना प्राकृतिक संरचनाको ख्याल नगरी बनेको प्लानिङलाई मान्यता नदिने जनाएको छ । ‘अव्यवस्थित प्लटिङ क्षेत्रमा घर/बाटोको सिफारिस हुँदैन,’ सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले भने । अव्यवस्थित रूपमा स्वीकृति नै नलिई प्लानिङ भएको जग्गा खरिद नगर्न नगरपालिकाले आह्वान उनी बताउँछन् ।

मध्यपुर थिमि र भक्तपुर नगरपालिकाले जग्गा एकीकरण आयोजनाहरू सञ्चालन गरिरहेका छन् । काठमाडौं उपत्यका नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरका अनुसार २०७५ कात्तिकसम्म ३७ स्थानमा निजी प्लानिङले स्वीकृति लिएको तथ्यांक छ । एक वर्षयता कुनै कम्पनी तथा व्यक्तिले निजी प्लानिङको स्वीकृति नलिएको इन्जिनियर गणेश कोजुले बताए ।

प्रकाशित : कार्तिक ६, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काष्ठमण्डपमा पाँचौं शताब्दीको मेथ

दामोदर न्यौपाने

काठमाडौँ — काष्ठमण्डप पुनर्निर्माणका क्रममा पाँचौं शताब्दीको मेथ फेला परेको छ । काष्ठमण्डपका काठको ल्याब परीक्षणमा यस्तो तथ्य फेला परेको हो । यसअघि जग परीक्षण गर्दा सातौं शताब्दीको भएको पत्ता लागेको थियो । जगको परीक्षणअघि काष्ठमण्डपको इतिहास १२ औं शताब्दी मानिन्थ्यो । ‘अब सात सय वर्ष इतिहास सर्‍यो,’ काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्य भन्छन्, ‘परीक्षण गर्न थप केही नमुना पठाएका छौं । अझै नयाँ तथ्य पत्ता लाग्न सक्छन् ।’

पाँचौं शताब्दीको उक्त मेथ काष्ठमण्डपको माथिल्लो तलाको उत्तरतिरको थाममा प्रयोग भएको छ । मेथ भनेको निदाल र थामको बीचमा राखिने प्राचीन प्रविधि हो । काष्ठमण्डपका पुराना काठलाई कार्बन डेटिङका लागि बेलायतको स्टर्लिर्ङ विश्वविद्यालय पठाइएको थियो । ‘उक्त विधिबाट मूल थाममाथिको मेथ पाँचौं शताब्दीको भएको प्रमाणित भएको हो,’ शाक्य भन्छन्, ‘कष्ठमण्डपको भित्री जगको गारो सातौं शताब्दी र बाहिरी जग नवौं शताब्दीको भएको पत्ता लागेको थियो ।’ कार्बन डेटिङका लागि नमुना संकलन गर्न विश्वविद्यालयका प्राध्यापक इयान सिम्पसन टोलीसहित आएका थिए ।

जगको नमुना परीक्षण पनि सोही विश्वविद्यालयको प्रयोगशालामा भएको थियो । त्यही जग उत्खनन्पछि काष्ठमण्डपको प्राचीनता पत्ता लागेको थियो ।

२०७२ सालको भूकम्पपछि बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्त्व विभागले काष्ठमण्डपको जग अनुसन्धान गरेका थिए । त्यस क्रममा कोइला, जगको माटो र बालुवा परीक्षण गरिएको थियो । ‘त्यसका लागि ६/७ महिना लाग्यो,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘यो परीक्षणले हाम्रो इतिहास झन् प्राचीन रहेको तथ्य सार्वजनिक भयो ।’

कुँवरका अनुसार अँगार परीक्षण गर्दा काष्ठमण्डप बन्नु पहिला यो ठाउँमा मानव बस्ती रहेको पाइएको छ । ‘२२ सय वर्ष पुरानो अँगारका आधारमा त्यसबेला यहाँ खेती रहेको पाइयो,’ कुँवर भन्छन्, ‘पहिलाको इतिहास कथा, जनश्रुतिका आधारमा थियो, अहिले वैज्ञानिक रूपमा पुष्टि भयो ।’ उत्खनन् गरेर दुराहम विश्वविद्यालयले जग बलियो रहेको जनाएको थियो । ‘त्यही भएर हामीले जग चलाएनौं,’ काष्ठमण्डप पुनर्निर्माण समितिका सचिव गौतम डंगोल भन्छन् । वंशावलीअनुसार काष्ठमण्डप लक्ष्मीनरसिंह मल्लको पालामा बनेको हो । त्यसबेला विसेत नाम गरेका तान्त्रिकले गोरखनाथको कृपाबाट पाएको कल्पवृक्षबाट काष्ठमण्डप नामक सत्तल बनाएको र त्यसकै नामबाट काठमाडौं नाम रहन गएको उल्लेख छ । लक्ष्मीनरसिंह मल्ल सोह्रौं शताब्दीका राजा हुन् ।

इतिहासकार डा. महेशराज पन्तले भने ‘जनैपूर्णिमादेखि रानीपोखरीसम्म’ पुस्तकमा लक्ष्मीनरसिंहको पालाभन्दा अगाडि नै काष्ठमण्डप बनेको जनाएका छन् । हरिराम जोशीले निकालेको ‘रोलम्ब’ पत्रिकामा भने काष्ठमण्डप बाह्रौं शताब्दीमा बनेको उल्लेख छ । प्रज्ञा प्रतिष्ठानले २०४४ सालमा निकालेको ‘स्थानमान शब्दकोश’ ले भने काष्ठमण्डप निर्माणको समय ११ औं शताब्दी उल्लेख गरेको छ ।

यज्ञमानपति वज्राचार्यको २०६७ सालमा प्रकाशित ‘नेपालका प्राचीन वज्राचार्य लीलावज्र’ पुस्तकमा भने काष्ठमण्डप सातौं शताब्दीमा लीलावज्रले बनाएको उल्लेख छ । नेपाल भाषा एकेडेमीका प्राज्ञसमेत रहेका वज्राचार्य भन्छन्, ‘हामीले सातौं शताब्दीमा बनेको भन्दै आएका थियौं । विज्ञानले पनि यही पुष्टि गर्‍यो ।’

काष्ठमण्डपको मुख्य टेको थाम हो । चारवटा थाम उठाएर यसको निर्माण भएको छ । थामको चुकुल ढुंगामा खोपिएको प्वालमा छिराएर अड्याइन्छ । ‘जीर्णोद्धार गर्दा एउटा थामको चुकुल ढुंगामा अड्याइएको रहेनछ, त्यही त्रुटिले जगैदेखि भत्कियो,’ योजनाकार तथा वास्तुविद् काई वाइजे भन्छन्, ‘किन भत्कियो भनेर हामीले अध्ययन नै गरेका छैनौं । जीर्णोद्वार गर्दा कतै आधुनिक सामग्री प्रयोग गरियो । त्यही भएर पनि भत्कियो ।’

१९९० सालको भूकम्पमा समेत नभत्किएको काष्ठमण्डपको २०२७ सालतिर पनि जीर्णोद्धार गरिएको थियो । लामो समय रोकिएको काष्ठमण्डप निर्माणको काम उपभोक्ता समितिमार्फत् अघि बढेको छ । समितिका अनुसार काठमाडौं महानगरबाट ५ करोड ५० लाख रुपैयाँ निकासा भएको छ । त्यसमध्ये २ करोड २३ लाख १९ हजार रुपैयाँ खर्च भएको समितिका सचिव गौतम डंगोलले जानकारी दिए । काष्ठमण्डप माटोको जडानबाट निर्माण भइरहेको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT