कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पशुपति क्षेत्रको विनाशप्रति युनेस्को मिसनको चासो

दामोदर न्यौपाने

काठमाडौँ — राष्ट्रसंघीय निकाय युनेस्कोको ‘मनिटरिङ मिसन’ ले पशुपति क्षेत्रमा भएका गैरकानुनी संरचना निर्माण र सांस्कृतिक सम्पदामा पुगेको क्षतिप्रति चासो राखेको छ । मिसन टोली उपत्यकाका सातवटै विश्व सम्पदाको अध्ययन गर्न काठमाडौं आएको छ । सबैभन्दा बढी पशुपतिमा क्षति पुगेको भन्दै टोलीका सदस्यले त्यहाँको विनाश रोक्न ध्यानाकर्षण गराए । 

पशुपति क्षेत्रको विनाशप्रति युनेस्को मिसनको चासो

‘काठमाडौं भ्याली एउटा क्षेत्र मानेर युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको हो । सातवटै सम्पदा अलग–अलग सूचीकृत भएका होइनन् । एक विश्व सम्पदा क्षेत्रको सातवटा अलग–अलग घटक मात्र हुन्,’ मिसनको नेतृत्व गरेका ग्यामिनीले भने, ‘एउटा मात्र सम्पदामा असर पुग्यो भने उपत्काका पूरै विश्व सम्पदामा असर पर्न सक्छ । एउटा सम्पदा विश्व सूचीबाट हट्यो भने सातैवटा सम्पदा हट्छ । यसतिर ध्यान दिन आग्रह गर्छु ।’ उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्व सम्पदा सूचीमा छन् ।


टोलीमै रहेकी केटरिनले पशुपतिमा प्राचीन बस्ती उठाएको, सांस्कृतिक मार्ग थुनिएको र फलामको घेरा लगाएर प्राचीनता मासिएको पाइएको बताइन् । उनले पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको गुरुयोजनामा प्राचीन मार्गलाई ध्यान दिन पनि सुझाइन् ।


शनिबार पशुपति क्षेत्रको निरीक्षणमा आएको मिसन टोलीले कोषसँग गुरुयोजनाबारे जानकारी मागेको थियो । तर, सोमबार पुरातत्त्व विभागमा भएको छलफलमा कोषका इन्जिनियर केदार थपलिया गुरुयोजनाको जानकारीबिनै प्रस्तुत भए । सूचना उपलब्ध नगराएको भन्दै पुरातत्त्व विभागका विश्व सम्पदा शाखा प्रमुख सुरेश सुरज श्रेष्ठले आपत्ति जनाएका थिए । त्यससछि भने थपलियाले पशुपति क्षेत्रबारे सामान्य जानकारी दिएका थिए ।

ॅप्राचीन बस्ती हटाएकोमा चित्त दुख्यो’


टोली सदस्य कटरिनले यहाँको प्राचीन बस्ती हटाएकोमा आफूलाई चित्त दुखेको बताइन् । पशुपति क्षेत्रमा खुला ठाउँ बनाउने भन्दै २०५८ सालमा अधिग्रहण गरी यहाँका केही प्राचीन बस्ती हटाइएको थियो । कांग्रेस नेता बलबहादुर केसी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छँदा वनकाली क्षेत्रको ९० र तिलगंगा क्षेत्रको ५८ घर भत्काइएका थिए । त्यतिबेला कोषका सदस्यसचिव वसन्त चौधरी थिए ।


‘संकटकाल लागेको बेलामा अधिग्रहण गरियो । हामीले आवाज उठाउन पनि पाएनौं,’ पशुपतिनाथका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘घरमात्रै होइन डबली, चोक र शक्तिपीठ पनि विस्थापित भए, मूर्ति चोरिए,’ उनी भन्छन्, ‘बाजा बजाउनेहरू पनि गए, अन्त गएपछि यहाँ आइराख्न समस्या हुँदो रहेछ ।’


पशुपति क्षेत्रका नौ बस्तीमध्येको इतापाखा हुँदै कोषसँगै रहेको वेद विद्याश्रम मावि जाने बाटो थियो । त्यहाँ पस्ने थोत्रो ढोका अहिले पनि देखिन्छ । तर दुई वर्षअघि बनेको पर्खालले ढोकाबाट छिर्ने बाटो बन्द गरियो । उक्त ढोकाभन्दा दक्षिणतिर अर्को बाटो थियो, जहाँबाट पशुपति क्षेत्रका मुख्य जात्रा चलाइन्छ । कोषको भवनभन्दा पूर्वतिर लगाइएको पर्खालले यो बाटो पनि बन्द भएको छ । ‘देशोद्धार पूजा गर्दा त्यही बाटो प्रयोग हुन्छ, यहीँ अवरोध गरिएको छ,’ भण्डारी गुनासो गर्छन्, ‘बाटोमा कोषको कार्यालयका ढोका छन् । ढोका वर्षमा एकपटक खोलिदिन्छन् । ढोका खोले पनि बाटो गतिलो हुँदैन । कतै झाडी भएको हुन्छ, कतै चिप्लो । कतै त रेखांकन नै मेटिएको हुन्छ ।’


मिसन टोलीलाई भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले भक्तपुरमा निर्माण भइरहेको सम्पदाका बारे जानकारी गराएकी थिइन् । सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारीले विश्व सम्पदा क्षेत्रमा भइरहेका गैरकानुनी निर्माणबारे प्रतिवेदन तयार पारेर टोलीलाई हस्तान्तरण गरे । काठमाडौं भ्याली पिजर्भेसन ट्रस्टका रोहित रञ्जितले ललितपुरमा आफ्नो संस्थाले गरेका कामबारे जानकारी दिए ।


पुरातत्त्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले क्षति भएका सम्पदामध्ये ४० प्रतिशत काम सकिएको बताउँदै भने, ‘आउँदो वर्ष थप ४० प्रतिशत काम सम्पन्न हुनेछ । दुई वर्षभित्रका सबै सम्पदा सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।’


युनेस्कोको ‘मनिटरिङ मिसन’ मा दुई जना विज्ञ सहभागी छन् । २०७२ सालको भूकम्पयता यहाँका सम्पदाको अध्ययन गर्न दुईपटक यस्तो मिसन आइसकेको छ । सन् २०१५ मा जर्मनीको बोनमा बसेको विश्व सम्पदा कमिटीको बैठकबाट नै उपत्यकाका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न ‘ड्राफ्ट डिजाइन’ हुँदै आएको थियो । त्यसयताका प्रत्येक ‘सेसन’ मा उपत्यकाका विश्व सम्पदलाई खतराको सूचीमा राख्ने प्रस्ताव हुँदै आएको आएको छ ।


‘हामीले यहाँ जे देख्यौं, त्यो विश्व सम्पदा केन्द्रमा बुझाउँछौं,’ ग्यामिनले भने, ‘खतराको सूचीमा राख्ने वा के गर्ने भन्ने प्रस्ताव विश्व सम्पदा समितिले गर्छ ।’ उनी भूकम्प गएको वर्ष मिसन टोलीमा सहभागी भई नेपाल आएका थिए । त्यसबेलाको भन्दा काममा धेरै सुधार आएको आफूले पाएको उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?