सार्न मिल्ने पुल बनाउँदै महानगर

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले माइतीघर, चाबहिल र जय बागेश्वरीमा स्थानान्तरण गर्न मिल्ने खालका आकाशेपुल (ट्रस ब्रिज) निर्माण गर्ने भएको छ । पैदलयात्रुको अत्यधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न अर्को स्थानमा सार्न मिल्ने खालका पुल निर्माण कार्य सुरु गरिएको हो । चाबहिल र जय बागेश्वरीको पुल निर्माणका लागि समेत टेन्डर आह्वान गरिसकेको महानगरको सहरी पूर्वाधार विकास विभागका प्रमुख डा. उत्तरकुमार रेग्मीले बताए । 

माइतीघरस्थित पुरातत्त्व विभागअगाडि पुल बनाउन कोसी बिल्डर्सले भदौमा खाडल खनेको थियो । पीसीसी ढलान गरिए पनि चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण हुँदा उक्त ढलान पुरियो । कम्पनीले अहिले फेरि खन्ने काम सुरू गरिसकेको छ ।


गत वर्ष महानगरले माइतीघर, चाबहिल, त्रिपुरेश्वर, टेकु भन्सार, कालीमाटी, थापाथली, गौशाला, बानेश्वर चोक, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगन्ज, कोटेश्वरलगायत) स्थानमा आकाशेपुल निर्माण गर्ने भन्दै १२ करोड रुपैयाँ छुट्याएको थियो । गत वर्ष नै तीन आकाशेपुल निर्माण गरिसक्ने योजनासमेत थियो । तर, महानगरले माइतीघरमा निर्माण हुने पुलको मात्र सम्झौता गर्‍यो । स्थान छनोट तथा प्राविधिक कारण पुल निर्माणमा ढिलाइ भएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।


अब बन्ने पुलहरू रत्नपार्क–नेपाल विद्युत् प्राधिकरणअगाडिका जस्तै बन्नेछन् । पहिलोपटक परीक्षणका रूपमा बनाइएका ती पुलको फाउन्डेसनसहित पिलर पनि ‘आरसीसी’ छ । तर अब बन्ने पुलको फाउन्डेसन मात्रै आरसीसी पिलरको हुनेछ । जमिनमाथिको भागका सबै संरचना फलाम तथा स्टिलको हुनेछन् । त्यसो हुँदा सडकमा भौतिक संरचना निर्माण गर्नुपर्ने भएमा सजिलै हटाउन सकिने तथा आवश्यकता भएका स्थानमा सारेर लैजान पनि सकिन्छ । कम्पनीले असारमा भ्याटसहित ६८ लाख ७ हजार १ सय ५३ रुपैयाँमा सम्झौता गरेको महानगरको सहरी पूर्वाधार विकास विभागले जनाएको छ । कम्पनीले मंसिर मसान्तसम्म पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । महानगरका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार आकाशेपुल करिब १८ मिटर लम्बाइ र दुई मिटर चौडाइको हुनेछ । साँघुरा सडकपेटी, छेउछाउमा निजी घरहरू हुँदा चाहेको जति चौडाइमा पुल निर्माण गर्न नसक्ने उनी बताउँछन् ।

महानगरमा पुरानो बसपार्क, नयाँ बसपार्क, जमल, सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, भद्रकाली, रत्नपार्क–बागबजारमा आकाशेपुल सञ्चालनमा छन् । रत्नपार्कमा एउटा सब–वे छ । यसअघिका पुल निजी क्षेत्रले बनाएका थिए भने अहिले महानगरपालिका, सडक विभाग आफैंले निर्माण गर्दै छन् ।


वर्षामा काम, सुक्खामा आराम

सम्झौता भएको सात महिना बित्दा पनि व्यस्त क्षेत्र बानेश्वरको आकाशेपुल निर्माणले गति लिन सकेको छैन । डिभिजन सडक कार्यालय काठमाडौंले चैतमा नै प्राकृतिक पवन जेभी कम्पनीसँग निर्माण सम्झौता गरेको थियो । वैशाखमा नै काम सुरु गर्नुपर्ने भए पनि सम्बन्धित विभागले खानेपानीको पाइप, बिजुलीका तार नहटाइदिँदा असारबाट काम थालेको कम्पनीका अनुज श्रेष्ठले बताए ।


वर्षायाममा धमाधम काम भएको पुलको अहिले टन्टलापुर घाममा काम नहुँदा स्थानीय गुनासो पोख्छन् । ‘असारमा पैदलयात्री पसलको पेटी हुँदै हिँड्नुपर्‍यो । हिलो सबै पसलभित्र आयो,’ पसल सञ्चालक दीपेन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले टन्टलापुर घाममा काम नै गर्दैनन् ।’


डिभिजन कार्यालयका साइट इन्जिनियर सोम्या आनन्द भने काम भइरहेको दाबी गर्छिन् । पुलको फाउन्डेसनको काम सकिएपछि पायलिङ र फाउन्डेसनको टेस्ट गर्नुपर्छ । जसका लागि २८ दिन सबै काम रोक्नुपर्छ । टेस्ट रिपोर्ट आएलगत्तै काम सुरु हुनुपर्नेमा दसैंका कारण काम रोकेको उनले बताइन् । अहिले कम्पनीले पिलरको लागि खाडल खन्ने र डन्डी काट्ने काम गरिरहेको उनको भनाइ छ । पुलको पिलर पनि ढलान हुने भएकाले अझै दुई स्टेप ढलान गर्न बाँकी छ । ‘कतिपय कामहरू कारखानामा गरिन्छ,’ उनले भनिन्, ‘जसले गर्दा फिल्डमा काम भएको देखिँदैन, तर काम हुँदै नभएको भने होइन ।’


करिब दुई करोड चार लाखमा पुस मसान्तसम्म पुल निर्माण गरी कम्पनीले डिभिजन कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ । नयाँ बन्ने आकाशेपुल भने ढलानको नभई इस्पातको बन्नेछ ।

प्रकाशित : कार्तिक ५, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?