कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बालुवा–गिट्टीमा ठगी [उपभोक्ता ठग्ने काठमाडौंका डिपोका सूचीसहित]

- २३ जनालाई ठगी मुद्दामा अनुसन्धान
- काठमाडौंमा २३ कम्पनीका मिनी ट्रक नियन्त्रणमा
- भक्तपुरमा आलटाल
कान्तिपुर संवाददाता

काठमाडौँ — मिनी ट्रकको ढालाको उचाइ घटाएर डिपो सञ्चालकले उपभोक्ता ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मिनी ट्रकको सतहमा ५ इन्चका फलाम र काठको फ्रेम राखेर त्यहाँमाथि बालुवा, गिट्टी लोड गरी उपभोक्ता ठगी गरिरहेको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले बताए । 

बालुवा–गिट्टीमा ठगी [उपभोक्ता ठग्ने काठमाडौंका डिपोका सूचीसहित]

मापदण्डअनुसार मिनी ट्रकको सामान राख्ने ढालाको उचाइ १ दशमलब ६७ फिट (२० इन्च) हुन्छ । चौडाइ ६ फिट (७२ इन्च) र लम्बाइ १० फिट (१२० इन्च) निर्धारण गरिएको छ । यस्ता मिनी ट्रकमा एक सय क्युफिट निर्माण सामग्री अट्छन् । तर, उपत्यकाका बालुवा, गिट्टी डिपो सञ्चालकले मिनी ट्रकको भित्री भागमा कम निर्माण समाग्री अट्ने गरी फलामको पाता र काठ ओछ्याई स्वरूप नै बिगार्ने गरेको पाइएको हो ।


२० इन्च हुनुपर्नेमा उचाइ घटाएर कम निर्माण सामग्री लोड गरी ५ इन्चसम्म उचाइ घटाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । ५ इन्च फ्रेम राखेको मिनीट्रकमा ७० क्युफिट, ४ इन्च फलामको फ्रेम बनाएको १६ इन्चको ढालामा ७५ क्युफिट, १७ इन्चको ढालामा ८० क्युफिट निर्माण सामग्री मात्रै अट्ने गरेको डिपो सञ्चालकहरू बताउँछन् । एउटा ट्रकले ३० क्युफिट कम सामान बोक्दा उपभोक्ता ३ हजार रुपैयाँसम्म ठगिएको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।


एक सय क्युफिट सामान भन्दै ट्रकमा भरी देखिएपनि ५ इन्चको फलामको फ्रेम राखेपछि ७० क्युफिट मात्रै निर्माण सामग्री उपभोक्ताले पाउँछन् । उपभोक्ता हित संरक्षण मञ्चको उजुरीका आधारमा प्रहरीले यसरी स्वरूप बिगारेर उपभोक्ता ठग्न प्रयोग गरिएका काठमाडौंका २३ वटा कम्पनीको ट्रक, कारोबार गरेको बिल र अन्य कागजपत्र नियन्त्रणमा लिएको छ । भक्तपुर प्रहरीले पनि ढालाको स्वरूप बनाएर ठगी गर्ने ३४ वटा ट्रक नियन्त्रणमा लिएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यसरी ट्रकको स्वरूप बिगारी ठगी गर्नेमा बालुवा र रोडा डिपो संलग्न रहेका छन् ।


काठमाडौं जरङखुको खाँडादेवी निर्माण सामग्री सप्लायर्सका प्रकाश भण्डारीको बा ३ ख ४०६४ नम्बरको मिनी ट्रकको ढालामा ५ इन्च उचाइ भएको फलामको पाता ठोकेको पाइएको छ । त्यस्तै जरङखुकै भुमे निर्माण सप्लायर्सका श्यामबहादुर मगरले बा ४ ख ७१९१ नम्बरको मिनी ट्रकको ढालामा मिल्ने ५ इन्च उचाइ भएको फलामको फ्रेम राखेर उपभोक्तालाई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


जिल्ला अदालत काठमाडौंले आइतबार २३ जनालाई ठगी मुद्दामा अनुसन्धान गर्न ६ दिनको म्याद थप गरेको छ । भक्तपुर प्रहरीले पनि ३५ वटा ट्रक नियन्त्रणमा लिएको छ । तर, सञ्चालक भने पक्राउ पर्न सकेका छैनन् ।


काठमाडौंमा प्रहरीले यस्ता ट्रकको खोजी तीव्र बनाएपछि रातारात त्यस्ता ट्रकलाई पुरानै स्वरूपमा ल्याउन थालिएको छ । कतिपयले घर र ग्यारेजमा लुकाइराखेको जानकारी आएको प्रहरीको भनाइ छ । काठमाडौंबाट नियन्त्रणमा लिइएको बा ४ ख ९४३१ नम्बरको मिनी ट्रकमा ४ इन्च उचाइ भएको फलामको फ्रेम भेटिएको थियो । उक्त ट्रक वनस्थलीको कालीभैरव निर्माण सामग्री सप्लायर्सका बुद्धिराज थापामगरको हो । त्यस्तै बानियाँटारको धनेश्वर महादेव ढुवानी सेवाका सञ्चालक सन्तोक कुँवरका ट्रकहरू पनि नियन्त्रणमा छन् । ढालाको तल्लो भागमा वास्ताविक सहतभन्दा माथि फलाम गरिएका बा ५ ख ४०३६, बा २ ख ७६१७ र बा २ ख २६५७ नम्बरको मिनीट्रक नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘कसरी ठगी भइरहेको छ भन्ने ट्रकको ढाला हेर्ने बित्तिकै थाहा भइहाल्छ,’ महाशाखा प्रमुख थापाले भने, ‘कसलाई कति ठगी गरे भन्नेबारे छानबिन भइरहेको छ ।’


प्रहरीले उपत्यकाका बालुवा डिपोमा छापा मार्दा गुण्डा नाइके बागे भनिने सुकबहादुर लामालाई समेत नियन्त्रणमा लिएको छ । ठूलो भर्‍याङको जेबीएस सप्लायर्स उनैले सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ । उनको डिपोको बा २ ख ४३८५, बा २ ख ३८९३ समेत तीन मिनी ट्रकमा ३ इन्च उचाइ भएको फलामको फ्रेम राखेको पाइएको थियो । महाशाखाले घर निर्माण गर्दा ठगिएका सर्वसाधरणलाई उजुरी दिनसमेत आग्रह गरेको छ । पहिलो चरणमा ढालामा फलाम, काठको फ्रेम र ढलान नै गरेर कम सामान दिएर ठग्ने बालुवा, गिट्टीका डिपो सञ्चालकमाथि छानबिन गरेजस्तै दोस्रो चरणमा ढाला काटेर कम सामान दिने सञ्चालक र गाडीमाथि कारबाही गर्ने थापाले बताए ।


भक्तपुरमा आलटाल

काठमाडौंमा नियन्त्रणमा लिइएका ट्रक सञ्चालकलाई ठगी मुद्दाको प्रक्रिया अघि बढाइए पनि भक्तपुरमा भने आलटाल भइरहेको छ । शनिबार सडक र डिपोबाट चालक र ट्रक नियन्त्रणमा लिइएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख सविन प्रधानले चालकलाई छाडेर ३४ वटा ट्रक नियन्त्रणमा रहेको बताए । ‘ट्रकको बोक्ने क्षमता कति हो भनेर ट्रक बिक्री गर्ने कम्पनीलाई सोधेका छौं । यातायात र नापतौल तथा गुणस्तर विभागसँग समेत जानकारी लिएर ठगीको मुद्दाको प्रक्रिया अघि बढाउँछौ,’ उनले भने ।

प्रकाशित : कार्तिक ५, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?