नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई सोमबार बिहान पक्राउ गरेको हो । 

घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेकाबखत उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश सिंहले जानकारी दिए ।


पक्राउ परेकाहरूबाट प्रहरीले १ हजार दरका ३४ थान नक्कली नोट बरामद गर्नाका साथै नोट छाप्न प्रयोग हुने फोटोकपी मेशिन एक थान, सिपियु एक थान, मनिटर एक थान, क्यामरा एक थान, कैँची चार थान, गम चार थान, ठूलो साइजको कागज १४२ थान र सानो साइजको कागज १ सय ४९ थान बरामद गरेको थियो । पक्राउ परेका व्यक्तिले उक्त उपकरणबाट हालसम्म कति नक्कली नोट छापे भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?