कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

फूल टिप्न व्यस्त

कान्तिपुर संवाददाता

भक्तपुर — तिहार आउन अझै साता दिन बाँकी छ । तर, मखमली फूल खेती गरेकाहरूले माला गाँसेर बिक्री गर्न थालिसकेका छन् । ताथली बालाटोलकी सन्तमाया बाला अचेल मखमली फूल टिप्न र माला गाँस्नमा व्यस्त छिन् । तिहारमा नभई नहुने मखमली फूल टिप्न र गाँस्न यतिखेर ताथली, गुण्डुलगायत क्षेत्रका कृषक सन्तमाया जस्तै व्यस्त छन् । 

फूल टिप्न व्यस्त

मखमली फूलका लागि सूर्यविनायक नगरपालिका गुण्डु र चाँगुनारायण नगरपालिका ताथली प्रसिद्ध छ । केही वर्षयता यस क्षेत्रका कृषकको मुख्य आयस्रोत मखमली फूलखेती बनेको कृषकहरू बताउँछन् । ‘मखमली फूलखेतीले आत्मनिर्भर बनाएको छ,’ सन्तमायाले भनिन्, ‘दसैं–तिहारका लागि अन्यत्र खर्च खोज्नु पर्दैन, चाडपर्व मनाएर पनि बचत निकाल्न सकिन्छ ।’ मखमली फूलखेतीसँगै अन्यजातका फूल, फूलबारीमै भटमास, मकै लगाएको उनी बताउँछिन् ।


तिहारमा दिदीबहिनीले दाजुभाइलाई कहिल्यै नओइलाउने मखमली फूलको माला लगाएर आशीर्वाद दिने चलन छ । सोही प्रचलनअनुसार मखमली फूलको मालाको माग बढ्दो छ । ‘मखमली फूलको माला खोज्न साउनदेखि नै आइसके,’ ताथलीकी सरिता बालाले भनिन्, ‘मखमली फूलको विकल्पमा सयपत्री लगायत अन्य फूलको माला लगाइदिने चलन पनि छ तर, मखमली फूललाई विशेष मानिन्छ ।’ चैत/वैशाखमा ब्याड राख्ने, जेठमा रोप्ने मखमली फूल असारको अन्त्यबाटै टिपेर माला गाँसी झुन्ड्याएर राख्ने गरेको उनी बताउँछिन् ।


प्रत्येक वर्ष यस भेगका महिलाहरूले मखमली फूलबाट ५० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । ‘विशेषगरी पुरुषहरू अन्य काममा व्यस्त हुन्छन्, फूलखेतीको मुख्य श्रेय महिलाहरू नै हुन्,’ स्थानीय दिलमाया बालाले भनिन्, ‘बालबच्चा हुर्काउँदै पारिवारिक जिम्मेवारीसँगै महिलाहरूले मखमली फूलखेती गरेर आत्मनिर्भर बन्दै छ ।’


घरमा बसीबसी माला गाँस्छौं, फूल गाँस्न अन्य क्षेत्रका मानिस पनि आउँछन् । ‘प्रतिमाला गाँसेको पाँच रुपैयाँ ज्याला पाउँछ,’ उनले भनिन् । एक रोपनी जग्गामा लगाएको मखमली फूलको करिब ६ हजार माला बन्नेसमेत उनले बताइन् । प्रतिमाला २० देखि २५ रुपैयाँका दरले बिक्री गर्दै आएको समेत उनीहरू बताउँछन् । गुण्डु र ताथलीका महिलाहरूले वर्षमा दुईदेखि सात हजार माला बेच्दै आएको जनाएका छन् ।


विशेषगरी तिहारका लागि मात्र प्रयोग हुँदै आएको मखमली फूल छठपर्वका लागि समेत माग हुँदै आएको कृषकहरू बताउँछन् । भक्तपुरको मखमली फूलको माग स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै छ । ‘प्रत्येक वर्ष तिहारका लागि जापान, क्यानडा, अस्ट्रेलिया, अमेरिकालगायत देशहरूमा भक्तपुरको माला पुग्ने गरेको छ,’ कृषक रामकाजी वनमालाले भने, ‘तिहारका लागि विदेशमा बस्ने नेपालीहरूले मखमली फूल माग गर्छन् ।’


मखमली फूलमा लागेको मिहिनेतको तुलनामा आम्दानी भने सोचेजस्तो उत्साहजनक नभएको कृषकको गुनासो छ । ‘मखमली फूलको बिरुवा जोगाउनै मुस्किल पर्छ,’ चन्द्रकेशरी वनमालाले भनिन्, ‘जरा कुहिने, डढुवा रोग लाग्ने र औषधि तथा भिटामिनको प्रयोग अत्यधिक गर्नुपर्छ । फूलखेती गर्न अत्यधिक मिहिनेत चाहिन्छ, फूलखेतीको प्रोत्साहन गर्न कुनै निकाय तयार छैनन् ।’ खटिएअनुसारको बजार भाउसमेत नपाएको कृषकको गुनासो छ । ‘कृषकले दिएको दोब्बर भाउमा बाहिर बिक्री भइरहेको हुन्छ,’ उनले भनिन्, ‘कृषकले भन्दा बिचौलियाले दोब्बर आम्दानी गर्छ ।’ प्रत्येक वर्ष गुण्डु र ताथलीका करिब ७ सय महिलाले करिब ३ करोड रुपैयाँभन्दा बढीको मखमली फूल बिक्री गर्दै आएका छन् ।


पुष्प खेती प्रवर्द्वन गर्न अनुदान

सूर्यविनायक नगरपालिकाले पुष्पखेती प्रवर्द्वनका लागि अनुदान वितरण गरेको छ । नगरपालिकाले साना किसान कृषि सहकारी गुण्डुसँग समन्वय गरी गुण्डु क्षेत्रका ६ सय ८७ कृषकलाई फूलको बेर्ना वितरण गरेको जनाएको छ ।


फूलखेती गर्ने व्यावसायिक किसानलाई ६० देखि ५ सय बेर्ना वितरण गरेको सूर्यविनायक–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले बताए । नगरपालिकाले गतआर्थिक वर्ष ०७५/७६ मा पुष्पखेती प्रवर्द्वनका लागि कृषकलाई ४ लाख रुपैयाँ अनुदान दिएको उनले बताए ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?