युनेस्को टोलीको सुझाव–सम्पदा पुनर्निर्माणको अभिलेखीकरण होस्

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका युनेस्को टोलीले सम्पदा पुनर्निमाणको अभिलेखीकारण हुनु पर्ने सुझाब दिएका छन् । युनेस्कोको रियाक्टिभ मोनिटरिङ मिसन टोलीले सुझाब दिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतका पदाधिकारीसँग भेट गरी काठमाडौं उपत्यका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रहरूको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । 

प्राधिकरणले सम्पदाहरूलाई विशेष प्राथमिकता दिई पुनर्निर्माणलाई अघि बढाएको ज्ञवालीले टोलीलाई जानकारी गराए । ‘विश्व सम्पदा क्षेत्रमा पुनर्निर्माणका कार्य भइरहेको छ । दीर्घकालीन रूपमा अझ व्यवस्थित गर्नका लागि सबै पक्षलाई समेटेर विस्तृत गुरुयोजना निर्माण गरिरहेका छौं,’ उनले भने ।


मिसनका लागि विश्व सम्पदा केन्द्रको प्रतिनिधित्व गरेका इन्टरनेसनल सेन्टर फर द स्टडी अफ दी प्रिजर्भेसन एन्ड रेस्टोरेसन अफ कल्चरल प्रोपर्टिज (इक्रोम) का अन्तर्राष्ट्रिय विज्ञ गामिनी बिजिसुरियाले यस बेला सम्पदाहरूको उचित संरक्षणको अवसर रहेकोले पुनिर्निर्माण कार्यको अभिलेखीकरण गर्न सुझाव दिए । इन्टरनेसनल काउन्सिल अन मोनुमेन्टस् एन्ड साइट्स (इकोमस) की अन्तर्राष्ट्रिय विज्ञ क्याथरिन फोब्सले गुरुयोजना निर्माण सुरु भएकोमा खुसी व्यक्त गर्दै आगामी फेब्रुअरीमा पुरातत्त्व विभागले पठाउने रिपोर्टको प्रगति समेट्न प्राधिकरणलाई सुझाव दिइन् ।


युनेस्को काठमाडौं कार्यालयका नेपाल निर्देशक क्रिस्टियन म्यानहार्टले युनेस्कोले सम्पदा पुनर्निर्माण गर्दा गतिमा भन्दा गुणस्तरमा ध्यान दिने उल्लेख गर्दै पुरातत्त्व विभागलाई नीति निर्माण गर्न अझ सक्षम हुने गरी बलियो बनाउन सुझाव दिए ।


सम्पदा क्षेत्रहरूको संरक्षणको अवस्था, यसअघिको एड्भाइजरी मिसनले गरेका सिफारिसको कार्यान्वनको अवस्था र ६ वर्षीय पुनर्लाभ गुरुयोजनाको कार्यान्वयन रणनीतिको विकासबारे मूल्यांकन गर्ने कार्यादेशसहित असोज २९ मा मिसन नेपाल आएको थियो । भूकम्पबाट काठमाडौं उपत्यका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रका १ सय ४० वटा सम्पदाहरूमा क्षति पुगेको थियो । यसमध्ये ९० वटा सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भइसकेका प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकाभित्र पशुपति, स्वयम्भूनाथ, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, चाँगुनारायण र बौद्धनाथ क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?