२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सबिता र चमेली भन्छन् - ‘हामीले क्यान्सरलाई जित्यौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — आफूलाई क्यान्सर लागेको थाहा पाएपछि काभ्रेपलान्चोकको पोखरीचौंरी गाउँपालिकाकी ४० वर्षीया सबिता गौतम कैयौं रात निदाउन सकिनन् । रोगले उनको मनमा उथुलपुथुल मात्रै गराएन परिवारलाई नै चिन्तामा डुबायो ।

सबिता र चमेली भन्छन् - ‘हामीले क्यान्सरलाई जित्यौं’

गतवर्षको कात्तिकमा नुहाउँदादेखि उनले बायाँ स्तनमा आधा मुठ्ठीको डल्लो भेटेपछि हो उनलाई क्यान्सरको शंका लागेको थियो । ‘डल्लो दुख्ने खालको थिएन । यस्तो डल्लो क्यान्सरको लक्षण हुन सक्छ भन्ने मैले कतै पढेकी थिएँ,’ उनले भनिन्, ‘चिनेको नर्स बैनीलाई देखाउँदा उनले क्यान्सर हैन भनिन् तर मलाई विश्वास नलागेर वीर अस्पताल गएँ ।’ अस्पतालमा गरेको परीक्षणबाट उनलाई क्यान्सर लागेको प्रमाणित भयो । जुन दोस्रो चरणमा थियो । हाल भने उनी क्यान्सरमुक्त भएर सामान्य दैनिकीमा फर्किसकेकी छन् । सुरुमा त क्यान्सर निको नै नहुने रोग हो भन्ने लागेको उनले बताइन् । ललितपुरको नेपाल क्यान्सर अस्पतालमा उपचारपछि क्यान्सर जितेका बिरामी भेटेपछि मात्रै आस पलाएको उनले बताइन् । उनले भनिन्, ‘ब्रेस्ट क्यान्सर लागेर सन्चो भएका महिलाले मलाई अस्पतालमा आएर सम्झाउँथे । उनीहरूलाई देखेपछि म मात्रै रोगी होइन रहेछुजस्तो लाग्यो । त्यसले आत्मबल पनि बढायो ।’ शल्यक्रिया र औषधि सेवनपछि

रोग पूर्ण रूपमा निको भइसकेको उनले बताइन् ।


सबितालाई जस्तै सिन्धुपाल्चोककी ४५ वर्षीया चमेली श्रेष्ठलाई आफू कुनै दिन क्यान्सरको बिरामी थिए भन्ने सपना जस्तै लाग्छ । एक वर्षको उपचारपछि उनी क्यान्सरमुक्त भइसकिन् । ‘छातितिर छाम्दा खालीपन भएपछि मात्र मलाई कुनै दिन क्यान्सर थियो भन्ने लाग्छ,’ श्रेष्ठले भनिन् । गतवर्ष माघमा उनलाई स्तनमा कमिलाले टोकेजस्तो महसुस भयो । छाम्दा भेटिएको गाँठोलाई उनले एक महिनासम्म वास्ता गरिनन्, कसैलाई भन्दा पनि भनिन् । तर एक दिन उनले गाउँकै स्वास्थ्यकर्मीसँग कुरा गर्दा क्यान्सरको लक्षण हुन सक्ने थाहा पाइन् । मेमोग्राम गरी हेर्दा क्यान्सर यकिन भयो ।


उनले भनिन्, ‘त्यसपछि मेरो जिन्दगी यति नै रहेछ जस्तो लाग्यो । म जतिखेर पनि सोचमग्न हुन थालेँ ।’ परिवारको माया र चिकित्सको नियमित परामर्शले रोगलाई जित्न सघाएको हो जस्तो लाग्छ उनलाई । ८ लाख खर्चेर नेपालमै उपचार गरेको उनले जनाइन् । ‘सुरुमै उपचार गरे क्यान्सर निको हुँदो रहेछ । पहिले मलाई क्यान्सर ज्यानै लिने रोग हो जस्तो लाग्थ्यो, होइन रहेछ ।’


क्यान्सर लाग्यो भन्नेबित्तिकै बिरामीले रोगलाई मृत्युसँग दाँज्छन् । क्यान्सर शब्द सुन्दा जति भयानक लाग्छ, त्यति डराउन नपनर्ने चिकित्सकहरू बताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यका अनुसार पहिलो चरणमै अस्पताल पुग्ने हो भने ९० प्रतिशत बिरामीलाई बचाउन सकिन्छ । दोस्रो चरणकै क्यान्सर बिरामी बाँचेका पनि थुप्रै उदाहरण छन् । ‘अधिकांश बिरामी चौथो चरण आउँछन् । यस्ता बिरामीको उपचार गर्न सकिँदैन,’ उनले भने । अमात्यका अनुसार नेपालमा ४० देखि ४५ उमेरका महिलामा बढी स्तन क्यान्सर हुने गरेको छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार नेपाललगायत गरिब मुलुकमा महिलाको मृत्युको कारण पाठेघरको क्यान्सरपछि स्तन क्यान्सर हो । संगठनको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष क्यान्सरका ३५ लाख नयाँ बिरामी थन्छिन् । त्यसमध्ये ६ हजार स्तन क्यान्सरका बिरामी हुन्छन् । नेपालमा भने हालसम्म क्यान्सरका बिरामी कति छन् भन्ने आधिकारिक तथ्यांक छैन । ‘क्यान्सर लागेपछि मरिन्छ नै भन्ने डर छ । यस्तो भ्रम हटाउन राज्यस्तरबाटै जनचेतनामूलक कार्यक्रमको आवश्यकता छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?