टोल-टोलमा शिशु स्याहार

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिका-७ गोल्मढीकी रञ्जना तचामो दम्पती फर्निचरमा काम गर्छन् । उनकी २१ महिने छोरी घरनजिकै नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार तथा बाल विकास केन्द्र गोल्मढीमा भर्ना गरिएको छ । ‘घरमा हेर्ने मान्छे छैन । छोरीलाई १६ महिनादेखि शिशु स्याहारमा राखेका छौं,’ उनले भनिन्, ‘नगरपालिकाले शिशु स्याहार खोलिदिँदा हामीले ढुक्कले काम गर्न पाएका छौं ।’

रञ्जनाको जस्तै गोल्मढीकै कृष्णा किसीको आफ्नै रेस्टुरेन्ट छ । २३ महिने छोरीलाई शिशु स्याहारमा राखेकी किसी दम्पती दिनभर रेस्टुरेन्टमै व्यस्त हुन्छन् । छोरीलाई बिहान साढे ९ बजे शिशु स्याहार पुर्‍याएपछि बेलुका ५ बजेसम्म ढुक्क हुने उनी बताउँछिन् । नहोस् पनि कसरी ? केन्द्रमा बालबालिककालाई पर्याप्त खेलौना राखिएका छन् ।

टीभी स्क्रिनबाट बालकेन्द्रित सामग्री देखाइन्छन् । स्याहार गर्ने २ जना सहयोगी र २ महिला शिक्षक हुन्छन् । ‘घरमा बच्चा हेर्ने मान्छे राख्दा मासिक १२ देखि १३ हजार रुपैयाँ छुट्टै तलब दिनुपर्थ्यो, अहिले केन्द्रमा १ हजार रुपैयाँले खान र सरसफाइमा गरिदिन्छ,’ उनले भनिन्, ‘हामी त सन्तुष्ट छौं । ढुक्कले काम पनि गर्न पायौं ।’ शिशु स्याहारमा गएदेखि छोरीले खेल्न, बोल्न, पढ्न र खानेकुरामा समेत चासो दिने गरेको उनले बताइन् ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार तथा बाल विकास केन्द्रबाट रञ्जना र कृष्णाले जस्तै २ सय ८५ दम्पती लाभान्वित भएका छन् । कार्यालय समयभित्र आमाबाट हेरचाह तथा रेखदेख पाउन नसक्ने अभिभावकका शिशु सहज वातावरणमा हुर्किन पाएका छन् । भक्तपुर नगरपालिका शिशु स्याहार तथा बाल विकास केन्द्र शाखा प्रमुख दीपेन्द्र प्रजापतीले नगरका बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा समेत सहयोग पुगोस् भनेर टोल-टोलमा यस्तो केन्द्र सञ्चालन गरिएको बताए । ‘बच्चाकै कारण आमा कामबाट वञ्चित हुन नपरोस्, महिलाको श्रमशक्ति जोगियोस् भनेर केन्द्र सञ्चालन गरेका हौं,’ नगरप्रमुख सुनील प्रजापतीले भने, ‘नगरपालिकाले शिशु स्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा प्रदानको प्रयास थालेको छ ।’

नगरप्रमुख प्रजापतीका अनुसार २०५४ को स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले तत्कालीन १७ वटै वडामा १/१ वटा शिशु स्याहार केन्द्र स्थापनाको अवधारणा ल्याएका थिए । ‘त्यसबेला नगरपालिकाले ६ वटा शिशु स्याहार तथा बाल विकास केन्द्र सञ्चालनमा ल्यायो तर, झन्डै दुई दशक जनप्रतिनिधि नहुँदा शिशु स्याहार व्यवस्थित थिएन,’ उनले भने, ‘हामी निर्वाचित भएपछि व्यवस्थित गर्न थाल्यौं ।’ शिशु स्याहार केन्द्रलाई सुधार र थप व्यवस्थित गर्न यस वर्ष एक करोड बजेट छुट्याइएको उनले बताए ।

शिशु स्याहार केन्द्र नियमत र व्यवस्थित गर्न छुट्टै शाखासमेत खोलिएको छ । नगरको ६ वटा शिशु स्याहार तथा बाल विकास केन्द्रमा २ सय ८५ शिशु छन् । ४० जना शिशु क्षमताको ६ केन्द्रमा २४ कर्मचारी छन् । नगरपालिकाकै भवनमा शिशु स्याहार केन्द्रहरू सञ्चालित छन् । एउटा केन्द्रमा २ शिक्षिका र २ सहयोगीले खाना पकाउने, खुवाउने, सरसफाइ गर्छन् । केन्द्रमा राखिएका शिशुलाई समयमा खाना खुवाउने, सुताउने, उठाउने, सरसफाइ गर्ने, खेल्ने तथा संगीत सिकाउने गर्छन् । ‘शिशुलाई श्रव्य-दृश्यमार्फत् अक्षर उच्चारण सिकाउने कामलाई प्राथमिकतामा राखेका छौं,’ शिशु स्याहार तथा बाल विकास केन्द्र गोल्मढीकी शिक्षिका अनिता सुवालले भनिन् । शिशुलाई नेपाली, अंग्रेजी र स्थानीय भाषामा उच्चारण सिकाउने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले शिशुको सर्वाङ्गिण विकासको लागि खानाको परिकारलाई समेत ध्यान दिएको नगरपालिकाले जनाएको छ । ‘६ वटै केन्द्रका शिशुले दैनिक २ पल्ट एकै किसिमको खाना खान्छन्,’ शिशु स्याहार तथा बाल विकास केन्द्र शाखा प्रमुख प्रजापतीले भने । ६ वटै शिशु स्याहार केन्द्रमा दिइने खानाको परिकार पनि एउटै छ । आइतबार अण्डा, दूध, जाउलो, सोमबार दूध, पाउरोटी, जाउलो खुवाइन्छ । मंगलबार दूध, बिस्कुट, जाउलो बुधबार फलफूल, दुध, जाउलो, बिहीबार दूध, पाउरोटी, जाउलो र शुक्रबार खीर खुवाउने व्यवस्था रहेको केन्द्रले जनाएको छ । शिशु केन्द्रमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको सुविधा दिएको केन्द्रका प्रमुख प्रजापतीले बताए ।

शिशु स्याहार केन्द्रलाई नगरको १० वटै वडामा विस्तार गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । हाल भक्तपुर-१ भार्वाचो, वडा नम्बर ४ मंगलतीर्थ, वडा नम्बर ७ गोल्मढी र इनाचो (खंचा), वडा नम्बर ६ भोलाछें र वडा नम्बर ८ लिवालीमा शिशु केन्द्र सञ्चालित छन् । नगरपालिकाको पूर्ण निगरानीमा सञ्चालन गर्ने गरी भार्वाचो, जेलां, कमलविनायक, खौमालगायतमा केन्द्र स्थापना गर्न अध्ययन तथा छलफल भइरहेको शाखा प्रमुख प्रजापतीले बताए । ‘निजी लगानीमा सञ्चालन भएको शिशु स्याहार केन्द्रसँग हामी प्रतिस्पर्धा गर्न योग्य भएपछि थप वडामा पनि केन्द्र बिस्तार गर्छौं,’ मेयर प्रजापतीले भने, ‘अहिले निजीले १० हजार पनि पनि लिने गरेका छन्, हामीचाहिँ एक हजार लिएर नगरबासीका छोराछोरीको स्याहार गर्ने व्यवस्था गरेका छौं ।’

केन्द्रसँगै बाल कक्षा (यूकेजी/एसकेजी) को माग अभिभावकहरूको रहेको नगरपालिकाले जनाएको छ । ‘घरनजिकै शिशुको राम्रो रेखदेख देखेपछि अभिभावकको अपेक्षा बढेको छ,’ शिशु केन्द्र शाखा प्रमुख प्रजापतीले भने, ‘कक्षाको क्षमता बढाउने अनुरोध अभिभावकको छ ।’

नगरपालिकाले शिशु केन्द्रलाई थप व्यवस्थित बनाउन निर्देशिकाको खाकासमेत तयार गरेको छ ।

प्रकाशित : कार्तिक २, २०७६ ०८:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वडैपिच्छे खुला व्यायाम

व्यायाम केन्द्रमा भएका उपकरण कुनै भर्‍याङ जस्ता, कुनै पिङ त कुनै गाडीका स्टेरिङजस्ता छन् । केन्द्रमा पुग्ने बालबालिका खेल्दै व्यायाम गर्ने गरेका छन् । 
लीला श्रेष्ठ

(भक्तपुर) — चाँगुनारायण–५ छालिङका ६७ वर्षीय इन्द्रबहादुर थापालाई मेरुदण्डसम्बन्धी रोगले सताएको ६ वर्ष भयो । दुई वर्ष ओछ्यान परे । अरूको सहायतामा उठ्नु, सुत्नुपर्ने थापालाई औषधि र थेरापीले हिँड्डुल गर्न सक्ने भए । नियमित थेरापीमा जान्थे । ४ महिनायता भने थेरापीकै लागि उनी अस्पताल धाउनुपरेको छैन । किनकि भक्तपुर नगरपालिकाले खुला ठाउँमा बनाइदिएको व्यायम केन्द्र बिरामीका लागि थेरापी सेन्टर, बालबालिकाकाको खेल्ने र मर्निङवार्क जाने र कसरत गर्ने ठाउँ व्यवस्था गरेको छ । 

बिहान झिसमिसेदेखि आठ बजेसम्म व्यायम सेन्टर भरिभराउ हुन्छ । नगरपालिकाले पहिलो चरणमा वडा नम्बर १० कमलविनायक, ६ नम्बर वडाको महाकालीस्थानमा, वडा नम्बर ७ र ८ का स्थानीयका लागि महेश्वरीमा, वडा नम्बर १ का स्थानीयका लागि दूधपाटीमा र वडा नम्बर ९ का स्थानीयबासीका लागि च्यामसिंहमा खुला ब्यायाम सेन्टर बनाइएको छ । थेरापी गरिरहेका थापाजस्तै अरू पनि यी सेन्टरमा कसरत गर्न बिहान सबेरै पुग्ने गरेका छन् ।

व्याय सेन्टरमा भएका उपकरण कुनै भर्‍याङजस्ता, कुनै पिङ त कुनै गाडीका स्टेयरिङजस्ता छ । सेन्टरमा पुग्ने बालबालिका खेल्दै व्यायाम गर्ने गरेका छन् । भक्तपुर–१० कमलविनायकमा बस्दै आएका थापा दैनिकी स्थानीय केटाकेटीसँगै खेलेर व्याय सुरु गर्छन् । ‘हामीजस्ता बुढापाका र नसा रोग भएकालाई यो व्यायाम सेन्टर औषधि नै बनेको छ,’ उनले भने, ‘थेरापीको काम व्यायाम सामग्रीले गरेको छ ।’ व्यायाम गर्ने कमलविनायकको केन्द्रमा बालबालिका, युवा र बूढापाका हुन्छन् । यहाँ भएका उपकरण प्रयोग गर्न पालो कुर्छन् । ‘बिहान सात बजेअघि पालै पाउँदैन, त्यसैले घाम छिप्पिएपछि मात्रै आउने गरेको छु,’ ६५ वर्षीया राजकेशरी राजचलले भनिन्, ‘नाति/नातिनी टोल्लिन्छन्, आफ्नो शरीरको व्यायाम पनि हुन्छ ।’ घरनजिकै व्यायाम केन्द्र बनेपछि ढाडको थेरापी गर्न अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताइन । पालै–पालो सबै उपकरणमा थोरै भए पनि समय दिने गरेको उनी बताउँछिन् ।

भक्तपुर–१ वडाका वडाध्यक्ष एवं युवा तथा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्रीले पहिलो चरणमा ५ वटा वडामा शारीरिक व्यायाम केन्द्र बनाइसकेको छ । बाँकी ५ वटा वडामा पनि चाँडै निर्माण गरिने उनले बताए । दोस्रो चरणमा वडा नम्बर २, ३, ४, ५ र ८ मा बनाउने तयारी हुँदै छ । उपकरण खरिद गरिसकेको र जडान गर्न मात्र बाँकी रहेको उनले बताए । ख्वप: कलेज देकोचा र ख्वप: इन्जिनियरिङ कलेज लिवालीमा समेत व्यायाम सामग्री राखेको उनले जानकारी दिए । ‘खेलकुदको प्रवर्द्वनका लागि नगरपालिकाले व्यायाम केन्द्र स्थापना गरेको हो,’ उनले भने, ‘यो उपकरणले शरीरका खुट्टादेखि टाउकोसम्मको सबै भागको व्यायाम गर्न सकिन्छ । एकैपटकमा १७ जनासम्मले उपयोग गर्न सक्छन् ।’

पहिलो चरणमा जडान गरेको व्यायाम केन्द्रमा ‘रनिङ मेसिन’ छैन । बाँकी ठाउँमा ‘रनिङ मेसिन’ जडान गर्ने योजना भएको नगरपालिकाले जनाएको छ । रनिङ मेसिनमा बस्दा दौडिएको जस्तै हुन्छ ।

नगरप्रमुख सुनिल प्रजापतिले नगरबासीलाई स्वस्थ्य बनाउने योजना पूरा गर्न नगरको खुला ठाउँमा व्यायाम बनाइएको बताए । ‘व्यायामका उपकरण जोड्नुअघि फिजियोथेरापी गर्न पुग्थे । आर्थिक अभावले फिजियोथेरापी पनि सबैको पहुँचमा थिएन,’ उनले भने,‘ घरधन्दा, रोजगारी र व्यापार व्यवसायमा व्यस्त हुनेलाई दैनिक शारीरिक व्यायाम गर्ने बानी हुँदैन । शारीरिक स्वस्थ्यका लागि पनि दैनिक व्यायाम जरुरी छ भन्ने बुझाउन केन्द्र स्थापना गरेका हौं ।’ केन्द्रमा खुट्टादेखि टाउकोसम्मको व्यायाम गर्न सकिने उपकरण राखिएको मेयर प्रजापतिले बताए । केन्द्र स्थापना भएपछि बालबालिकादेखि वृद्ववृद्वासम्मलाई दैनिक व्यायाम गर्न सजिलो भएको उनले बताए ।

नि:शुल्क व्यायाम
केन्द्रमा व्यायाम गरेबापत् नगरबासीले शुल्क तिर्नुपर्दैन । नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक खत्रीका अनुसार नगरपालिकाले चीनबाट उपकरण ल्याएर केन्द्र स्थापना गरेको हो । ‘नगरबासीलाई स्वस्थ्य राख्न केन्द्र खोलिएको हो । यहाँ व्यायम गरेबापत् शुल्क तिर्नु पर्दैन,’ उनले भने । केन्द्र स्थापनाका लागि नगरपालिकाले ८० लाख रुपैयाँ खर्च गरेको नगरपालिकाले जनाएको छ । एउटा केन्द्रलाई आवश्यक उपकरण खरिद गर्न ३ लाख र जडान खर्च १ लाख गरी हुने गरेको खत्रीले बताए । एउटा व्यायम सेन्टरमा एक पटकमा १७ जनासम्मले व्यायाम गर्न सकिन्छ ।

प्रकाशित : आश्विन ३०, २०७६ ०९:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT