२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महानगरको शिशु स्याहार केन्द्र : घरभाडाका कारण शुल्क

सीमा तामाङ

ललितपुर — लक्ष्मी मरेटा खाजा पसल छ । बिहानदेखि बेलुकासम्म खाजा पसलमा दुवै जना व्यस्त हुन्छन् । छोरी विद्यालाई भने ललितपुर महानगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा भर्ना गरेकी छन् । यसअघि उनलाई निजी मन्टेश्वरीमा भर्ना गरेकी थिइन् ।

महँगो शुल्क तिरेर पनि राम्रो सेवा नपाएपछि उनले महानगरले सञ्चालन गरेको विद्यालयमा भर्ना गरेकी हुन् । लक्ष्मीले अहिले खानाको नौ सय र मासिक शुल्क ६ सय रुपैयाँ तिर्ने गरेकी छन् । निजीमा दुई हजारभन्दा बढी तिर्थिन् । महानगरको शिशु स्याहार केन्द्र सुविधा सम्पन्न भएपछि बालबालिका पनि खुसी छन् ।


‘सुरूका केही दिन स्कुल नजाने भनेर रोए पनि त्यसपछिका त्यस्तो भएन,’ ह्यान्डी क्राफ्टका काम गर्ने रविन महर्जनले भनिन्, ‘अहिले बिरामी हुँदा र बिदाको दिन पनि स्कुल जाने भनेर जिद्दी गर्ने गर्छन् ।’ २ वर्ष पुगेको श्रयस हाँसीखुसी स्कुल आउँछन् । बाबुआमाले जस्तै स्याहार गरेकोले काममा जाँदा पनि ढुक्क हुने गरेको उनले बताइन् ।


ललितपुर महानगरको समाज कल्याण महाशाखाअन्तर्गत ८ बाल विकास केन्द्र सञ्चालनमा छन् । महानगरको वडा नम्बर २० मा दुई ओटा, १७, १४, ४, ८,५, १६ मा यस्ता बाल विकास केन्द्र सञ्चालनमा छन् । ०५७ सालदेखि नै यस्ता बाल विकास केन्द्र सञ्चालनमा रहेको महाशाखाकी शाखा अधिकृत सरिता महर्जनले बताइन् । महाशाखाले सबै केन्द्रमा २ र वडा नम्बर ४ र २० मा ३ जनाको बजेट दिएर बालबालिकाको स्याहार गर्ने व्यवस्था मिलाएको छ । महानगरपालिकाले शिक्षकको तलब, अभिभावक भेला गर्न ७ हजार, शैक्षिक सामग्रीका लागि १० हजार र शिक्षकलाई तालिमसमेत दिने गरेको छ ।


वडा नम्बर ५ को थसिखेलमा रहेको बाल विकास केन्द्रमा पहिले शुल्क लिइने गरे पनि अहिले वडा कार्यालयले दिने भएपछि निःशुल्क रूपमा केन्द्र सञ्चालन गरिरहेको नानीमाया कपालीले बताइन् । स्याहार केन्द्र सञ्चालन गर्न गत वर्ष वडा कार्यालयले १ लाख ७५ हजार रुपैयाँ बजेट नै छुट्याएको थियो ।


यस वर्ष पनि योजना बनिरहेको छ । त्यस्तै वडा- ८ बालकुमारीनजिकै रहेको केन्द्र भाडाको घरमा सञ्चालन गरिएको छ । यहाँ भने शुल्क लिने गरेको छ । ‘घर भाडा तिर्नुपर्ने भएकोले न्यून शुल्क लिने गरेका छौं,’ केन्द्रकी प्रमुख लक्ष्मी महर्जनले भनिन् । वडा नम्बर २० मा सञ्चालन गरिएको केन्द्रका शिक्षक गंगा महर्जनले बच्चालाई रङ भर्न, रङ चिन्न, चाडपर्व, तरकारी, फलफूलको नाम चिनाउने गरेको बताइन् ।

प्रकाशित : कार्तिक २, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?