कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गुन्डा नाइकेसहित २३ डिपो सञ्चालक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्माण सामग्री खरिदका क्रममा उपभोक्ता ठगेको आरोपमा ‘गुन्डा नाइके’ सहित २३ जना गिट्टी/बालुवा तथा इँटा डिपो सञ्चालक पक्राउ परेका छन् ।

गुन्डा नाइकेसहित २३ डिपो सञ्चालक पक्राउ

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार स्वयम्भू, बालाजु र महाराजगन्ज क्षेत्रबाट आपराधिक गतिविधिमा पटक-पटक सजाय भुक्तान गरी छुटेका ‘बाघे’ भनिने सुकबहादुर लामासहित २३ डिपो सञ्चालकलाई पक्राउ गरेको हो । टोलीले डिपो सञ्चालक पक्राउसँगै निर्माण सामग्री बोक्ने ३५ सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ ।


महाशाखाका अनुसार पक्राउ परेका डिपो सञ्चालकमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेजका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी र जेबीएस सप्लायर्सका बाघे भन्ने सुकबहादुर लामा रहेका छन् । त्यस्तै, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माणका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्यामबहादुर मगर, नोनेम सप्लायर्सका पुष्कर थापा, श्रीकाली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठलाई समेत पक्राउ गरिएको छ ।


यसैगरी, आकर्षक सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका विजय भन्ने जोगबहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ रहेका छन् ।


त्यसमध्ये बाघे भनिने सुकबहादुर पछिल्लो १० वर्षको अवधिमा अपहरण तथा शरीरबन्धक, धम्की, जबरजस्ती असुलीलगायत अपराधमा १७ पटक पक्राउ परिसकेको महाशाखाले जनाएको छ । डिपो सञ्चालकसँगै पक्राउ परेका ३५ जना चालकलाई सामान्य सोधपुछपछि छाडिएको छ । पक्राउ परेका डिपो सञ्चालकहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।


महाशाखा प्रमुख एसएसपी सहकुल थापाले डिपो सञ्चालकहरूले एउटा गाडीबाट मालसामान ओसारपसार गर्दा २१ हजार ६ सयदेखि २ हजार २ सय रुपैयाँसम्म ठगी गर्ने गरेको बताए । नियन्त्रणमा लिइएका सवारीसाधनको स्वरूप नै बदलेर कम सामान अट्ने गरी पिँधमा अर्को फलामे पाता थपेको अवस्थामा भेटिएका छन् ।


‘सवारीसाधनको स्वरूप नै परिवर्तन गरेर डिपो सञ्चालकले कम सामान अट्ने गरी फलामे पाता राखेर ढलान गरेको भेटियो,’ एसएसपी थापाले भने, ‘सवारीसम्बन्धी प्राविधिको समेत राय लिएर आरोपितमाथि ठगी कसुरमा मुद्दा चलाउने तयारी गरेका छौं ।’


एकपटकमा प्रतिसवारी सय क्युफिट गिट्टी, बालुवा हुनुपर्नेमा डिपोसञ्चालकले ८२ क्युफिट मात्रै लोडअनलोड गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रतिक्युफिट ८५ देखि ९० रुपैयाँसम्म पर्ने निर्माण व्यवसायीको भनाइ छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले डिपो सञ्चालकबाट भएको ठगीमा आम उपभोक्ता पीडित बन्ने गरेको बताए । ‘यस्तो ठगीमा ठूला निर्माण कम्पनीभन्दा घरका तला थप्ने तथा सानो लगानीका निर्माणका उपभोक्ता ठगिने गरेका छन्,’ उनले भने, ‘स्थानीय डिपो सञ्चालक र टोले गुन्डाका कारण ठगिएको थाहा पाउँदा पाउँदै यसअघि सर्वसाधारणले उजुरी गर्ने हिम्मत गरेका थिएनन् ।’


देशभर यस्तो किसिमको ठगी व्याप्त रहेको भन्दै सिंहले त्यसमाथि प्रशासनले नियन्त्रण गर्नुपर्ने बताए । एसएसपी थापाले काठमाडौंसहित मुलुकभर यस्तो किसिमको ठगी नियन्त्रणका लागि गृह मन्त्रालयलाई जानकारी गराएर प्रहरी परिचालन गर्न आग्रह गरिने बताए ।


निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले संगठित अपराधमा संलग्न र टोले गुन्डाहरूले उनीहरूबाट सञ्चालित डिपोबाटै निर्माण सामग्री किन्न धम्की दिने गरेको पनि बताए । ‘गुन्डाहरूले सञ्चालन गरेका डिपोबाटै गिट्टी, बालुवालगायतका निर्माण सामग्री किन्न धम्की आउने र त्यसलाई इन्कार गर्दा अर्कै परिणाम हुने बताएपछि कतिय सर्वसाधारण र निर्माण व्यवसायी बाध्य भएर उनीहरूबाटै किन्न जानुपर्ने अवस्था छ,’ उनले भने, ‘यसप्रति प्रशासनको ध्यान जान जरुरी छ ।’


यौनशोषण गराउने थुनामा

कोठा भाडामा लिएर यौनशोषण गराउने तीन जनालाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । मध्यपुर थिमि बोडे सिन्टीटारस्थित कोठा भाडामा लिएर महिला तथा किशोरीहरूलाई प्रलोभनमा पारी यौनशोषण गराउने व्यक्तिहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । थुनामा परेकाहरूमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-६ मेलचोक घर भई बोडे बस्ने २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुर थिमि चपाचोका ५० वर्षीय श्रीकण्ठ भन्ने श्रीकान्त प्रजापती र धादिङ फुलखर्क-४ घरभई मध्यपुर थिमि बोडे बस्ने २९ वर्षीया सोनिया भन्ने सबिना तामाङ (गुरुङ) छन् ।


महिनौंदेखि उनीहरूले भाडामा लिएको घरमा महिला तथा किशोरीलाई प्रलोभनमा पारेर यौनशोषण गर्न विभिन्न व्यक्तिलाई बोलाई मादक पदार्थ सेवन गराई आर्थिक लाभ लिने, वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले भदौ २३ मा पक्राउ गरी अदालतमा पेस गरेको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए ।

प्रकाशित : कार्तिक २, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?