कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वडैपिच्छे खुला व्यायाम

व्यायाम केन्द्रमा भएका उपकरण कुनै भर्‍याङ जस्ता, कुनै पिङ त कुनै गाडीका स्टेरिङजस्ता छन् । केन्द्रमा पुग्ने बालबालिका खेल्दै व्यायाम गर्ने गरेका छन् । 
लीला श्रेष्ठ

(भक्तपुर) — चाँगुनारायण–५ छालिङका ६७ वर्षीय इन्द्रबहादुर थापालाई मेरुदण्डसम्बन्धी रोगले सताएको ६ वर्ष भयो । दुई वर्ष ओछ्यान परे । अरूको सहायतामा उठ्नु, सुत्नुपर्ने थापालाई औषधि र थेरापीले हिँड्डुल गर्न सक्ने भए । नियमित थेरापीमा जान्थे । ४ महिनायता भने थेरापीकै लागि उनी अस्पताल धाउनुपरेको छैन । किनकि भक्तपुर नगरपालिकाले खुला ठाउँमा बनाइदिएको व्यायम केन्द्र बिरामीका लागि थेरापी सेन्टर, बालबालिकाकाको खेल्ने र मर्निङवार्क जाने र कसरत गर्ने ठाउँ व्यवस्था गरेको छ । 

वडैपिच्छे खुला व्यायाम

बिहान झिसमिसेदेखि आठ बजेसम्म व्यायम सेन्टर भरिभराउ हुन्छ । नगरपालिकाले पहिलो चरणमा वडा नम्बर १० कमलविनायक, ६ नम्बर वडाको महाकालीस्थानमा, वडा नम्बर ७ र ८ का स्थानीयका लागि महेश्वरीमा, वडा नम्बर १ का स्थानीयका लागि दूधपाटीमा र वडा नम्बर ९ का स्थानीयबासीका लागि च्यामसिंहमा खुला ब्यायाम सेन्टर बनाइएको छ । थेरापी गरिरहेका थापाजस्तै अरू पनि यी सेन्टरमा कसरत गर्न बिहान सबेरै पुग्ने गरेका छन् ।


व्याय सेन्टरमा भएका उपकरण कुनै भर्‍याङजस्ता, कुनै पिङ त कुनै गाडीका स्टेयरिङजस्ता छ । सेन्टरमा पुग्ने बालबालिका खेल्दै व्यायाम गर्ने गरेका छन् । भक्तपुर–१० कमलविनायकमा बस्दै आएका थापा दैनिकी स्थानीय केटाकेटीसँगै खेलेर व्याय सुरु गर्छन् । ‘हामीजस्ता बुढापाका र नसा रोग भएकालाई यो व्यायाम सेन्टर औषधि नै बनेको छ,’ उनले भने, ‘थेरापीको काम व्यायाम सामग्रीले गरेको छ ।’ व्यायाम गर्ने कमलविनायकको केन्द्रमा बालबालिका, युवा र बूढापाका हुन्छन् । यहाँ भएका उपकरण प्रयोग गर्न पालो कुर्छन् । ‘बिहान सात बजेअघि पालै पाउँदैन, त्यसैले घाम छिप्पिएपछि मात्रै आउने गरेको छु,’ ६५ वर्षीया राजकेशरी राजचलले भनिन्, ‘नाति/नातिनी टोल्लिन्छन्, आफ्नो शरीरको व्यायाम पनि हुन्छ ।’ घरनजिकै व्यायाम केन्द्र बनेपछि ढाडको थेरापी गर्न अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताइन । पालै–पालो सबै उपकरणमा थोरै भए पनि समय दिने गरेको उनी बताउँछिन् ।


भक्तपुर–१ वडाका वडाध्यक्ष एवं युवा तथा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्रीले पहिलो चरणमा ५ वटा वडामा शारीरिक व्यायाम केन्द्र बनाइसकेको छ । बाँकी ५ वटा वडामा पनि चाँडै निर्माण गरिने उनले बताए । दोस्रो चरणमा वडा नम्बर २, ३, ४, ५ र ८ मा बनाउने तयारी हुँदै छ । उपकरण खरिद गरिसकेको र जडान गर्न मात्र बाँकी रहेको उनले बताए । ख्वप: कलेज देकोचा र ख्वप: इन्जिनियरिङ कलेज लिवालीमा समेत व्यायाम सामग्री राखेको उनले जानकारी दिए । ‘खेलकुदको प्रवर्द्वनका लागि नगरपालिकाले व्यायाम केन्द्र स्थापना गरेको हो,’ उनले भने, ‘यो उपकरणले शरीरका खुट्टादेखि टाउकोसम्मको सबै भागको व्यायाम गर्न सकिन्छ । एकैपटकमा १७ जनासम्मले उपयोग गर्न सक्छन् ।’


पहिलो चरणमा जडान गरेको व्यायाम केन्द्रमा ‘रनिङ मेसिन’ छैन । बाँकी ठाउँमा ‘रनिङ मेसिन’ जडान गर्ने योजना भएको नगरपालिकाले जनाएको छ । रनिङ मेसिनमा बस्दा दौडिएको जस्तै हुन्छ ।


नगरप्रमुख सुनिल प्रजापतिले नगरबासीलाई स्वस्थ्य बनाउने योजना पूरा गर्न नगरको खुला ठाउँमा व्यायाम बनाइएको बताए । ‘व्यायामका उपकरण जोड्नुअघि फिजियोथेरापी गर्न पुग्थे । आर्थिक अभावले फिजियोथेरापी पनि सबैको पहुँचमा थिएन,’ उनले भने,‘ घरधन्दा, रोजगारी र व्यापार व्यवसायमा व्यस्त हुनेलाई दैनिक शारीरिक व्यायाम गर्ने बानी हुँदैन । शारीरिक स्वस्थ्यका लागि पनि दैनिक व्यायाम जरुरी छ भन्ने बुझाउन केन्द्र स्थापना गरेका हौं ।’ केन्द्रमा खुट्टादेखि टाउकोसम्मको व्यायाम गर्न सकिने उपकरण राखिएको मेयर प्रजापतिले बताए । केन्द्र स्थापना भएपछि बालबालिकादेखि वृद्ववृद्वासम्मलाई दैनिक व्यायाम गर्न सजिलो भएको उनले बताए ।


नि:शुल्क व्यायाम

केन्द्रमा व्यायाम गरेबापत् नगरबासीले शुल्क तिर्नुपर्दैन । नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक खत्रीका अनुसार नगरपालिकाले चीनबाट उपकरण ल्याएर केन्द्र स्थापना गरेको हो । ‘नगरबासीलाई स्वस्थ्य राख्न केन्द्र खोलिएको हो । यहाँ व्यायम गरेबापत् शुल्क तिर्नु पर्दैन,’ उनले भने । केन्द्र स्थापनाका लागि नगरपालिकाले ८० लाख रुपैयाँ खर्च गरेको नगरपालिकाले जनाएको छ । एउटा केन्द्रलाई आवश्यक उपकरण खरिद गर्न ३ लाख र जडान खर्च १ लाख गरी हुने गरेको खत्रीले बताए । एउटा व्यायम सेन्टरमा एक पटकमा १७ जनासम्मले व्यायाम गर्न सकिन्छ ।

प्रकाशित : आश्विन ३०, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?