२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लगनखेलमा पोखरीसहितको पार्क 

सीमा तामाङ

(ललितपुर) — लगनखेलको न्हू पुखुको पानी चार दशकअघि सुक्यो । त्यसपछि पोखरीको जमिन अतिक्रमणमा पर्‍यो । पोखरीको डिल भत्काई फुटपाथ पसल, झुपटपट्टी, सवारीसाधन पार्क गर्ने थलो बन्यो । त्यसबेलादेखि नै पाखरीको अतिक्रमण सुरु भयो । 

लगनखेलमा पोखरीसहितको पार्क 

पोखरीको पानी सुकेपछि डम्पिङ साइट, घर भत्काइएको सामान फाल्ने र सुंगुर–बंगुर खेल्ने ठाउँ बनेको थियो । तर, अहिले ललितपुर महानगरले न्हू पोखरी पुनर्निर्माण कार्य सुरु गरेको छ । करिब १० रोपनी जग्गामा फैलिएको पोखरीको छेउमा ८ फिट र बीच भागमा १५ फिट गहिरो छ ।


अब बन्ने पोखरी वरपर बच्चादेखि वृद्धसम्मका लागि बस्न मिल्ने गरी पार्क बनाइनेछ । पोखरीमा बोटिङ गर्न मिल्ने, सार्वजनिक शौचालय, प्राकृतिक विपद् आइपर्दा बस्न मिल्ने खुला ठाउँ निर्माण हुनेछ ।


ललितपुर महानगरले न्हू पोखरी निर्माणका लागि गत वर्ष ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । जुन बजेटको काम हाल सकिएको ललितपुर महानगरका ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले बताए । पोखरीमा तीन तहको पर्खाल लगाउनुपर्नेमा पहिलो तह अर्थात् पानीभित्र पर्खाल लगाइसकेको र दोस्रो तहको केही भागमा पर्खाल लगाउन बाँकी रहेको उनले बताए ।


‘बाँकी काम यस वर्षको बजेटले गर्छौं,’ उनले भने, ‘यस वर्षको काम तिहार लगत्तै सुरु हुन्छ ।’ यस वर्ष महानगरपालिकाले १ करोड रुपैयाँ बजेट छुट्याएको छ । ५ करोड लागतमा बृहत् योजनासहित पुनर्निर्माण गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ । पोखरीमा भेटिएको पुरानो अवशेषका आधारमा पोखरी निर्माण भइरहेको छ । गत वर्षको बजेटले अहिलेसम्म पोखरी उत्खनन् तथा गाह्रो लगाउने काम गरे पनि केही भागको काम पूरा गर्न बजेट अपुग भएको उनले बताए ।


पोखरी पुरानो शैलीको ६ इन्च चौडाइ र ८ इन्च लम्बाइ भएको इँटा, सुर्की, बालुवा र चुनामा कालो माटो मिलाएर निर्माण गरिरहेको पुनर्निर्माणको जिम्मा लिएका भक्तपुरको कृष्णप्रसाद दुमरुले बताए । उनी भक्तपुरको भाजु पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि हुन् । भाजु पोखरी र सिद्धपोखरी पनि उनकै समूहले निर्माण गरेको हो । काठमाडौंको रानीपोखरीको पुनर्निर्माण पनि उनीहरूले गरिरहेका छन् ।


पोखरी उत्खनन् गर्दा पोखरीभित्र जाने खुड्किलो, स्लोभ पर्खाल भेटिएको दुमरूले बताए । त्यस्तै पोखरीको बीच भागमा १४ फिट लम्बाइ र १४ फिट उचाइ भएको ४ फिटको काठको टुक्रा पनि फेला परेको छ । तर अहिले उक्त काठ पोखरीको पानीले छोपिएको उनले बताए । जसले गर्दा महानगरले तयार पारेको पोखरीको डिजाइन अर्थात् डीपीआर पनि परिवर्तन गर्नुपरेको उनले बताए ।


पोखरीको जग्गा वडा कार्यालयको भवनले समेत अतिक्रमण गरेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार आवश्यक परेमा वडा कार्यालयसमेत भत्काइनेछ । वडा कार्यालय विस्तारका क्रममा नयाँ भवन पोखरीको जग्गामा निर्माण गरिएको थियो ।


‘पोखरीमा सुंगुर–बंगुर खेल्ने ठाउँ भइसकेको थियो, पोखरीको कति भाग त अतिक्रमणमा परेको छ,’ उनले भने, ‘पोखरी त सुक्यो, यसले चर्केको जमिन पनि मासिने अवस्था आइसकेपछि स्थानीयकै पहलमा पोखरीलाई ब्युँताउने योजना बनाउन थाल्यौं ।’ चार दशक अगाडिसम्म पोखरी परिसरमा चारैतिर डिल, सफा पानी जम्मा हुने गरेको उनले बताए । तर, अहिले पोखरीको पश्चिम भाग सडक विस्तारका क्रममा माथिल्लो तह नै सडकमा गाभिएको छ । उत्तरको भाग नर्सरी र दक्षिण भागमा वडा कार्यालय ५ को भवन निर्माण गरिएको छ ।


लगनखेलको न्हू पुखु १६ औं शताब्दीमा सिद्धिनरसिंह मल्लको समयमा निर्माण भएको मानिन्छ । यहाँ राजकुलोबाट पानी भरिन्थ्यो । टीकाभैरव राजकुलोबाट बगेर आउने पानीले पाटनका पोखरी भरिने गरेको स्थानीयबासी बताउँछन् । पोखरी भरिएपछि ढुंगेधारा र इनार रसाउँथ्यो ।


यो पोखरीको सम्बन्ध मच्छिन्द्रनाथको मन्दिर र रथसँग सम्बन्धित छ । लगनखेल चोकमा मन्छिन्द्रनाथलाई नुहाउँदा नाग देवता न्हू पोखरीमा बसेर हेर्छन् भन्ने जनश्रुति छ । जुन दिनमा मच्छिन्द्रनाथलाई नुहाइन्छ त्यो दिनदेखि पानी पर्न सुरु हुन्छ भन्ने प्रचलन पनि छ । मच्छिन्द्रनाथको जात्रामा पोखरीको वरिपरि बसेर भोज खाने र पोखरीकै पानीले हातमुख चुठेर जाने चलन अझै निरन्तर छ ।


प्रकाशित : आश्विन ३०, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?