१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

युनेस्कोले थाल्यो सम्पदा अध्ययन  

दामोदर न्यौपाने

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोको ‘मनिटरिङ मिसन’ ले काठमाडौं उपत्यकाको विश्व सम्पदा क्षेत्रको अध्ययन सुरु गरेको छ । युनेस्कोको विश्व सम्पदा केन्द्रले दुई जना विज्ञ टोली अध्ययनका लागि खटाएको हो । भुइँचालो आएयता यहाँका सम्पदा अध्ययन गर्न दुई पटक यस्तो मिसन आइसकेको छ । 

सन् २०१५ मा जर्मनीको बोनमा विश्व सम्पदा कमिटीको बैठकबाटै उपत्यकाका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न ‘ड्राफ्ट डिजाइन’ हुँदै आएको थियो । त्यसयताका प्रत्येक ‘सेसन’ मा उपत्यकाका विश्व सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव राख्दै आएको छ ।


‘पुरातत्त्व विभागकै सक्रियतामा त्यो प्रस्तावलाई विमति राख्दै त्यसो नगर्न अनुरोध हुँदै आएको हो,’ पुरातत्त्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले भने, ‘यो वर्ष पनि हामीले खतराको सूचीमा नराख्न अनुरोध गर्‍यौं । तर एक वर्षभित्रै पुनर्निर्माण गरिसक्नुपर्ने सर्तमा खतराको सूचीमा राखिएन ।’ त्यही सेसनमा भएको निर्णयअनुसार नेपालको प्रगति अध्ययन गर्न टोली आएको हो । मिसनले उपत्यकाका सम्पदाको एक सातासम्म अध्ययन गर्नेछ । भुइँचालो आएयता युनेस्कोले ‘मनिटरिङ’ र ‘एडभाइजरी’ गरी दुई किसिमको मिसन पठाउँदै आएको छ । विभागले भनेको जति भत्ता नदिएपछि त्यो मिसन रोकिएको थियो । एडभाइजरी मिसनको खर्च जुन देशमा मिसन जाने हो त्यही मुलुकले व्यहोर्नुपर्छ । मनिटरिङ मिसनको खर्च भने युनेस्को विश्व सम्पदा केन्द्रले व्यहोर्छ ।


युनेस्कोको सल्लाहकार संस्था इकोमस, एकरोमबाट केटरिन र गामिङले बुधबार हनुमानढोका दरबार क्षेत्रको अध्ययन गरेको छ । हनुमानढोका क्षेत्रमा अध्ययन गर्नुअघि पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकासँग विश्व सम्पदा क्षेत्रमा भएका गतिविधिबारे महानगर उप्रप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसँग जानकारी लिएको छ । टोली सदस्य केटरिनले विश्व सम्पदा क्षेत्रमा भएका पानी, बिजुलीलगायतका समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले के गरिराखेको छ भनेर जानकारी लिएकी थिइन् ।


‘विश्व सम्पदा क्षेत्र र त्योभन्दा बाहिरको सम्पदामा पनि असर परेको होला,’ उनले उपमेयरसँग जिज्ञासा राखिन्, ‘ती सम्पदाबारे के भइरहेको छ ?’ उममेयर खड्गीले १८ वर्षसम्म जनप्रतिनिधिविहीन भएकाले सबै क्षेत्रमा जस्तै सम्पदामा पनि समस्या भएको जानकारी दिइन् । ‘जनप्रतिनिधि आएको जम्मा साढे २ वर्ष भयो,’ उनले भनिन्, ‘देशभित्रको स्रोत र विदेशीको समेत सहयोगमा सम्पदा बनिरहेको छ । महानगरले पनि कसरी हुन्छ सम्पदा बचाउनुपर्छ भन्ने नीति लिएर अगाडि बढेको छ । मैले सम्पदा मास्नु हुँदैन भनेर पहल गरिरहेकी छु । पशुपति, बौद्धनाथ, हनुमानढोकालगायत ठाउँमा म आफैं गएर समस्या सल्टाउने कोसिस गरेकी छु । युनेस्कोले पनि तीन तहका सरकारलाई संरक्षण गर्न बाध्य पार्ने गरी चिठी लेख्नुपर्छ ।’


मिसनले सम्पदा संरक्षण अभियन्तासँग पनि विश्व सम्पदाको अवस्थाबारे जानकारी लिएको थियो । अभियन्ताले भुइँचालोपछिको पुनर्निर्माणमा विश्व सम्पदाको मूल्यमान्यताअनुसार नभएको जानकारी दिएका थिए । ‘पुनर्निर्माणका क्रममा हाम्रा अमूर्त सम्पदा मासिने गरी पुनर्निर्माण भएका छन्,’ सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारीले भने, ‘विश्व सम्पदाको मूल्य कायम राख्न माग गर्दै हामी सर्वोच्च अदालतसम्म गयौं । अदालतले फैसला मूल्यमान्यता नमासिने गरी निर्माण गर्न आदेश दिएको छ । त्यो आदेशलाई समेत मनिएको छैन । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, चाँगुनारायणमा यो समस्या बढी छ ।’ मिसनले अघिल्लो पटक पनि अधिकांश सम्पदा भत्किएको र त्यसको संरक्षणको लागि विश्व समुदायबाट ध्यानाकर्षको लागि खतराको सूचीमा राख्नुपर्ने सुझावसहित प्रतिवेदन दिएको थियो । त्यही प्रतिवेदनअनुसार खतराको सूचीमा राख्न ड्राफ्ट तयार भएको थियो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवको नेतृत्वमा नेपालबाट टर्कीको स्तानबुलमा भएको ४२ औं सेसनमा नेपालले ६ वर्षमा बनाइसक्ने प्रतिबद्धता जनाएको थियो । सेसनमा २१ राष्ट्र सहभागी थिए । संरक्षणविद्ले भने खतराकै सूचीमा राखेर भए पनि नेपाललाई संरक्षणमा लाग्न बाध्य पार्नुपर्ने बताएका छन् । ‘खतराको सूचीमा राखेको भए सरकारको ध्यानाकर्षण हुन्थ्यो । अन्तर्राष्ट्रिय समुदायको सहयोग पनि आउँथ्यो,’ युनेस्कोको सल्लाहकार संस्था इमोमस नेपालका प्रमुख काई वाई जेले भने, ‘तर खतराको सूचीमा राख्दैमा डराउनु पर्दैन । झन् सम्पदालाई राम्रो बनाउने अवसर हुन्छ ।’


पुरातत्त्व विभागका अनुसार विश्व सम्पदा क्षेत्रका पशुपतिमा २४ वटा सम्पदा निर्माण भएको छ । १ निर्माणाधीन अवस्थामा छन् । ३ वटा सुरु नै भएका छैनन् । वसन्तपुरमा १७ निर्माण भएका छन् । ६ वटा निर्माणाधीन छन् । ४ वटाको भने निर्माण सुरु नै भएको छैन । स्वयम्भूमा १९ निर्माण सम्पन्न भएका छन् । २ निर्माणाधीन अवस्थामा छन् । भक्तपुरमा १७ निर्माण सम्पन्न भएका छन् । ३ निर्माणाधीन अवस्थामा छन् ।

एउटा सुरु नै भएको छैन । चाँगुनारायणमा ५ सम्पन्न भएको छ । एउटा निर्माणाधीन अवस्थामा छ । पाटनमा ११ सम्पन्न भएका छन् । ५ निर्माणाधीन अवस्थामा छन । एउटाको निर्माण सुरु नै भएको छैन । अहिलेसम्म बौद्धनाथ मात्र निर्माण सम्पन्न भएका छन् ।


विभागका अनुसार काठमाडौं उपत्यका र बाहिरका १७ जिल्लामा गरी ८ सय ९१ सम्पदामा क्षति पुगेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा मात्र ७ सय ५३ सम्पदामा क्षति पुगेका थिए । तीमध्ये १ सय ३३ पूर्ण क्षति र ६ सय २० आंशित क्षति भएका थिए । त्यसमध्ये विश्व सम्पदा क्षेत्रमा १ सय ४० र विश्व सम्पदा बाहिर ६ सय १३ सम्पदामा क्षति पुगेका थिए ।


तीमध्ये विश्व ३ सय ८० सम्पदा बनेका छन् । बनेकामध्ये विश्व सम्पदा सूचीमा रहेका ९६ वटा निर्माण सम्पन्न भएका छन् । सूची बाहिर २ सय ८४ सम्पदा बनेका छन् । १ सय २३ सम्पदा निर्माणाधीन अवस्थामा छन् । सम्पदालाई विश्व सम्पदा, राष्ट्रिय सम्पदा र स्थानीय सम्पदा गरी तीन वर्गमा विभाजन गरेर निर्माण भइरहेको विभागले जनाएको छ ।


विश्व सम्पदाको गुण खस्कँदै आएको विज्ञले औंल्याउँदै आएका छन् । सबैभन्दा पहिला सकिएको भनिएको बौद्धनाथ नै पुरातात्त्विक मापदण्डअनुसार बनेको छैन । चैत्यको गर्भभन्दा माथि कंक्रिट राखेर बनाइएको छ । मेलम्ची घ्याङ गुठीका प्रमुख भूमतिबज्र लामाका अनुसार चैत्यमा सिमेन्ट, रड रोखर निर्माण गरिएको छ । ‘हामीले भन्दा भन्दै समितिले कंक्रिट राख्यो,’ लामा भन्छन्, ‘यहाँको काठ पनि मापदण्डअनुसार छैन । काठको एउटै गिँड राख्नुपर्थ्यो । तर यहाँ गाँसेर राखिएको छ ।’ पुरातत्त्व विभागले पहिला पनि कंक्रिट राखेकाले फेरि पनि त्यही राख्न अनुमति दिएको दाबी गरेको छ । अरू सम्पदामा पनि पुरातात्त्विक मापदण्डविपरीत निर्माण सामग्री प्रयोग भएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा सम्पदाको गुण के थियो ? तिनका लक्षण के थिए ? ती गुण र लक्षण बिग्रँदै गए कि ? बिग्रँदै गएका छन् भने युनेस्कोले खतराको सूचीमा राखिदिन्छ ।


खतराको सूचीमा राख्दा पनि ती सम्पदालाई पहिलाकै अवस्थामा ल्याइएन भने सूचीबाटै हटाइदिन्छ । अहिले हाम्रा सम्पदा यही अवस्थाबाट गुज्रिएका छन् । ‘सम्पदाका गुणमा धेरै ह्रास आएका छन्,’ काई वाइजे भन्छन्, ‘अब विश्व सम्पदा क्षेत्रको पुनरावलोकन गर्नुपर्ने समय आएको छ ।’


विज्ञका अनुसार उपत्यकाका सात विश्व सम्पदा सूचीमध्ये अधिकांशको सुरुका गुण र लक्षण खस्कँदै गएका छन् । पुरातत्त्वविद् भीम नेपालका शब्दमा अहिले सम्पदा कसैको पनि नियन्त्रणमा नभएजस्तो देखिन्छ । सम्पदा क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन लागू भएको छ । तर ती ऐन कार्यान्वयन भएका छैनन् । नेपाललाई पहिलो पटक सन् २००३ मा खतराको सूचीमा राखेको थियो । नेपालले तोकिएको निर्देशनअनुसार संरक्षण कार्य गरेपछि खतराको सूचीबाट हटाएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?