दुइमाजु मन्दिर : सम्झौता खारेजीको माग

काठमाडौं खुलामञ्च छेउको दुइमाजु मन्दिरमा पसल राख्न अनुमति लिएका व्यक्तिले नै सम्झौता खारेज गर्न गुठी संस्थामा निवेदन दिएका हुन्
दामोदर न्यौपाने

काठमाडौँ — ऐतिहासिक दुइमाजु मन्दिर परिसरमा व्यापार गर्ने सम्झौता रद्द गर्न गुठी संस्थानमा निवेदन दर्ता भएको छ । दुइमाजु क्षेत्रमा सरसफाइ गर्ने जिम्मेवारी पाएकी गोरखा तान्द्राङ–२ की अमृता भट्टराईले सम्झौता खारेज गर्न गुठी संस्थानमा निवदेन दर्ता गराएकी हुन् ।

दुइमाजु मन्दिर : सम्झौता खारेजीको माग

कार्यव्यस्तताले सम्झौता कार्यान्वयन गर्न नसकेको उनले निवेदनमा उल्लेख गरेकी छन् । भक्तजन पूजा गर्न आउने ठाउँ कब्जा गरेको भन्दै विरोध भएपछि गत चैतमा यहाँका पसल सञ्चालक आफैंले हटाएका थिए । त्यसको ६ महिनापछि फेरि त्यही ठाउँमा पसल सञ्चालन भएपछि सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासीले विरोध गरेका छन् ।


‘दुइमाजुमा सम्झौताअनुसार पसल सञ्चालन भएको विदितै छ,’ निवेदनमा निवेदनमा भनिएको छ, ‘हाल आएर मेरो कार्यव्यस्तता र अन्य विविध कारणले गर्दा सम्झौताअनुसार जिम्मेवारी बहन गर्न असमर्थ रहेको हुनाले मेरो नामबाट दायित्व कट्टा गरी सम्झौता खारेज गरिदिनु हुन अनुरोध छ ।’


काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुलामञ्च छेउकै यो क्षेत्र कब्जामा परेको थियो । गुठी संस्थानबाट अमृताले अनुमति लिएर अरूलाई पसल सञ्चालन गर्न दिएकी थिइन् । गुठी संस्थान काठमाडौं शाखा कार्यालयका प्रमुख वैकुण्ठप्रसाद रेग्मी र भट्टराईबीच भएको सम्झौतामा मन्दिर परिसर प्रयोग गरेबापत मासिक १५ हजार रुपैयाँका दरले बुझाउनुपर्ने उल्लेख छ । आफूले न्यून मूल्यमा चलाउन अनुमति लिएर भट्टराईले १७ जनालाई भाडामा दिएकी थिइन् । यहाँ गिफ्ट सप, रेडिमेड पसलदेखि जुस पसलसम्म सञ्चालन गरिएका छन् ।


मन्दिरसमेत भित्र पर्ने गरी सटर निर्माण गरिएको छ । मन्दिरको वरिपरि खाट राखिएका छन् । प्रत्येक खाटमा एक जनाको पसल छ । एउटा पसलबाट ५ हजार लिने गरेक छिन् । मन्दिर परिसरको धार्मिक एवम् सांस्कृतिक मूल्य मान्यतामा आँच नआउने गरी व्यवस्थापन गर्नुपर्ने गुठीसँगको सम्झौतामा उल्लेख छ । दुइमाजुका पुजारी उद्धव कर्माचार्यले पसल सञ्चालन गर्दा पूजाआजामा समेत समस्या भएको बताए । ‘नित्य पूजा हुने मन्दिरमा सटर राखिएको छ,’ काठमाडौं क्षेत्र नम्बर ६ का सांसद तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले भने, ‘यो ऐतिहासिक मन्दिर कब्जा भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा समेत यही दुइमाजुबाट शक्ति लिएको इतिहास छ । यस्तो ऐतिहासिक स्थल खुला गर्नुपर्छ ।’


सम्पदा संरक्षण अभियन्ताले मन्दिर परिसर तुरुन्त खाली गर्न अल्टिमेटमसमेत दिइसकेको छ । ‘ऐतिहासिक महत्त्व बोकेको दुइमाजु गुठीको जग्गा सरकारी निकाय र माफियाले आफ्नो स्वार्थको लागि दोहन गरेका छन् । सम्झौताकर्ताले नै सम्झौता रद्द गरिपाउँ भनेपछि गुठीले तुरुन्त रद्द गर्नुपर्छ’ सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले भने, ‘कब्जा गर्नेलाई छानबिन गरी कडा कारबाही गर्नु पर्छ । यो ठाउँ तुरुन्त खाली गरियोस् । नत्र जनताले हस्तक्षेप गरेर हटाइदिन्छन् ।’


महानगरको भवन निर्माण विभागले टहरा बनाउन अनुमति दिएको महानगर वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले बताए । पसल सञ्चालन गर्न सटर बनाउन काठमाडौं महानगरपालिकाका भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्यले सहमति दिएका थिए । त्यही सहमति अनुसार सटर बनाएर पसल सञ्चालन गर्न गुठी संस्थानले अनुमति दिएको हो । ‘गुठीअन्तर्गतको मन्दिर परिसरमा आवश्यक पूजा सामग्री व्यवस्थापन, सरसफाइ, पूजाआजा तथा रेखदेखका लागि गुठीबाट स्वीकृत नक्साबमोजिम सहमति माग भएकोमा मिति २०७५ फागुन १० को सदर टिप्पणी निर्णयअनुसार तहाँबाट पेस नक्सामा फरक नपर्ने गरी अस्थायी टहरा निर्माणका लागि सहमति प्रदान गरिएको व्यहोरा अनुरोध छ,’ शाक्यले गुठी संस्थानलाई लेखेको सहमति पत्रमा उल्लेख छ ।


गुठी संस्थानले अमृताले दिएकी निवेदनबारे के गर्ने भनेर निर्णय नभएको जनाएको छ । ‘हामीकहाँ निवेदन आएको छैन । काठमाडौं शाखामा निवेदन दर्ता भएको सुनेका छौं,’ गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले भने, ‘जिल्ला शाखाले रायसहित जानकारी दिएपछि कानुनअनुसार कारबाही अघि बढ्छ ।’ सम्झौता अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । गुठी संस्थान काठमाडौं शाखा कार्यालय र भट्टराईबीच विभिन्न १३ सर्तमा रहेर व्यवसाय सञ्चालन गर्न सम्झौता भएको थियो ।


हनुमान ढोकासँग सम्बन्ध

हनुमानढोको तलेजु भवानीसँग साइनो छ दुइमाजुको । यसका पुजारी पनि तलेजु भवानीकै हुन् । तलेजु भवानीको सारथीका रूपमा पूजाअर्चना हुने पुजारी कर्माचार्यले बताए । ‘जुन ठाउँमा तलेजु हुन्छन्, त्यो ठाउँमा दुइमाजु पनि हुन्छन्,‘ कर्माचार्यले भने । कर्माचायका अनुसार दुइमाजु भनेको अदृश्य शक्ति हो । अदृश्य शक्तिलाई धोक्रो जस्तो स्वरूपमा छोपिराखिएका हुन्छ । टुँडिखेलको दुइमाजु मन्दिरमा आकृति नदेखिने दुइमाजु छन् । पहिला मन्दिर खुला थियो ।


९० सालको भुइँचालोपछि राणाहरूले मन्दिर निर्माण गरेको कर्माचार्यले बताए । मन्दिर ‘निओ क्लासिकल’ वास्तुअनुसार बनेको छ । दुइमाजुमा चैत मसान्तको दिन विशेष पूजा हुन्छ । कर्माचार्यका अनुसार यो दिन बिहान हनुमानढोकाको मूलचोकको श्रीको आँगनमा तान्त्रिक पूजा गरिन्छ । त्यही दिन बिहान टुँडिखेलमा दुईवटा लिंगो ठड्याइन्छ । १२ फिटको लिंगो ठड्याइएपछि हनुमानढोकामा पूजा हुन्छ । हनुमानढोकाबाट दुइमाजुमा पूजा लगिन्छ । गुर्जुको पल्टनले बाजा बजाउँदै मुकुट लगिन्छ । बेलुका बलि दिइन्छ । जयप्रकाशको खड्गलाई सुरक्षा दिएर लगिन्छ ।


‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि काठमाडौंका अन्तिम मल्लराजा जय प्रकाश मल्लसँग यहाँका पर्व परम्परा निरन्तरता दिने वाचा गरेका थिए,’ कर्मचार्यले भने, ‘खड्ग पूजा त्यसैको उदाहरण हो । यहाँका सबै संस्कृतिलाई सहज रूपमा मानेकै कारण शाहवंशलाई यहाँका नेवारले स्विकारेका थिए । त्यो बेलामा त संस्कृति जोगिएको थियो, अहिले प्रजातन्त्र, गणतन्त्रमा चाहिँ यहाँका संस्कृतिमाथि एकपछि अर्को गर्दै प्रहार भइरहेका छन् ।’

प्रकाशित : आश्विन २८, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?