१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

द्यो ब्वोय्केगु

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरको नवदुर्गा देवगण नाचको इतिहासमा पहिलोपल्ट आइतबार कोजाग्रत पूर्णिमाको अवसरमा द्यो ब्वोय्केगु (नवदुर्गा देवता प्रदर्शन) गरिएको छ । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारी नवदुर्गा देवगणको दर्शन, पूजा र प्रसाद ग्रहण गर्न आउने अवसर पारेर द्यो ब्वोय्केगु आयोजना गरेको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । 

द्यो ब्वोय्केगु

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन राष्ट्र प्रमुख नवदुर्गा मन्दिरमा पूजाआजाका लागि आउने प्रचलन छ । सोही प्रचलनअनुसार कोजाग्रत पूर्णिमाको दिन दर्शनका लागि आउँदा राष्ट्र प्रमुखलाई द्यो ब्वोय्केगु कार्यक्रम गर्ने धेरै वर्ष अघिदेखिको प्रयास पूरा गरेको समितिका अध्यक्ष वृजेश वनमालाले बताए ।


द्यो ब्वोय्केगुका लागि सूर्यविनायक नगरपालिकाले १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको समितिका सचिव रत्नमान वनमालाले बताए । नवदुर्गा देवगणको द्यो ब्वोय्केगु सर्वसाधरणले आफ्नो भाकल गरेको मनोकामना पूरा भएमा इच्छाअनुसार गर्न सकिने उनले बताए । द्यो ब्वोय्केगुमा नवदुर्गा देवगणलाई गच्छेअनुसार भोज चढाउने गरिन्छ ।


नवदुर्गा भवानीको नाच व्यवस्थापन एवं मौलिक जात्रा संरक्षणका लागि ५२ लाख १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिने भएको छ । अक्षयकोषका लागि जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालको संयोजकत्वमा १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघको ५ लाख १५ हजार रुपैयाँ गरी कुल २० लाख १५ हजार रुपैयाँ नवदुर्गा देवगण तथा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । अक्षयकोषको उक्त रकम राष्ट्रपति विद्यादेवी भण्डारीले श्री नवदुर्गा गण तथा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी हुन् । अक्षयकोषका लागि समितिले ३२ लाख रुपैयाँ संकलन गरेको समितिका सचिव वनमालाले बताए ।


राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति भण्डारीले पूजा तथा प्रसाद ग्रहण गरेकी छन् । प्रत्येक वर्ष वडादसैंको अन्तिम दिन राष्ट्र प्रमुखद्वारा नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्ने प्रचलन छ । राजा हुँदा राष्ट्र प्रमुखको हैसियतले राजाबाट प्रसाद ग्रहण हुन्थ्यो । गणतन्त्र स्थापनापश्चात् राष्ट्रपतिबाट प्रसाद ग्रहण हुँदै आएको छ ।


राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पूजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको पूजा गराई टीका एवं प्रसाद प्रदान गरेका छन् । राष्ट्रपति भण्डारीलाई नवदुर्गा देवगणका मूल पूजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका छन् । प्रसाद ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा नाच अवलोकन गरी नवदुर्गाका पूजारी, नाइके र देवगणलाई जनही १ सय ५० का दरले दक्षिणा प्रदान गरेकी छन् ।

प्रकाशित : आश्विन २७, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?