कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमै टीका

फातिमा बानु

काठमाडौँ — धादिङका ८१ वर्षीय दलबहादुर बानियाँले अघिल्लो वर्षझैं घरको आँगनमा छोरीहरूलाई टीका लगाइदिन पाएनन् । २० दिनअगाडि बेस्सरी ज्वरो आएपछि अस्पताल भर्ना भएका उनी घर फर्केर दसैं मनाउन नपाउँदा दुःखी छन् ।

अस्पतालमै टीका

व्यथाले झन्झन् गाल्दै लगेपछि बोल्नै नसकेर दुई सातादेखि बसुन्धारास्थित बीपी स्मृति अस्पतालको मेडिकल वार्डमा भर्ना भएका छन् । चार दिन आईसीयूमा बसेपछि अहिले अक्सिजनबिना एकछिन पनि श्वास फेर्न नसक्ने भएका छन् । अस्पतालको बेडबाटै उनले पाँच छोरी, ज्वाइँ अनि नातिलाई टीका लगाएर आशीर्वाद दिए । अघिल्ला वर्षको दसैं सम्झिँदै बानियाँकी छोरी पुनमले भनिन्, ‘दसैंको दिन बुवा आफैं उठेर मासु पकाउनुहुन्थ्यो । हामीसँग रमाइलो गर्नुहुन्थ्यो ।’


अस्पतालमै भए पनि बुवाको हातबाट टीका थापेर आशीर्वाद लिन पाउँदा बानियाँ दिदी–बहिनी खुसी देखिन्थे । तर, झन् थलिएकोमा चिन्तित छन् । दलबहादुर भने टीकाको दिन बिहानसम्म घरै जाने, उतै दसैं मनाउने भनेर जिद्दी गरिरहेका थिए । चिकित्सकले पनि ‘बुवालाई घरै पुर्‍याएर दसैं मनाइदिनु’ भन्दा पनि छोरीहरूले जोखिम लिन मानेनन् । ‘बुवालाई राति गाह्रो हुन्छ, अचानक दुख्यो, घोच्यो भन्नुहुन्छ,’ पुनमले भनिन् ।


परिवारका अनुसार दलबहादुर चार वर्षदेखि दमको बिरामी छन् । अहिले फोक्सोमा पानी जमेको छ । मुटुको नसा पनि फुलेको छ । बढ्दो उमेरका कारण शल्यक्रिया गर्न थप जोखिम छ । नेपालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बैंग्लोर लैजाने उनीहरूको तयारी छ ।


तनहुँकी ६० वर्षीया जानुका लोडारीले पनि यस वर्षको दसैं अस्पतालको बेडबाटै मनाइन् । छोरा–बुहारी र नातिनीलाई अस्पतालमै बोलाएर टीका लगाइदिइन् । अघिल्लो वर्ष एकै पटक ५० जनालाई आँगनमा भेला पारेर पालैपालो टीका लगाइदिएको सम्झेर उनलाई नरमाइलो लागेको छ । ‘न कुल देवताको पूजा गर्न पाइयो न खसी काटियो,’ उनले भनिन्, ‘यसपालि त दसैं नै अस्पतालको बेडमा बित्यो ।’


पेटको शल्यक्रियाका कारण उनी घर जान सकेकी छैनन् । खोकी लागेर राम्ररी बोल्नसमेत सक्दिनन् । टीकाको दिन वरिपरि परिवारका सदस्यले घेरिन पाउँदा उनी हाँसिरहेकी थिइन् । नातिनीलाई टीका लगाउँदै उनले भनिन्, ‘यसपालि यस्तै भयो । अर्को वर्ष घरमै टीका लगाउँला ।’ उनी पनि बीपी स्मृति अस्पतालमै उपचाररत छिन् ।


दलबहादुर र जानुकाजस्तै धेरैले अस्पतालमा दसैं मनाए । टीका थाप्न आफन्त अस्पतालको शय्यामै आए । थापाथलीस्थित प्रसूति गृहमा मात्रै यस वर्ष २ सय बिरामीले अस्पतालमै दसैं मनाए । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार भर्खरै शल्यक्रिया गरिएका बिरामीलाई डिस्चार्ज गर्न नमिल्ने हुँदा उनीहरू अस्पतालमै बस्छन् । ‘धेरैजसो बिरामीले आफन्त बोलाएर अस्पतालमै टीका लगाए, कोहीले यो वर्ष यत्तिकै भो भनेर दसैं मनाएनन्,’ उनले भने ।


प्रसूती गृहमा जस्तै वीर अस्पतालको ट्रमा सेन्टरमा पनि यो वर्ष ५० बिरामी घर जान पाएनन्् । उनीहरुका आफन्त अस्पतालमै आएर दसैं मनाए । यहाँ भर्ना भएका अधिकांश बिरामी खुट्टा, मेरुदण्ड, टाउको र ढाडको शल्यक्रिया गरिएका छन् । उनीहरूका आफन्त अस्पतालमै आएर टीका लगाए । अस्पतालका निर्देशक डा.प्रमोद यादवका अनुसार घाउ निको नभएका र कोमाका बिरामी अस्पतालमै रहे । ‘कति बिरामीको भाँचिएको खुट्टा झुन्ड्याएर राखिएको हुन्छ, कतिको इम्प्लान्ट राखिएको हुन्छ, घर पठाउन मिलेन,’ उनले भने ।


प्रकाशित : आश्विन २५, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?