ब्युँत्याइँदै लोपोन्मुख पोखरी

स्थानीय तहमा जनप्रतिनिधि आएपछि ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका पोखरी संरक्षणमा नगरपालिकाको विशेष पहल
लीला श्रेष्ठ

(भक्तपुर) — मध्यपुर थिमिका सुख्खा रहेका दुई पोखरी निर्माणको चर्चा २५ वर्षअघिदेखि चलेको थियो । पुनर्निर्माण गर्न उपभोक्ता समिति पनि बनेको थियो । अझ १० वर्ष अघि त नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको थियो । ०७१ मा ट्यांकरबाट पोखरीमा पानी राख्ने प्रयास गरियो, तर खन्याएको पानी नै अडिएन । परिणाम स्थानीयका लागि बिस्कुन सुकाउने थलो बन्यो ।

बालबालिका फुटबल खेल्ने र भूकम्पपछि पीडितको टहरा समेत बनाइयो । स्थानीय निर्वाचनपछि जनप्रतिनिधि पोखरीलाई पुरानै अवस्थामा फर्काउन लागि परे । निर्माण सुरु भएको ६ महिनामा २०१५ अघिकै जस्तो पानीले भरिएको अवस्थामा ल्याउन उनीहरू सफल भए । पोखरी वरिपरि इँटाको पर्खाल लगाइयो । त्यही पैदल मार्ग र टोलबासी टहलिन र आराम गर्न कुर्सीको समेत व्यवस्था गरिएको छ ।

जनप्रतिनिधिले दुई पोखरी जस्तै मध्यपुर थिमिकै घाँसेमैदानमा परिणत भइसकेको विष्णुकुण्डलाई पनि पुरानै स्वरूपमा फर्काएका छन् । स्थानीयबासीका लागि टहल्ने मुख्य गन्तव्य विष्णुकुण्ड भएको छ ।

भक्तपुर नगरपालिकाले दूधपाटीको भाज्या पुखुलाई बिउँत्याएको छ । घाँसे मैदानलाई नगरपालिकाले मौलिक पुल निर्माण गरी आकर्षक पोखरीको स्वरूपमा ल्याइएको छ । त्यसैगरी, काठमाडौंको रानी पोखरीभन्दा पुरानो भक्तपुर–१ सल्लाघारीको रानी पोखरीको संरक्षणमा नगरपालिका जुटेको छ । पोखरी झारेले ढाँकिसकेको थियो । वरिपरिको पर्खाल भत्किएर भग्नावशेषमा परिणत थियो । नगरपालिकाले सैनिक हाताभित्रको पोखरीको वरिपरि चुना, सुर्की र इँटाको गाह्रो लगाएर संरक्षण थालेको हो ।

जनप्रतिनिधि आएपछि अलपत्र रहेका सम्पदा र पोखरीलाई वर्षौंअघिकै अवस्थामा ल्याउन प्रयास थालेका हुन् । त्यस्तै, व्यक्तिको नाममा दर्ता गरी किनबेच भएका पोखरीलाई समेत नगरपालिकाका जनप्रतिनिधिको पहलमा सार्वजनिक बनाइ बनाई संरक्षणको थालनी भएको छ । ‘पुर्खाले सिर्जेको सम्पदा, संस्कृति जोगाउने जिम्मा हाम्रो काँधमा आएको छ,’ मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘आगामी पुस्तालाई हाम्रो पहिचान देखाउन पनि मौलिक संरचना जोगाउनुपर्छ ।’

मध्यपुर थिमि–४ स्थित दुईपोखरी (निगुपुखु) संरक्षणको पहिलो चरणमा सानो पोखरीको चारैतिर इँटाको पर्खाल लगाई, कालीमाटी बिछ्याएर, इँटा छापेर पानी भरिएको छ । सुरुमा ६ इञ्च कालीमाटी, ३ इञ्च पाङ्गो माटो र पुन: ६ इञ्च कालीमाटी गरी १५ इञ्च माटो बिछ्याएपछि इँटा सोलिङ गरेर पानी टिकाउने काम भएको छ । पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले ०७५/७६ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । दुईपोखरी अन्तर्गत ठूलो पोखरी संरक्षण तथा पुनर्निर्माणका लागि चालु वर्ष ०७६/७७ मा डेढ करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

आकाशेपानी संकलन गरेर प्रशोधन गरेपछि दुईपोखरीमा पानी भर्ने प्रस्ताव अनुरुप पुनर्निर्माण भइरहेको पोखरी संरक्षण पुनर्निर्माण समिति अध्यक्ष निरञ्जन श्रेष्ठले बताए । पोखरी पुनर्निर्माणका लागि नगरपालिकाले करिब १५ करोडको लागत इष्टमेट तयार गरेको छ । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी योजना अघि बढेको नगरपालिकाले जनाएको छ । पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा दुईपोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए ।

त्यस्तै, डेढ वर्ष अघिसम्म ऐतिहासिक, सांस्कृतिक महत्त्वको विष्णुकुण्डका कथा स्थानीयबासिन्दा सुनाउँथे । विष्णुकुण्डबारे ‘कान्तिपुर दैनिक’ मा समाचार प्रकाशित भएपछि निर्वाचित जनप्रतिनिधि र स्थानीय युवाको पहलमा मध्यपुर थिमि–४ स्थित यो कुण्डले ब्युँझिने मौका पाएको छ । डेढ वर्ष अघिसम्म घाँसे झाडीमा हराएको विष्णुकुण्डलाई मध्यपुर थिमि नगरपालिकाले जीर्णोद्धार गरी मुहार फेरिदिएको हो । संरक्षणको अभावमा पुखु: भासिएर लोप अवस्थामा पुगेको थियो । कुण्डको वरिपरिको इँटाको पर्खाल लगाएर पुखु: परिक्रमा गर्ने पदैल माग निर्माण गरिएको छ । पोखरीको वरिपरिको राजकुलो व्यवस्थापन तथा पार्क स्थापना गर्ने लक्ष्य पूर्ति गर्न नगरपालिकाले चालु वर्ष ०७६/७७ मा २५ लाख रुपैयाँ विनियोजन गरेको नगरप्रमुख श्रेष्ठ बताउँछन् । उपभोक्ता समितिमार्फत् नगरपालिकाले करिब १ करोड रुपैयाँ लागतमा विष्णुकुण्ड पुनर्निर्माण गरेको हो ।

नेवार संस्कारमा घण्टाकर्णका दिन विष्णुकुण्डमा स्नान नगरे शुद्ध नहुने जनविश्वास छ । ‘विष्णुकुण्डमा स्नान गरे शरीरमा घाउ खटिरा आउँदैन, आएको खाउ खटिरा पनि हराउँछ भन्ने विश्वास छ,’ स्थानीय विकेश श्रेष्ठले भने । पोखरी संरक्षणका लागि स्थानीयबासिन्दाले श्रमदान समेत गरेको उपभोक्ता समिति अध्यक्ष रूपेश श्रेष्ठले बताए ।

सम्पदा संरक्षणमा उदाहरणीय काम गर्दै आएको भक्तपुर नगरपालिकाले नेपाली सेनाको घेरामा रहेर संरक्षणविहीन रानीपोखरीको संरक्षणमा सेनासँग समन्वय गरेको छ । चर्चामा नरहेको भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनर्निर्माण गर्न नगरका जनप्रतिनिधि जुटेका छन् । नगरपालिकाले पोखरीको सरसफाई गरी वरिपरि पर्खाल लगाउन सुरु गरेको वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए । पोखरीलाई मौलिक शैलीमा पुनर्निर्माण तथा संरक्षण गर्न भक्तपुर नगरका जनप्रतिनिधिले पटक/पटक पुरातत्त्वविद्, इतिहासविद्हरूसँग छलफल र अन्तरक्रिया गरी प्राप्त प्रमाणका आधारमा काम सुरु गरेको उनले बताए ।

संरक्षण अभावमा अलपत्र परेको पुतली बगैंचा सहितको रानीपोखरी संरक्षणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको नगरपालिकाले जनाएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको रानीपोखरी संरक्षण अभावमा कुरुप बनेको थियो । २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत अधिग्रहण गरेको थियो ।

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको रानी पोखरी काठमाडौंको रानीपोखरी भन्दा ४० वर्ष पुरानो हो । काठमाडौंको रानीपोखरी नेपाल संवत् ७९० अर्थात् विसं १७२७ मा प्रताप मल्लले बनाएका हुन् । ‘काठमाडौं रानीपोखरीभन्दा भक्तपुरको रानीपोखरी पुरानो देखिन्छ,’ इतिहासविद् श्रेष्ठले भने, ‘कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा भक्तपुरको पश्चिममा रहेको रानीपोखरीबाट आक्रमण गरेका थिए ।’ श्रेष्ठका अनुसार सुन्दर पोखरीको संरचना बिगारेर राज प्रताप मल्लले कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे । पोखरीका कलाकृति लैजानुले आफ्नो सहरमा पनि त्यस्तै पोखरी बनाएको सहजै अनुमान गर्न सकिने श्रेष्ठ बताउँछन् ।

भक्तपुरका भाज्या पुखु, सिद्धपोखरी, रानीपोखरी देखेपछि प्रताप मल्लले आफ्नो दरबारको पूर्वमा रानीपोखरी बनाएको उनको दाबी छ । नेपाल संवत् ७९८ मा जितामित्र मल्लले पोखरीको जीर्णोद्धार गरेपछि ‘न्हु पुखु’ नामले पनि यो पोखरी चिनिन थालेको श्रेष्ठले बताए । रानीपोखरी संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाले ०७५/७६ मा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको योजना तथा सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले बताए । उपभोक्ता समितिमार्फत् पुनर्निर्माण थालेको रानीपोखरी संरक्षणका लागि नगरपालिकाले २ करोड ६३ लाख १३ हजार रुपैयाँ इष्टमेट गरेको समेत उनले बताए । भाज्या पुखु घाँसे झाडीमा परिणत भएको धेरै भएको थियो । कतैकतै थोरै पानी देखिन्थ्यो । बीच भागमा पुराना इँटाको टुक्राको टापु जस्तो देखिन्थ्यो । दुई दशकदेखि अलपत्र यो पोखरीको संरक्षणको प्रयास स्थानीयबाट भए पनि ठोस काम हुन सकेको थिएन ।

भक्तपुर नगरपालिका–१ को भाज्या पुखु: जीर्णोद्धार समितिका संयोजक इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले पुखु:को इतिहाससहितको प्रतिवेदन तयार गरेपछि पुनर्निर्माणको काम अघि बढेको छ । प्रतिवेदनकै आधारमा भाज्या पुखुको पुनर्निर्माण थालेको नगरप्रमुख प्रजापतिले बताए । इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार १२ औं शताब्दीमा बनेको भाज्या पुखुको अन्तिम प्रतिवेदन इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख र विभिन्न क्षेत्रका सरोकारवालाको रचनात्मक सुझाव तथा टिप्पणीलाई समावेश गरी तयार गरेको बताए ।

सम्पदा संरक्षणमा अगाडि बढेको जिल्लाका रूपमा भक्तपुर नगरपालिकाले परिचय दिन सफल हुँदै गएको उल्लेख गर्दै प्रजापतिले भाज्या पुखुलाई मौलिकशैली चुना, सुर्की र इँटाको प्रयोग गरी पुल निर्माण गरेको बताए । भाज्या पुखु काठमाडौंको रानी पोखरीभन्दा पाँच सय वर्ष पुरानो भएको र पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको अनुसन्धानले पुष्टि गरेको श्रेष्ठले बताए । नगरपालिकाले पनि शिखरशैलीको जलेश्वर मन्दिर पुनर्निर्माणको तयारी गरेको उपभोक्ता समिति अध्यक्ष कृष्णप्रसाद दुमरूले बताए । जलेश्वर मन्दिर पुनर्निर्माण गर्ने नगरपालिकाले १ करोड ९ लाख ३२ हजार रुपैयाँ स्टमेट गरेको छ । बालबालिकाको खेल्न चउरमा परिणत भएको पलिस्वाँ पुखुको कथा बुढापाका पाटीमा बसेर सुनाउँथे । ऐतिहासिक पोखरीलाई भूमाफियाले आफ्नो नाममा बनाए । निकैपल्ट किनबेच पनि भयो । मध्यपुर थिमि बोडेबासीले ऐतिहासिक पोखरीको जग्गा सार्वजनिक हुनुपर्ने भन्दै चार दशकसम्म प्रशासनसँग लडे ।

अब भने पलिस्वाँ पुखु: (कमलपोखरी) संरक्षणको आवाज उठाउँदै आएका मध्यपुर थिमि–८ बोडेबासीको अपेक्षा पुरा हुने भएको छ । स्थानीय तहको नेतृत्व जनप्रतिनिधिले सम्हालेको २ वर्षमा ऐतिहासिक पलिस्वाँ पुखुको संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धार सुरु भएको छ । पुखु संरक्षणको पहिलो चरणमा नगरको ७५ लाख रुपैयाँको लागतमा सीमाङ्कन तथा सीमा पर्खालको काम सम्पन्न भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

जिल्ला अदालत भक्तपुरले २०७५ असार २० मा विभिन्न व्यक्तिको नाममा बिक्री हुँदै आएको ऐतिहासिक पलेस्वाँ पुखुलाई सार्वजनिक पोखरीका रूपमा कायम गर्ने फैसला गर्‍यो । अदालतले २०३५ देखि व्यक्तिले हकदाबी गर्दै बिक्री गरेको पोखरीको १५ रोपनी ९ आना जग्गा मध्यपुर थिमिबासीको सार्वजनिक सम्पत्ती रहेको र संरक्षण गर्ने आदेशसहित फैसला सुनाएको हो । उक्त फैसलासँगै नगरपालिका ऐतिहासिक महत्त्वको पलिस्वाँ पुखु संरक्षणमा लागेको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।

पलिस्वाँ पुखु संरक्षणका लागि नगरपालिकाले गुरुयोजना तयार गरेको जनाएको छ । गुरुयोजनामा पुखु:को बीच भागमा कमलको फूलको प्रतिमा रहने, चारैतिर फूटपाथ रहने उल्लेख छ । पोखरी संरक्षण, पुनर्निर्माणका लागि चालु वर्ष ०७६/७७ मा १ करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

प्रकाशित : आश्विन २५, २०७६ ०९:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फिल्म समीक्षा : “छक्का पन्जा” कै परिष्कृत रूप

सुशील पौडेल

काठमाडौँ — तेस्रो विश्वयुद्ध भयो भने पानीका लागि हुन्छ भनिन्छ । पानीको संकट विश्वव्यापी रूपमा बढिरहँदा जलस्रोतको धनी देश मानिने नेपालमा यसको असर कत्तिको होला ? झिसमिसेमा नै गाग्री बोकेर घण्टौं टाढाको पँधेरामा जान बाध्य गाउँलेलाई मात्र हैन, दशकौंदेखि मेलम्चीको पानी कुरेर बसिरहेका काठमाडौंवासीले समेत पानी संकटको पीडा भोग्दै आइरहेका छन् ।

कञ्चनपुर गोदावरी गाविसको घडेरी गाउँका बासिन्दालाई पिउने पानी अभावको पीडा उस्तै छ । २०४५ सालको भुइँचालोले मुहान सुकाएपछि गाउँले काकाकुल बनेका छन् । हरेक चुनावमा यही गाउँको मत उम्मेदवार जिताउनका लागि निर्णायक त बन्दै आएको छ । गाउँलेले जनप्रतिनिधि चुनाएर पठाइरहे पनि पानी ल्याउन भने सकिरहेका छैनन् । पानीकै समस्या विकराल बन्दै जाँदा घडेरी गाउँमा बिहेबारी गरेर छोरीचेली पठाउन कोही तयार छैनन् । युवाहरू छिप्पिसक्दा पनि घरजम बसाउन पाइरहेका छैनन् ।
उमेरले ४२ पार भइसकेको बीपी पौडेल (दीपक) को हालत पनि उही हो । बूढी आमा बुहारी आउली र हातेसारो होला भन्ने आशामा छिन् । तर बीपीको उद्देश्य घरमा नानी भित्र्याउनुअघि गाउँमा पानी ल्याउन चाहन्छ । अझ उसको बुबा (प्रकाश) जो विगतमा सशस्त्र आन्दोलनसमेत गरेर आएको एक निष्ठावान् क्रान्तिकारी कार्यकर्ता, छोरालाई घरजममा भन्दा राजनीतिमा लाग्न र आफ्नो विरासत धान्न स्कुलिङ गरिरहन्छ । पढाइमा अब्बल छँदाछँदै पनि बीपी पार्टीको झोला बोकेर राजनीतिकै आडमा गाउँमा पानी ल्याउने सपना साँचिरहेको छ । यही कथाव्यथामा आधारित छ, फिल्म ‘छ माया छपक्कै’ ।

दीपेन्द्र लामाले आफ्नै कथामा निर्देशन गरेको उक्त फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा छ । लामाको कप्तानीमा जोडिएका छन्, यसअघि ‘छक्का पन्जा’ सिरिजबाट मनग्गे दर्शक कमाइसकेको दीपक–दीपासहितको टिम । हास्यप्रधान फिल्मबाट आफूलाई स्थापित गराइसकेका दीपक–दीपा यतिबेला ‘छ माया छपक्कै’ मार्फत् सामाजिक मुद्दामा अझ बढी केन्द्रीकृत भएका छन् । फिल्म पानीको दु:ख, राजनीतिक वितृष्णा र माया मोहमा अन्तरसम्बन्धित छ ।

पानीमाथिको राजनीतिमा विश्वमा धेरै फिल्म बनेका छन् । सन् १९२१ मै ल्यामबर्ट हिलयरको ‘थ्री वर्ड ब्रान्ड’ होस् वा रोबर्ट ब्राटबरीको सन् १९३३ को ‘राइडर्स अफ डेस्टिनी’ । अथवा, जोसेफ कानको सन् १९३६ को ‘किङ अफ द पिकस’, डिक क्लेमेन्टको ‘वाटर’ सबै फिल्मको केन्द्रीय द्वन्द्व पानीमा नै केन्द्रित छन् । पानी संकट र यसमाथिको राजनीति नयाँ पनि हैन र पुरानो भएको पनि छैन । सन् २०१० मै द हग्स ब्रदर्सले बनाएको फिल्म ‘द बुक अफ इली’ को मुख्य कथा पनि पानीमाथिको स्वामित्व लडाइँलाई नै लिएर छ । ‘क्वान्टम अफ सोलेस’ वा ‘ब्याटम्यान बिगिन्स’ ले पनि कतै न कतै पानीकै कथालाई उठाएको पाइन्छ । नेपालमा भने बलिउडको धङधङीबाट माथि उठेर फिल्ममा बल्ल सामाजिक मुद्दा उठ्न थालेका छन् । ‘छ माया छपक्कै’ पछिल्लो उदाहरण हो ।

फिल्मले घडेरी गाउँको विशेष समस्यालाई समग्र देशको राजनीतिक, सामाजिक परिदृश्यमा सामान्यीकरण गर्ने प्रयास गरेको छ । कम्युनिस्ट राजनीतिलाई नै मूल कर्म बनाएर दत्तचित्त लागेको एक बाबु, छोरालाई पनि क्रान्तिकारी बनाउन चाहन्छ । उता, छिमेकी टोड्के गाउँसँग राजनीतिक दुश्मनी चर्को छ । तर त्यही गाउँकी अध्यक्षकी छोरी जल (केकी) बीपीको जीवनमा मायाको अर्को युद्ध लिएर छिर्छे । बाबुले पानीका लागि राजनीतिको सहारा लिइरहँदा बीपीको उद्देश्य पनि गाउँमा पानी ल्याउने नै छ तर यसका लागि घृणा र द्वन्द्वको सट्टा छिमेकीसँग प्रेमको हतियार प्रयोग गर्छ ।

‘छक्का पन्जा’ सिरिजमा पनि कहिले वैदेशिक रोजगारी त कहिले डिपेन्डेन्ट भिसामा बिदेसिनेका कथा नभनिएका हैनन् । तर ती फिल्मको हास्य प्रस्तुतिको ओझेलमा परे । अथवा, ती फिल्म विषयप्रधान भन्दा हास्यप्रधान भइदिए । यस सिरिजका अधिकांश दर्शकले पनि ‘छक्का पन्जा’ लाई पनि यसैगरी बुझ्दै आएका छन् । तर त्यही बुझाइमा ‘छ माया छपक्कै’ हेर्न गएमा हाँसोको पारो त्यही तहमा नपाउन सक्छन् । सोझै भन्दा, ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरिसकेका दीपेन्द्रको प्रवेशको असर पनि हुन सक्छ, यसपटक जबरजस्ती हसाउनकै लागि अनुप्रास मिलाइएका र टुक्का जोडिएका संवादको उतिसारो प्रयोग गरिएको छैन । उसो त पटकथा दीपकले नै तयार पारेका हुन् । यस अर्थमा, दीपक समूहले पनि आफूलाई परिपक्व बनाउँदै लगेको छनक पाइन्छ ।

फिल्मले राजनीतिलाई पूर्णत: नकारात्मक दृष्टिकोणबाट व्याख्या गर्छ । दीपेन्द्र निर्देशित फिल्मले गाउँमा चलिरहेको दलीय राजनीतिको बदख्वाइँ गर्दै गाउँ विकासमा दलको भर पर्न नहुने सन्देश दिन्छ । जानेर वा नजानेरै फिल्मले एक दलीय पञ्चायती व्यवस्थाको पक्षपोषण गरेको भान हुन्छ । अर्कोतर्फ, ‘छक्का पन्जा’ सिरिजमा महिलामाथि कटाक्ष गरेको भन्दै चर्को विरोध झेल्दै आएका दीपक–दीपा समूहले यसपटक ‘छ माया छपक्कै’ मा सायद त्यसको सामना गर्नुपर्ने छैन । बरु धेरथोर महिला पात्रलाई सकारात्मक रूपमै उभ्याएका छन् ।

सामाजिक र सामयिक कथा उठान गरेको फिल्मले पटकथाको मूल द्वन्द्वमा पानी संकटलाई त प्रस्तुत गरिएको छ नै, द्वन्द्वलाई चर्काउने सहायक कथाहरूलाई मजबुत बनाउन समय खर्चिएको छैन । बीपीकै दलबाट बारम्बार नेता चुनिएर गएपनि घडेरी गाउँको पानी समस्याप्रतिको उसको उदासिनता र चुनावमा सोही गाउँका मतदाताको अहंभूमिकाबीचको रस्साकसीलाई सतहमा मात्रै उठाएर मायामोहको चक्करमा बढी ढल्कन पुगेको छ । फिल्मका कतिपय दृश्य ‘क्लिसे’ र पात्रहरू फजुल लाग्छन् । बीपीका जँड्याहा काका, जलका दाजु, बुबा, प्रवीण (जितु) र उसकी प्रेमिकाको भूमिकालाई थप मजबुत बनाउन सकेको भए सुनमा सुगन्ध हुन सक्ने थियो ।

‘छ माया छपक्कै’ दीपक–दीपाको ‘छक्का पन्जा’ सिरिजको परिष्कृत रूप हो । तर अझै पनि यसका कलाकार दीपक, जितु वा केदारले आफ्ना चरित्र चित्रणमा नयाँपन दिन सकिरहेका छैनन् । गीत, संगीत फिल्मको धारअनुकूल बन्न र ‘प्लेसिङ’ उचित हुन सकेको छैन ।

छ माया छपक्कै
निर्देशक :दीपेन्द्र लामा
कलाकार :दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा
थपलिया, अनुराग कुँवर, सविन बाँस्तोला, शिशिर वाङ्देल

प्रकाशित : आश्विन २५, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT