२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

४० वर्षपछि नवदुर्गा नाच

कान्तिपुर संवाददाता

(ललितपुर) — ललितपुरको पाटन दरबार क्षेत्रमा ४० वर्षपछि नवदुर्गा नाच देखाइएको छ । लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी, मल्लकालीन तलेजु भवानी देवीको जात्रा र पाटन पट्को टोल आगम घरस्थित डबलीमा नवदुर्गा नाच देखाइएको हो । 

४० वर्षपछि नवदुर्गा नाच

दसैंको टीकाको दिन राति १ बजे देखाइएको थियो । मध्यरातमा पनि नाच हेर्न सर्वसाधरणको भीड लागेको थियो । नाच प्रदर्शन गर्न मंगलबार ठेचोस्थित देवता घरबाट देवगणहरू मंगलबजार पुगेका थिए । मंगलबजार प्रस्थान गर्नुअघि गुठी घरमा ११ देवगण, ३ जना नाइके, ४ जना बाजा बजाउने र अन्य गुठियार गरेर ३४ जनाले देवता घरमा भालेसहितको बलि चढाई पूजा गरेका थिए । तन्त्र साधना गरिएको मोहनी सिन्ह: (कालो तिलक) लगाएका थिए । पट्को टोलमा नाच प्रदर्शनपछि ललितपुर महानगरपालिका–१६ वडाध्यक्ष निर्मल रत्न शाक्य र पट्को टोल सुधार समितिका प्रतिनिधिले नवदुर्गालाई पूजा गरेका थिए ।


पाटन दरबारमा मनमानेश्वरी देवी र ठेचोको नवदुर्गा भवानी देवीबीच ढोगभेट गराइएको थियो । मनमानेश्वरी देवीलाई भैरव, काली र बाराही देवगणले फूलमाला चढाए । मू छेँ आगम घरका मूल गुठीयार साम्राज्य देव श्रेष्ठका अनुसार मनमानेश्वरी देवी दुर्गा भवानीको रूप हुन् । ‘यो विजयादशमीमा दुर्गा भवानीले मानवलाई दु:ख दिने दानवको बध गरेको खुसियालीमा विजय उत्सव मनाएको हो,’ उनले भने ।


दसैंको अवसरमा पाटन दरबार क्षेत्रमा घटस्थापनादेखि साता दिन पाटन नकबहिलको अष्टमात्रिका नाच, विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा चार दिन ठेचोको नवदुर्गा नाच र त्यसपछि एक महिना कात्तिक नाच देखाउने परम्परा छ । पाटन दरबारमा नृत्य प्रदर्शन सकेपछि एकादशीमा नवदुर्गा गुठियार सुनाकोठीस्थित कोत घरमा पुगेका थिए । त्यहाँ गुठियार दुई जनाले अघि–पछि हातमा मुस्या: (चिराग) बोकेर देवगण, वाद्यवादक बीचमा राखेर सुनाकोठी परिक्रमा गरेका थिए । नगर परिक्रमालाई स्थानीय भाषामा देशाच्यगु भनिन्छ ।


सुनाकोठी क्व: लाछी टोलको डबलीमा आइपुग्दा पूजा गर्नेको भीड लागेको थियो । डबलीमा पुगेपछि सुरुमा भैरव, काली र बाराही देवगणले नृत्य प्रदर्शन गरेका थिए । कुमारी देवीबाट सुनाकोठीका नाइकेलाई प्रसाद ग्रहण गराइएको थियो । यो जात्राको मुख्य आकर्षण हो । अन्तमा कुखुराको भाले बलि चढाई पा:ता: (एक प्रकारको कचौरामा कालो जाँड राखी पिउने) लिनुपर्छ । साँझ ठेचोमा पुगेर नगर परिक्रम र चापागाउँ पुगेका थिए । अन्तमा ठेचो तल्लो लाछीको डबलीमा नृत्य प्रदर्शन गराएपछि नाच सम्पन्न भएको थियो । अब नवुदर्गा नाच चतुदर्शी र कोजाग्रत पूर्णिमा पनि पाटन दरवार क्षेत्रमा नचाइन्छ । गत वर्ष पाटन दरबारमा हुने २४ वर्षदेखि रोकिएको खड्ग जात्रा पुन: सञ्चालनमा आएको थियो ।


बुङमतीमा भैरव जात्रा

दसैंको अवसरमा बुङमतीमा भने भैरवनाथको जात्रा भएको छ । घटस्थापनादेखि विधिवत् सुरु हुने जात्रा दसैको टीका र भोलिपल्ट एकादशीमा गरिन्छ । पुरुष भैरव (आजु) र महिला भैरव (अजी) लाई सिंगारिएको खटमा राखी टोलटोल घुमाई जात्रा देखाइएको थियो ।


दशमीको राति बाँसको लिंगो ठड्याउने चलन पनि छ । लिंगोमा एक जना मान्छे चढ्ने परम्परा छ । जुन मान्छेलाई देवशक्तिले तानेर हनुमानका रूपमा बाँसको लिंगो चढ्न लगाउँछ भन्ने जनविश्वास छ । त्यसैगरी घोडाको मूर्तिमा मुकुन्डो लगाएर नचाइन्छ । जुन घोडालाई ब्वसल: भनिन्छ भने नाचलाई स्थानीय भाषामा ‘सल्चा प्याख’ भनिन्छ ।

प्रकाशित : आश्विन २४, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?