१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कलंकी–चाबहिल खण्ड विस्तार सुरु

दीपेन्द्र विष्ट

काठमाडौँ — चीन सरकारको सहयोगमा कलंकी–महाराजगन्ज–चाबहिल सडक खण्डको ११ किमि चक्रपथ विस्तार सुरु भएको छ । तीन वर्षभित्र काम सम्पन्न हुने गरी चीन सरकार आफैंले डीपीआर तयार गरी विस्तार सुरु गरेको जानकारी आयोजनाका प्रमुख अमृतमणि रिमालले दिए । 

पहिलो चरणमा रूख काट्ने, सडक क्षेत्र अतिक्रमण गरी बसेका घरटहरा र बिजुलीका पोल हटाउने काम भइरेको जानकारी दिँदै उनले अब कालोपत्रे लगायत अन्य काम चाँडै अघि बढाइने बताए । ‘रूख काट्ने काम भइरहेको छ, बिजुलीका पोल हटाइराखेको छौं,’ उनले भने, ‘यी सबै काम सकिनेबित्तिकै अन्य काम पनि अघि बढ्छ, अब ८ लेनको सडक विस्तार हुन्छ ।’


उनका अनुसार चक्रपथ खण्डका घरटहरालगायत अन्य भौतिक संरचना हटाएर सरकारले सहजीकरणको काम अघि बढाइरहेको छ । २ हजार ५७ रूखलाई टाँचा लगाएर काट्ने काम धमाधम भइराखेको छ,’ उनले भने । चक्रपथभित्र करिब १ हजार ६७ र बाहिर ९ सय ९० वटा विभिन्न जातका रूख काटनुपर्ने हुन्छ । १ सयवटा बिजुलीका खम्बा हटाइसकिएको, अरू पनि हटाउने काम भइरहेको जानकारी रिमालले दिए । उनका अनुसार ढलको व्यवस्थापन, खानेपानी पाइप, विद्युत्का पोल, टेलिकमका तार सरोकारवाला निकायले हटाइसकेका छन् । ‘स्थायी भौतिक संरचना त्यति छैनन,’ उनले भने, ‘सडक विस्तारमा खासै समस्या छैन ।’


‘चिनियाँहरूले सडकको डिजाइन र खाका तयार गरिसकेका छन्, अब डीपीआर बनाएर काम अघि बढाउँछन्, पहिलो चरणको काम सुरु भइसकेको छ, अन्य काम पनि धेरै ढिलो हुँदैन,’ उनले भने । कलंकी–चाबहिल (धोबीखोला) सम्म ११.६ किमि छ । चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलंकीसम्मको १० किमि सडक ८ लेनमा विस्तार भइसकेको छ । यो खण्ड विस्तारका लागि करिब ५ अर्ब रुपैयाँ खर्च भएको जानकारी सडक विभागले दिएको छ ।


दोस्रो चरणमा विस्तार हुने कलंकी–चाबहिल खण्डका दुवै किनार र बीचमा वृक्षरोपण गरेर हरित उद्यान विकास गरिनेछ । सडक विभागका अनुसार, कलंकी–महाराजगञ्ज खण्ड विस्तारको क्रममा सडकको ठीक बीच भागमा ‘ग्रिनरी’ सहितको ‘मेडियन’ राखेर डीपीआर तयार गर्न चिनियाँ पक्षलाई सुझाव दिइएको छ । ‘केही स्वरुपचाहिँ परिवर्तन हुन्छ,’ प्रमुख रिमालले भने, ‘हरित उद्यान लगायतका अन्य संरचना निर्माण हुन्छन् ।’


रातिको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा ‘मेडियन’ राखिनेछ । ती सडक क्षेत्रलाई आकर्षक बनाइनेछ । विभिन्न स्थानमा आकाशेपुल, सोलार लाइट, ट्राफिक लाइट र फुटपाथको व्यवस्था हुनेछ । सीतापाइला, स्वयम्भू, वनस्थली, बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगबु, सामाखुसी र बसुन्धारा, महाराजगन्ज, चप्पल कारखाना र सुकेधारामा आकाशेपुल बनाइनेछ । सडक विस्तारका लागि करिब ६ अर्ब लाग्ने अनुमान छ । तेस्रो चरणमा चाबहिल–कोटेश्वर ७ किमि खण्ड विस्तार गरिनेछ । चाबहिल–गौशालाको करिब १.३ किमि सडक विस्तार निकै संवेदनशील भएको विभागले जनाएको छ ।


विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर रहेकाले यो खण्डमा विकल्प खोज्न पशुपति क्षेत्र विकास कोषले सरकारलाई सुझाव दिइसकेको छ । ‘एयरपोर्टदेखि–चाबहिलसम्मको क्षेत्र अतिसंवेदनशील भएकाले, चक्रपथको नक्सांकन परिवर्तन गर्न सुझाव दिएका छौं,’ पशुपति क्षेत्र विकासको एक उच्च अधिकारीले भने, ‘यस्तो गर्दा चक्रपथको क्षेत्र विस्तार हुन्छ र कोषलाई पनि हानी हुँदैन ।’


‘केही समस्या भएकाले चाबहिल–कोटेश्वर खण्ड नेपाल सरकारले नै विस्तार गर्नुपर्छ भन्ने छ,’ सडक विभागका एक अधिकारीले भने । आयोजना प्रमुख रिमालले चावहिल–तिलगंगा खण्डमा तत्काल सडक विस्तार नहुने बताए । ‘तिलगंगा–कोटेश्वर खण्ड भने विस्तार गर्छौं’ उनले भने, ‘त्यो नेपाल सरकाले आफैं तयार गर्छ, डिजाइनलगायत अन्य कुरा तयार भइराखेको छ ।’


पूरै चक्रपथ विस्तार गर्न झन्डै २५ अर्ब लाग्ने विभागको अनुमान छ । २७.२ किमि लम्बाइ रहेको चक्रपथको चौडाइ १५ मिटरबाट बढाएर ५० मिटर बनाइँदै छ । २०२७ सालमा चीन सरकारको सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो ।

प्रकाशित : आश्विन २४, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?