टुँडिखेलमा फूलपाती बढाइँ

तस्बिर : इलिट जोशी

काठमाडौँ — नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शनिबार फूलपाती बढाइँ समारोह गरिएको छ । उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका थिए। फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ। बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास गरेको थियो। सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो।

प्रकाशित : आश्विन १८, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

आज घटस्थापना, हनुमानढोकाको दसैं घरमा राखियो जमरा

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व दसैं आइतबारदेखि सुरु भएको छ । बडादसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि वसन्तपुरस्थित दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । 

आज बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ। जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ।
देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ। आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ।

प्रकाशित : आश्विन १२, २०७६ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्