क्यान्सरको औषधि अभाव नहुने
काठमाडौँ — औषधि व्यवस्था विभागले क्यान्सर रोगमा चलाइने अत्यावश्यक औषधि अभाव हुन नदिने निर्णय गरेको छ । विभागमा शुक्रबार पदाधिकारी र औषधि आयातकर्ताबीच बसेको बैठकले निर्णय गरेको हो ।
क्यान्सरमा प्रयोग हुने औषधि घाटा खाएर पनि उपलब्ध गराउनुपर्ने विभागले औषधि आयातकर्तालाई निर्देशन दिएको छ । निर्णयमा भनिएको छ, ‘क्यान्सर रोगमा प्रयोग हुने औषधि अभावबारे चिकित्सकले गुनासो गरिरहेका छन् र मिडियामा पनि आइरहेको छन् । असोज २७ सम्म आयातकर्ताले विभागमा क्यान्सरको औषधि उपलब्ध गराउने छन् र औषधि अभाव हुने छैन ।’
विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले भने, ‘अबदेखि औषधि आयात र आपूर्ति चेनमा कुनै समस्या नगर्ने र समस्या आएमा विभागलाई जानकारी गराउनुपर्ने निर्देशन दिएका छौं । औषधि आयातमा कुनै समस्या भए उहाँहरूलाई हामी सघाउन तयार छौं ।’ केही महिनायता क्यान्सरका ‘फाइबएफयू’ ‘इटोपोसाइड’ ‘भिन्क्रिटिइन’ जस्ता अत्यावश्यक औषधि बिरामीले किन्न पाइरहेका थिएनन् । वीर अस्पतालमा स्टक राखिएको औषधिसमेत सकिएपछि बिरामीका आफन्त सीमावर्ती भारतीय बजारसम्म पुगेर किन्न बाध्य थिए । औषधिको मूल्य बढेको, भारतीय बजारमै औषधि नपाइएको बाहनामा क्यान्सर, मुटुरोग, मृगौलाजस्ता कडा रोगका औषधि अभाव भइरहन्छ ।
औषधि नपाइएको अवस्थामा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले ९८४१२६४१७१ मा फोन गर्ने आग्रहसमेत गरेको छ । शाखाले बडादसैंका अवसरमा बिरामीलाई हुन सक्ने आकस्मिक औषधिको अभाव पूर्तिका लागि २४ सै घण्टा हटलाइन सेवा उपलब्ध गराएको हो । संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले भने, ‘बिरामीले औषधि नपाए उनीहरूकै स्थानको मेडिकल या स्वास्थ्य संस्थामा औषधि पुर्याउने प्रयास गर्छौं ।’
प्रकाशित : आश्विन १८, २०७६ ०८:२१