कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोप्य मन्दिर निर्माणको जिम्मा उपभोक्तालाई

कान्तिपुर संवाददाता

काठमाडौँ — वसन्तपुर दरबार क्षेत्रको गोप्य आगंछे मन्दिर उपभोक्ता समितिले निर्माण गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले आगंछे र ललितपुरको देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गर्ने निर्णय गरेको हो ।

आगंछे उपभोक्ता समिति कि टेन्डर गरेर ठेकेदारमार्फत् बनाउने भन्ने विवादले पुनर्निर्माण रोकिएको थियो ।


‘सुरक्षित तरिकाले मन्दिरको पुनर्निर्माण गर्नुपर्ने भएकाले उपभोक्ता समितिमार्फत् निर्माण गर्ने निर्णय गर्‍यौं,’ प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार आगंछे, जगन्नाथ र शिव मन्दिर गोप्य मन्दिर हुन् । मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरिन्छ ।


जापान सरकारको अनुदानमा मन्दिर जीर्णोद्धार गर्न लागिएको पुरातत्त्व विभागले जनाएको छ । जापान सरकारले आगंछे निर्माण गर्न १३ करोड रुपैयाँ र ललितपुर पाटनको देगु तलेजु पुननिर्माण गर्न २० करोड रुपैयाँ उपलब्ध गराइसकेको विभागले जनाएको छ । विभागका अनुसार भूकम्पको धक्काले आगंछे पछाडि ढल्केको छ ।


हनुमानढोका दरबारको पछाडिको लामो बार्दली भएको घरको माथिल्लो तल्ला नै मल्लकालीन आगंछे हो । मोहनकाली चोकका सम्पदाहरूमा तीन भिन्नभिन्न आकारका तीन बुर्जा छन् । तीमध्ये एउटा बुर्जा हो आगंछे मन्दिर । आगंछे भनेको कुलदेवता राख्ने घर हो । यस्तो घर कतै कोठामा बनाइएको हुन्छ । कतैचाहिं मन्दिरै बनाइएको हुन्छ । नेवार जातिमा प्रत्येक वंशको आआफ्नै आगम घर हुन्छन् । यो आगम घरचाहिं मल्ल राजाको हो ।


शाहवंशभरी यो मन्दिर बन्द थियो । शाहकालमा भित्र नछिरे पनि बाहिर भागमा भने मर्मतको सामान्य काम भएको पाइन्छ । इतिहासकार गौतमवज्र वज्राचार्यका अनुसार यस मन्दिरभित्र मल्ल राजाहरूले गुप्त तरिकाले पूजा गरिने आगम देवता स्थापना गरेका थिए । आगंछेमा आफ्ना वंशबाहेक अरु छिर्न नमिल्ने कडा नियम बनाइएको हुन्छ ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?