वाग्मती ब्युटिफिकेसन आयोजना संकटमा

दीपेन्द्र विष्ट

काठमाडौँ — सात महिनादेखि मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिने भन्दै स्थानीयले विरोध गरेपछि वाग्मती ब्युटिफिकेसनको काम अलपत्र परेको छ । त्यसले गर्दा एसियाली विकास बैंक (एडीबी)ले वाग्मती नदी किनारको बगैंचा विकास, ट्रिटेमन्ट प्लान्टलगायतका लागि गरेको करिब १३ अर्ब रुपैयाँ आर्थिक सहयोग फिर्ता हुने अवस्थामा पुगेको छ । 

सहरी विकास मन्त्रालय, अधिकारसम्पन्न वाग्मती एकीकृत आयोजनालगायत निकायले पटकपटक स्थानीयसँग वार्ता गर्दा पनि टुंगोमा पुग्न सकेको छैन । ठेकेदार कम्पनीले निर्माण सामग्री सडक छेउमा अलपत्र छाडेका छन् ।
यसअघि सहरी विकास मन्त्रालयका तत्कालीन सचिव रमेशप्रसाद सिंह र काठमाडौं ३ का सांसद कृष्ण राई, स्थानीय जनप्रतिनिधिबीच ५ महिनाअघि मुआब्जा विवादबारे मन्त्रिपरिषद्मा लगेर टुंग्याउने सहमति भएको थियो । सहमतिपछि स्थानीयले गर्दै आएको अवरोध हटेको थियो । तर सहमतिअघि नबढेको भन्दै स्थानीयले पुनः काम ठप्प पारेका छन् ।

लामो समयदेखि काम ठप्प भएको र यसमा मन्त्रालयले गाँठो नफुकाएसम्म समाधान निस्कने अवस्था नरहेको अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र बस्नेतले बताए । ‘समितिले पटकपटक वार्ता गरेर राय पेस गरिसकेको छ, छानबिन गरेर दिनुपर्ने/नपर्ने काम मन्त्रालयको हो,’ उनले भने, ‘समितिले गर्ने काम केही पनि बाँकी छैन ।’ मागेअनुसार मुआब्जा दिन नसकिने र केही व्यक्ति मात्र वास्तविक पीडित भएको उनले बताए । ‘केही व्यक्तिचाहिँ पीडित भएकै हुन्, सबैले मुआब्जा पाउनुपर्छ भन्ने होइन । ठप्प भएको काम जसरी पनि पुनः सुरु गराउनुपर्छ,’ उनले भने, ‘ठूलो क्षति भइसक्यो ।’ वास्तविक पीडित पत्ता लगाएर मात्र मन्त्रालयले मुआब्जा दिनुपर्ने उनको भनाइ छ ।

एडीबीले वाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिइसकेको उनले जानकारी दिए । यसअघि पनि मुआब्जा विवादका कारण लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीपत्र पठाएको थियो । यस पटक काम अगाडि नबढे एडीबीले सहयोग फिर्ता नै गर्ने आयोजनाका अधिकारीले जानकारी दिए ।

‘समस्या चाँडो समाधान गर्नुपर्छ,’ अध्यक्ष बस्नेतले भने, ‘निर्माण सामग्री लथालिंग अवस्थामा छन् ।’ स्थानीयले वाग्मती नदीभित्रको १ सय ८८ रोपनी जग्गाको मुआब्जा मागेको जनाउँदै उनले मन्त्रालयले तत्काल समस्या नसुल्झाए आयोजना अलपत्र पर्ने दाबी गरे । ‘४१ रोपनीको मात्र प्रमाण छ, अरूसँग केही पनि छैन, १ सय ४७ रोपनीको लालपुर्जा छैन, कसरी मुआब्जा दिने ?’ उनले भने, ‘बिनाप्रमाण कसैलाई मुआब्जा दिन मिल्दैन, त्यो ४१ रोपनीमा समेत राम्रोसँग छानबिन गर्नुपर्छ ।’

२२ वर्षअघि तत्कालीन अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले किनारका जग्गाको मुआब्जा दिइसकेको छ । आयोजनाले २०७३ देखि परम्परागत शैलीको हरित उद्यान निर्माण अघि बढाएको हो । नदीको बीचबीचमा ‘चेक ड्याम’ निर्माण गरिने अध्यक्ष बस्नेतले बताए । नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान बन्दै छ । सडक दुई लेनको बनाइनेछ । तीन स्थानमा परम्परागत भकारी आकारका संरचना निर्माण गरिनेछ, जसबाट मानिस सजिलै नदीसम्म पुग्न सक्नेछन् । २७ महिनाभित्र उद्यान सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

समयसीमाभन्दा पनि आयोजना नै नबन्ने हो कि भन्ने आशंका बढ्न थालेको उनको भनाइ छ । काम ठप्प हुँदासम्म कोही जिम्मेवार नभएको गोकर्णेश्वर नगरपालिकाका जनार्दन खड्काले बताए । ‘कसैले चासो लिँदैनन्, यो क्षेत्रको विकास नै रोकिएको छ, करिडोर निर्माण हुँदा चाँडो विकास हुन्थ्यो,’ उनले भने, ‘उचित माग सबैका सम्बोधन हुन्छ, नाजायज माग कसैका पूरा हुँदैनन्, तुरुन्त सरकारले यसमा पहल गर्नुपर्छ ।’

आयोजनाका अनुसार गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, त्यहाँबाट गुह्येश्वरीसम्म ४० मिटर र गुह्येश्वरीदेखि सिनामंगलसम्म करिब ३० मिटर बहाव कायम गर्दै दायाँबायाँ हरित उद्यान निर्माण गरिनेछ । टेकुतिरका २३ वटा पुराना मन्दिरको जीर्णोद्धार गरिनुका साथै बल्खुमा ढल प्रशोधन केन्द्र बनाइनेछ । हरियालीको बीचमा साइकल लेन, फुटपाथसमेत रहनेछन् । गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत बनाइने उनले बताए । ‘माकलबारी, जोरपाटीलगायत क्षेत्र निकै आकर्षक देखिन्छ,’ उनले भने, ‘पहिलो चरणमा यो क्षेत्र छनोट गरिए पनि त्यसपछि गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रसम्म हरित उद्यान निर्माण भइरहेको छ ।’

गुह्येश्वरीदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भने कुनै संरचना निर्माण गरिनेछैन । गोकर्ण–सुन्दरीजल खण्ड र सिनामंगल–बल्खु खण्डमा समेत परम्परागत शैलीको आधुनिक हरित उद्यान रहनेछ । ‘फुटपाथमा मर्निङ वाक गर्न सजिलो हुन्छ,’ उनले भने, ‘प्रत्येक स्थानमा चौतारी बनाउँछौं, जहाँ बसेर नदीको बहाव नियाल्न सजिलो होस् ।’ धाप क्षेत्रमा वर्षात्को पानी संकलनका लागि २४ मिटर अग्लोड्याम बनाइँदै छ ।

‘बर्खाको पानी संकलन गरेर सुक्खा याममा वाग्मतीमा बगाइन्छ,’ उनले भने, ‘नदीको विशेषता पानी हुनु हो । त्यसकारण पानीको बहाव बढाउनैपर्छ ।’ वाग्मतीको मुहान क्षेत्रमा ८ लाख ५० हजार घनमिटर पानी संकलन गरेर सुक्खायाममा ४ सय लिटर प्रतिसेकेन्डका दरले नदीमा छोडिने र यसका लागि अहिले शिवपुरी वन्यजन्तु आरक्षभित्र काम भइरहेको अर्यालले बताए । ड्याम बनाउन एडीबीले करिब ५२ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, वाग्मतीको नागमतीमा ९० मिटर उचाइको ड्याम निर्माणका लागि अध्ययन भइरहेको छ । नागमतीको ड्यामबाट २ मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको अनुमान छ ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

सुध्रिएनन् टिपर चालक

दीपेन्द्र विष्ट

काठमाडौँ — कंलकीबाट थानकोटतर्फ गइराखेको बा ३ ख ३८१७ नम्बरको टिपरले सोही दिशा गइराखेको बा ४६ प ४९०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार चितवनका सुनिल अधिकारीको मृत्यु भयो ।

मोटरसाइकल पछाडि सवार अधिकारीको घटनास्थलमै मृत्यु भयो भने, चालक हिराबहादुर बानियाँ घाइते भए ।

बानियाँको ओमसमाज अस्पतालमा उपचार भइरहेको छ । गत भदौमा तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले आइतबार राति सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भयो ।

तीव्र गतिमा आएको टिपरले कार्गो कार्यालयनेर बा ८५प ५६९, बा ३८प २३९३ र ना ४३ प ८७३५ नम्बरका तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । बा८५प ५६९ नम्बरका चालक छाङबुङ भोटे, ना ४३प ८७३५ नम्बरका चालक प्रमोद धिताल घाइते भए भने बा ३८प २३९३ नम्बर मोटरसाइकलका चालक भोटेको मृत्यु भयो ।

उपत्यका ट्राफिक महाशाखाको तथ्यांक हेर्दा साउनदेखि असोजसम्म टिपरकै ठक्करबाट ३ जनाको मृत्यु भइसकेको छ । टिपर र ट्रकको ठक्करबाट मानिसको मृत्यु भएको यो नौलो घटना होइन । प्रत्येक वर्ष टिपर र ट्रकको ठक्करले मृत्यु र घाइते हुनेको संख्या बढ्दो छ । तर, यसलाई नियन्त्रण तथा न्यूनिकरण गर्ने प्रयास भएको देखिँदैन । एक वर्षअघि स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटी चोकमा बा ४ ख ३५५० नम्बरको टिपरले किचेर मृत्यु भयो । गत वर्ष जेठमा भक्तपुर सागामा टिपरकै कारण हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो ।

मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ मा मात्र २ हजार ७ सय ६२ जनाको दुर्घटनामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक छ । मुलुकभर २१ हजार ६ सय ५४ सवारी दुर्घटना भएका थिए । निर्देशनालयकाअनुसार टिपर र ट्रकसँग जोडिएका ८० प्रतिशत दुर्घटनामा चालकको लापरबाही देखिएको छ ।

सवारी दुर्घटना र त्यसबाट घाइते र मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । आव २०७३/७४ मा १६ हजार ५ सय १५ वटा दुर्घटना भएका थिए । त्यसमा टिपर र ट्रकका कारण मात्र भएका दुर्घटना २ हजार २ सय ३० वटा थिए । दुर्घटनामा २ हजार ३ सय ८४ जनाको मृत्यु भएको थियो । यस आर्थिक वर्षमा चालकको लापरबाहीले गर्दा भएका दुर्घटना संख्या ७ हजार ४ सय ८७ थिए । आव ०७४र७५ मा १८ हजार ३४ वटा दुर्घटना भएका छन जसमा टिपर र ट्रकका कारणले मात्र २ हजार ४ सय ३० दुर्घटना भएका थिए ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भिम ढकालले टिपर दिउँसो चलाउन बन्द गरेपनि दुर्घटना भइरहेको बताए । सडक लेन अनुशासन उल्लंघन गर्ने, तीव्र गतिमा गाडी कुदाउने, जथाभावी ओभरटेक गर्ने, गाडी चलाउदा मोबाइलमा कुरा गर्ने, गीत सुन्नेजस्ता कारणले पनि दुर्घटना बढिरहेको उनले बताए ।

‘गन्तव्यमा पुग्न तछाडमछाड गर्छन्’ उनले भने, ‘ट्रिप गरेर बढी कमाउन तीव्र गतिमा चलाउँछन ।’ टिपर अन्य गाडीको तुलनामा बलियो हुने भएकाले चालकले सामान्य ठोक्किदा फरक पर्दैन भन्ने मनोविज्ञानबाट तीव्र गतिमा चलाउने गरेको उनले बताए ।

सहरभित्र पस्दा टिपरको गति सिमित गराउनेबारे पनि छलफल भइरहेको उनले जानकारी दिए । ‘बेलुका ८ बजेपछि रिङरोडभित्र छिर्ने, र बिहान ७ बजे अघि रिङरोड छोडिसक्ने प्रावधान त छदैछ’ उनले भने, ‘अब त्यो समयमा कति गति राख्ने भन्ने पनि सोच्न पर्ने बेला आएको छ ।’ उपत्यकामा मात्र पछिल्लो एक वर्षमा टिपरले ठक्कर दिएर मृत्यु भएकाको संख्या १२ पुगेको छ ।

महाशाखाको तथ्यांकअनुसार आव २०७५र ७६ मा २७ सय ९ दुर्घटना टिपर र ट्रकबाट भएका थिए । यी समेतका सडक दुर्घटनामा परी उपत्यकामा २ सय ५४ जनाको मृत्यु भएको थियो । यी दुर्घटनामध्ये अधिकांशमा चालकको लापरबाही नै मुख्य कारण देखिएको छ ।

नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्दले दण्ड जरिवानाको व्यवस्थै संशोधन गर्नुपर्ने बताए । ‘अनुगमन फितलो छ, चालक गम्भीर छैनन्, चालक शिक्षाको पनि कमी छ,’ उनले भने । सडकको नाजुक अवस्था पनि दुर्घटनाको कारक रहेको उनले बताए । ‘बिना इन्जिनियरिङ सडक निर्माण गरिएको छ,’ उनले भने । टिपर दुर्घटनाको जिम्मेवार चालक नै भएको यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले बताए । ‘टिपर चालक निकै अराजक छन’ उनले भने ।

प्रकाशित : आश्विन १६, २०७६ २२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्