३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इन्द्रायणी नाचको तयारी

प्रशान्त माली

काठमाडौँ — कीर्तिपुर दरबार क्षेत्र र कोर बस्तीमा धेरै चोकमध्ये ‘तःननी’ सबभन्दा ठूलो चोक हो । नेपाल भाषामा ‘तः’ को अर्थ ठूलो र ‘ननीः’ को अर्थ चोक बुझिन्छ । यो चोकमा बेलुका इन्द्रायणी नाचको प्रशिक्षण भइरहेको छ । विजया दशमी र कोजाग्रत पूर्णिमामा यो नाच देखाइन्छ । 

इन्द्रायणी नाचको तयारी

तःननी चोकमा बिहीबार साँझ आठ बजे ‘आखाः छेँ’ (गुठीघर) मा तःननी दाफा खलकका गुठियारको उपस्थित बाक्लो थियो । कीर्तिपुरबासीका इष्टदेवता बाघभैरव मन्दिरको पश्चिमपट्टि नाथगुरुको क्षमापूजामा सहभागी जनाउन स्थानीयको आएका थिए । क्षमापूजामा दाफा खलः कजी (व्यवस्थापक) ७८ वर्षीय ज्ञानबहादुर महर्जन अग्रपंक्तिमा थिए । उनले नाचमा सहभागी १६ जनाको नेतृत्व गरेका थिए । क्षमापूजा गर्न कीर्तिपुर नगरपालिका–१० तःननी टोलबाट परम्परागत रुट हुँदै बाघभैरव मन्दिर र बस्तीको दक्षिण उत्तरपट्टि अवस्थित पीठमा पुगेका थिए । क्षमा पूजाको साइत भने राति ९ बजे थियो । पूजा १० बजेतिर सकिएपछि नाचको प्रशिक्षण सुरु भयो । यो प्रशिक्षण भने २० वर्षपछि मात्रै भएको हो । कृष्ण जन्माष्टमीको तेस्रो दिनपछि १६ जनाले नाच सिकिरहेका छन् । यो नाच नाच्नेलाई देवगण भनिन्छ । पहिलो पटक उनीहरू देवगण बनेका हुन् । ‘त्यसैले लामो समय प्रशिक्षण दिनुपरेको हो,’ तःननी टोलका दाफाखलका अध्यक्ष दिलिप महर्जनले भने ।

देवी नाचको तयारी गरिँदै । तस्बिर: बिजु महर्जन/ कान्तिपुर


नेवारी परम्पराअनुसार नाच प्रशिक्षण दिन बलिसहित नाथगुरुको अनिवार्य पूजा गर्नुपर्छ । नाच सिक्ने प्रशिक्षार्थीले भने ‘किसिली’ राखेर नाथगुरुलाई पूजा गर्नुपर्ने हुन्छ । नेपाल भाषामा ‘किसिली’ को अर्थ पालामा अक्षता, सुपारी, दक्षिणा राखेर नाथगुरुलाई चढाउने हो । ‘किसिली’ राखेपछि नाचमा सिद्धि प्राप्त हुने जनविश्वास छ । काजी ज्ञानबहादुरको घरमा प्रशिक्षण दिनुपर्ने हो तर ठाउँ अभावले सम्भव नभएपछि गुठीघरमा भइरहेको छ । स्थानीय गुठियार मिलेर टोलको पश्चिमपट्टि ३ आना जग्गामा आखाःछेँ (गुठीघर) निर्माण गरिएको छ ।

नाचको प्रशिक्षणमा इन्द्रायणी, ब्रह्मायणी, भैरव, ख्याक, कवः, दागिनी र पो (दुईजना) गरेर १६ जना जना सहभागी छन् । विजयादशमी र कोजाग्रत पूर्णिमा देखाइने जात्रामा भने प्रशिक्षण लिइरहेका मध्येबाट आठ जना देवगण बन्ने छन् । इन्द्रायणी, ब्रह्मायणी, भैरव देवगण कसलाई बन्नाउने भन्ने यकिन भएको छैन । प्रशिक्षार्थीको लगनशीलताका आधारमा विजयादशमीमा छनोट गरिने प्रशिक्षक ज्ञानबहादुर महर्जनले बताए । नाचको प्रशिक्षणमा राजकुमार महर्जन, मुकेश महर्जन, अमन महर्जन, चोविश महर्जन, कविन, नहिन्द्र, अब्युट, धीरेन्द्र, सन्तोष, श्रवण महर्जनलगायत सहभागी छन् ।

प्रशिक्षण बेलुका ८ देखि १२ बजेसम्म गरिरहेका छन् । नाच कीर्तिपुर दरबार क्षेत्र, बाघभैरव मन्दिर परिसर र जगतपाल महाविहार डबलीमा देखाइन्छ । कीर्तिपुरमा प्रत्येक १२ वर्षमा बाघभैरव र प्रत्येक वर्ष इन्द्रायणी नाच नचाइन्छ । बाघभैरव माली र इन्द्रायणी महर्जन समुदायले सञ्चालन गरिन्छ । स्थानीय भाषामा इन्द्रायणी नाचलाई ‘देवी प्याँख’ भनिन्छ । इन्द्रायणी नृत्यमा मुख्य भूमिका ‘दागिनी’ पात्रको हुन्छ ।

दागिनी महिलाको भेषमा हुन्छिन् । नाचमा देउला जातिको प्रतिनिधित्व गरेर महर्जन थरका व्यक्तिले माछा मारेर शुभकार्यका लागि उपलब्ध गराएको दृश्य देखाउँछन् । नाचका गायन गुरु ८० वर्षीय पानबहादुर महर्जनका अनुसार नेवारहरूको व्रतबन्ध, विवाह, सुगन दिँदा अनिवार्य माछा चाहिन्छ । ‘नाचले कीर्तिपुरमा पहिला देउला जाति माछा मारेर जीविकोपार्जन गर्ने र कीर्तिपुरबासीलाई उपलब्ध गराउने कुरालाई पुष्टि गर्छ,’ उनले भने, ‘अहिले पनि कतिपय देउला जातिले माछा उपलब्ध गराउने चलन बाँकी छ ।’

प्रकाशित : आश्विन १८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?