अन्तर्राष्ट्रिय तमू सम्मेलन काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । तमू (गुरुङ) बीचको भावनात्मक एकता, गुरुङ जातिको इतिहास, भाषा, धर्म, संस्कृति, परम्पराको संरक्षण तथा सर्वाङ्गिण विकासको पहले गर्ने उद्देश्यसहित यही असोज २४ गतेबाट काठमाडौंमा सम्मेलन हुन लागेको हो ।

दुई दिनसम्म हुने सम्मेलनमा नेपाल लगायत विश्वभरि स्थायी वा अस्थायी बसोबास गर्दै आएका तमू प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

‘तीन वर्षअघि प्रथम तमू सार्क सम्मेन सम्पन्न गरिसकेको सन्दर्भमा संसारमा रहेका तमू संघ-संस्थाहरूसँग सम्पर्क, समन्वय बढाउँदै तमूहरूको एकतालाई थप सुदृढीकरण गर्ने उद्देश्य रहेको छ,’ शुक्रबार सम्मेलन मूल आयोजक समिति तथा तमू ह्युल छोंजधिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘सम्मेलनले विश्वमा रहेका तमू समुदायको आर्थिक, सामाजिक, शैक्षिक, प्रशासनिक, राजनीतिक लगायत पक्ष वृद्धि विकास गर्न, गराउनमा उत्प्रेरित गर्नेछ ।’

तमूको खेमा लिपिलाई अन्तर्राष्ट्रिय रूपमा संवर्द्धन गर्ने, समाजको विविध पक्षमा ऐतिहासिक योगदान गरेका तमू पुर्खाहरूको खोजअध्ययन अनुसन्धान तथा दस्तावेजीकरण गर्ने जनाइएको छ । ‘तमू जातिको आदिम भूमि गण्डक क्षेत्र भए पनि नेपाल राज्य एकीकरणको क्रममा तत्कालीन नेपालको पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म तमूहरुको बसोबास छ,’ दुवै विश्व युद्धमा लडेका तमूहरू अहिले विभिन्न देशमा छरिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘भूगोलको हिसाबले जुनसुकै स्थानमा रहेपनि भावनात्मक रूपमा हामी एक छौं । तमूहरूको आदिम परम्परा, रीतिथिति, मूल्य मान्यताहरूलाई जोगाई राख्न यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रित छ ।’

सम्मेलनमा नेपाल, भारत, भुटान, हङकङ, बेलायत, अमेरिका, अस्ट्रेलिया, थाइल्यान्ड, जापान लगायत ३० मुलुकका ७ सय प्रतिनिधि सहभागी रहने जनाइएको छ ।

तथ्यांकअनुसार नेपालमा गुरुङ जातिको जनसंख्या ५ लाख २२ हजारभन्दा बढी छ ।

प्रकाशित : आश्विन १७, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्

'डिजिटल हिंसा' गरेपछि वडाध्यक्षले माफी मागे 

मधु शाही

बाँके — नेपालगन्ज उपमहानगरपालिका–८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताले पत्रकार महिलामाथि फेसबुक म्यासेन्जरमा हिंसात्मक भाव दर्शाउने कुरा लेखेको भन्दै उजुरी दिएकी छन्। 

सोही वडा निवासी चन्दा सिंहले शुक्रबार आफूमाथि हिंसा भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिएकी हुन् ।

प्रहरीले पीडित र पीडक दुवै पक्षलाई साथमा राखेर अध्यक्ष गुप्ताले सामूहिक माफी मागेका छन् । साथै कागजात गरेर अबदेखि यस्तो कहिल्यै कसैसँग नगर्ने लिखित प्रतिबद्धता पनि गुप्ताले दिएका छन् ।

बाँकेस्थित रेडियो कृष्णसार एफएममा कार्यरत चन्दाले अपांग बहिनीको परिचय पत्र बनाउन वडा कार्यालय जाँदा वडा अध्यक्षले राम्रो सहयोग गरेको बताइन् । पछि घर आइसकेपछि फेसबुकको ‘इन बक्स’ मा सामान्य च्याट भएको र कुरा गर्दै गलत आशय प्रकट हुने शब्द लेखेको देखिएकाले यो 'डिजिटल हिंसा' भएको एसपी वीरबहादुर ओलीले बताए । उनले दुवै पक्षको मिलोमतोमा माफी मागेर पीडकलाई छोडेको सुनाए ।

यसअघि वडा अध्यक्ष गुप्ताकै विषयमा वडा सदस्य निर्मला कनौजियाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गुनासो गरेकी थिइन् ।

प्रकाशित : आश्विन १७, २०७६ १६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्