खोकनाको दसैं : जमरा राखिँदैन, टीका लगाइँदैन

दामोदर न्यौपाने

खोकना — नवरात्रिको सुरुवातको दिन घटस्थापनादेखि खोकना उत्सवमय छ । हरेक दिन बेग्लाबेग्लै तरिकाले पर्व मनाइरहेको छ । दसैंमा हरेक दिन दुर्गाको पूजा गरेर मनाएभन्दा फरक छ । खोकनामा हरेक वर्ष दसैंको बेला सिकाली मेला मनाइन्छ ।

‘हामी जमरा राख्दैनौं । टीका लगाउँदैनौं,’ खोकनाको प्रसिद्ध सिकाली जात्रामा जुटेका स्थानीयबासी अस्टेन्द्र महर्जन भन्छन्, ‘काठमाडौंका अरू नेवार बस्तीभन्दा पृथक पर्व मनाउँछ खोकनाले । खासमा शाहवंशको स्थापना हुनु पहिला काठमाडौंका नेवारीले दसैंमा जमरा राख्ने गर्दैनथे । टीका लगाउने गर्दैनथे । अहिले भने अरू ठाउँकाले जमरा राख्छन् । टीका लगाउँछन् ।’

घटस्थापनामा कुमार पूजा गरेपछि खोकनाको यो उत्सव सुरु हुन्छ । ८ जना कुमारले घटस्थापनाको दिनदेखि तीन दिनसम्म घर घर गएर पूजाका सामान माग्छन् । उखु बोकेका कुमारले हातमा थाली बोकेका हुन्छन् । त्यही थालीमा पूजाका सामान माग्छन् । थाली भरिएपछि झोलामा राख्छन् ।

पूजाका समानमा स्थानीय रूपमा फल्ने काँक्रा, भोगटे, उखु जस्ता फलफूल, चामल, फूललगायत हुन्छन् । झोला भरिएपछि पूजाका सामान बस्तीको बीचमा रहेको रुद्रायणी मन्दिरमा लगेर थन्काउँछन् । मन्दिरमा जम्मा भएको पूजा सामग्री गाउँबाट डेढ किलोमिटर पश्चिमतिर रहेको सिकाली मन्दिरमा लैजान्छन् । ‘यहाँ पनि कुमार केटाको पूजा हुन्छ,’ महर्जन भन्छन्, ‘सिकालीमा पूजा गरेपछि खोकनादेखि सिकालीसम्मको देवताको बाटोमा रहेका देवतालाई पुज्दैपुज्दै आउँछन् ।’

बस्तीमा दुईवटा प्रमुख बाटा छन् । एउटा बाटो देवताको, अर्को बाटो शव लैजान मलामी हिँड्ने बाटो । तीनवटा ढोका छन् । तीन ढोकामध्ये एउटा ढोकाबाट देवताको बाटो सुरु हुन्छ । एउटा ढोकाबाट शव लैजाने बाटो सुरु हुन्छ । देवता हिँड्ने बाटो पनि सिकालीतिरै जान्छ । शव लैजाने बाटो पनि सिकालीतिरै जान्छ । दायाँतिर देवताको बाटो छ । बायाँतिर शव लैजाने बाटो ।

उत्तरतिरको ढोका बस्ती छिर्ने ढोका हो । यो अहिलेको बसपार्क छेउमै छ । दक्षिणढोकाबाट देवताको बाटो सुरु हुन्छ । दक्षिणढोका रुद्रायणी स्कुलबाट सुरु हुन्छ । पश्चिमढोका बस्तीको पल्लो छेउमा पर्छ । यही ढोकाबाट मलामी बाटो सुरु हुन्छ ।

देवताको बाटोमा अष्टमातृका देवी छन् । घटस्थापनाको छैटौं दिनमा यही बाटो भएर रुद्रायणी देवता सिकाली लगिन्छ । मन्दिरमा रहेका रुद्रायणी पनि खटमा राखेर लगिन्छ । ४६ जनाको रुद्रायणी देवगण हुन्छन् ।

सिकालीको दोस्रो विशेष उत्सव हो छोइला बु । तीन दिनसम्म कुमार पूजा भएपछि राति विशेष कार्यक्रम हुन्छ । मन्दिरमा राँगा बलि दिइन्छ । तीनवटा गुठीले तीनवटा राँगा बलि दिएपछि त्यसैको मासुको विशेष परिकार बनाइन्छ, जसलाई छोइला बु भनिन्छ । त्यो दिन अरू परिकार नबनाई मासुको मात्र भोज हुन्छ ।

सबै गुठियार जम्मा भएर मनाइन्छ यो उत्सव । बलिदिएका राँगाको रगतचाहिँ सिकाली मन्दिरमा चढाउने चलन छ । गुठीमा छोइला बु मनाएको भोलिपल्ट घरघरमा पनि छोइला बु मनाइन्छ । गुठीमा जस्तै घरमा पनि मासुको मात्र भोज खाने चलन छ यो दिनमा । यो घटस्थापनाको चौथो दिनको विशेष कार्यक्रम हो ।

पाँचौं दिनको उत्सव हो भुज्या । रातिको समयमा गुठियार जम्मा भएर विशेष तान्त्रिक विधिबाट छ्याङ बनाउने दिन हो यो । छ्याङ बनाउँदा वीरभद्र महांकाललाई जगाएर छ्याङ बनाउने गरिन्छ । अरुमान्छेले सामान्यत:१५ दिन लगाएर तयार पार्ने छ्याङ यो बेला एकै रातमा बनाइन्छ । छ्याङ बनाउन यहाँको प्राचीन तीनवटा गुठीका गुठियार जम्मा हुन्छन् ।

यहाँ त:गुठी, सना गुठी र जगु गरी तीनवटा निजी गुठी छन् । प्रत्येक गुठीबाट ८ जनाको दरले गुठियार जम्मा हुन्छन् । रुद्रायणी गुठीचाहिँ राजगुठी हो । ‘यो विशेष तान्त्रिक विधिबाट तयार गरिन्छ,’ गुठीका इनामा गुरु जयराम महर्जन भन्छन्, ‘तान्त्रिक विधि गोप्य हुन्छ ।’

प्रकाशित : आश्विन १७, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

हरिशंकरको पुनर्निर्माण सकियो

कान्तिपुर संवाददाता

ललितपुर — पाटन दरबार परिसरमा रहेको तीनतले हरिशंकर मन्दिरको पुनर्निर्माण सकिएको छ । मन्दिरको बिहीबार सांस्कृतिक पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराई, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् । काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) ले भूकम्पलगत्तै यो मन्दिर निर्माण सुरु गरेको थियो ।

मन्दिर पुनर्निर्माण गर्दा अधिकांश सामग्री पुरानै प्रयोग गरिएको छ । बुट्टा भएका सामग्री पुरानै र बुट्टा नभएका सामग्री नयाँ प्रयोग गरिएको निर्देशक रोहित रञ्जितकारले बताए ।

हरिशंकर मन्दिर पुनर्निर्माण गर्न करिब ५ करोड रुपैयाँ लागेको कोषले जनाएको छ । बिहीबार पूजा गरेर सबैका लागि ढोका खोलिएको मन्दिरका पूजारी गुरूदत्त मिश्रले बताए । ‘पूजा गरेर सर्वसाधारणका लागि पनि मन्दिरको ढोका खोलिएको छ,’ उनले भने । ललितपुरमा पुनर्निर्माण भइरहेको मठमन्दिर विवादरहित तवरले निर्माण भएकोमा महानगरका मेयर चिरीबाबु महर्जनले खुसी व्यक्त गरे । १५७ वर्षदेखि हरिशंकर मन्दिर परिसरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको थियो ।

मन्दिरको पेटी व्यापारीले ओगटेर राखेका थिए । तर अब पूजारी र सर्वसाधारणले पूजा गर्न मिल्ने छ । जनप्रतिनिधि बनेदेखिको प्रयासले मन्दिर निर्माण गर्न सकिएको महर्जनले बताए । सरकारले पटके निर्णय गरेर १० करोडसम्मको मठमन्दिर स्थानीय उपभोक्ता समितिले निर्माण गर्न सकिने व्यवस्था गरेर सहज बनाएको उनले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सुशील पौडेलले भूकम्पमा ध्वस्त बनेको मठमन्दिर पुनर्निर्माणले गति लिएको बताए । पाटनका राजा योगनरेन्द्र मल्लकी छोरीले १७ औँ शताब्दीमा हरिशंकर मन्दिर निर्माण गर्न लगाइएको जनश्रुति छ । हिन्दु धर्मावलम्बीले हरिशंकरलाई शिव र विष्णुको संयुक्त स्वरूपका रूपमा पुज्ने गरेको स्थानीय बताउँछन् । सोह्रौं शताब्दीको अन्तिममा इँटैइँटाले निर्माण भएको चारनारायण पाटनको सबैभन्दा पुरानो मन्दिर हो ।

हिन्दु धर्मावलम्बीले नारायणलाई विष्णुको स्वरूपमा पुज्ने गर्छन् । पाटन दरबार क्षेत्रमै रहेको चार नारायण मन्दिरको पुर्न निर्माण पनि अन्तिम चरणमा पुगेको छ । चार नारायणको काम ५ प्रतिशत काम बाँकी रहेको पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुवँरले बताए ।

प्रकाशित : आश्विन १७, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्