कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हरिशंकरको पुनर्निर्माण सकियो

कान्तिपुर संवाददाता

ललितपुर — पाटन दरबार परिसरमा रहेको तीनतले हरिशंकर मन्दिरको पुनर्निर्माण सकिएको छ । मन्दिरको बिहीबार सांस्कृतिक पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराई, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् । काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) ले भूकम्पलगत्तै यो मन्दिर निर्माण सुरु गरेको थियो ।

मन्दिर पुनर्निर्माण गर्दा अधिकांश सामग्री पुरानै प्रयोग गरिएको छ । बुट्टा भएका सामग्री पुरानै र बुट्टा नभएका सामग्री नयाँ प्रयोग गरिएको निर्देशक रोहित रञ्जितकारले बताए ।


हरिशंकर मन्दिर पुनर्निर्माण गर्न करिब ५ करोड रुपैयाँ लागेको कोषले जनाएको छ । बिहीबार पूजा गरेर सबैका लागि ढोका खोलिएको मन्दिरका पूजारी गुरूदत्त मिश्रले बताए । ‘पूजा गरेर सर्वसाधारणका लागि पनि मन्दिरको ढोका खोलिएको छ,’ उनले भने । ललितपुरमा पुनर्निर्माण भइरहेको मठमन्दिर विवादरहित तवरले निर्माण भएकोमा महानगरका मेयर चिरीबाबु महर्जनले खुसी व्यक्त गरे । १५७ वर्षदेखि हरिशंकर मन्दिर परिसरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको थियो ।


मन्दिरको पेटी व्यापारीले ओगटेर राखेका थिए । तर अब पूजारी र सर्वसाधारणले पूजा गर्न मिल्ने छ । जनप्रतिनिधि बनेदेखिको प्रयासले मन्दिर निर्माण गर्न सकिएको महर्जनले बताए । सरकारले पटके निर्णय गरेर १० करोडसम्मको मठमन्दिर स्थानीय उपभोक्ता समितिले निर्माण गर्न सकिने व्यवस्था गरेर सहज बनाएको उनले बताए ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सुशील पौडेलले भूकम्पमा ध्वस्त बनेको मठमन्दिर पुनर्निर्माणले गति लिएको बताए । पाटनका राजा योगनरेन्द्र मल्लकी छोरीले १७ औँ शताब्दीमा हरिशंकर मन्दिर निर्माण गर्न लगाइएको जनश्रुति छ । हिन्दु धर्मावलम्बीले हरिशंकरलाई शिव र विष्णुको संयुक्त स्वरूपका रूपमा पुज्ने गरेको स्थानीय बताउँछन् । सोह्रौं शताब्दीको अन्तिममा इँटैइँटाले निर्माण भएको चारनारायण पाटनको सबैभन्दा पुरानो मन्दिर हो ।


हिन्दु धर्मावलम्बीले नारायणलाई विष्णुको स्वरूपमा पुज्ने गर्छन् । पाटन दरबार क्षेत्रमै रहेको चार नारायण मन्दिरको पुर्न निर्माण पनि अन्तिम चरणमा पुगेको छ । चार नारायणको काम ५ प्रतिशत काम बाँकी रहेको पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुवँरले बताए ।


प्रकाशित : आश्विन १७, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?