कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आहालमा डुबेर यात्रा

लीला श्रेष्ठ

(भक्तपुर) — ठुल्ठूला खाडल । खाल्डोमा बस्तीबाट आउने ढलको पानी । यही आहाल हुँदै ठिमी भक्तपुर यात्रा गर्छन् सर्वसाधारण । धेरैको सवारी त यहीं आहालमै पल्टिन्छन् । हिलाम्मे सडकमा फस्ने सवारीको कहिलेकाहीँ त ताँती नै हुन्छ ।

आहालमा डुबेर यात्रा

अरनिको राजमार्गको वैकल्पिक मार्ग पेप्सीकोला–पुरानोठिमी–सल्लाघारीको निकोसेरामा सर्वसाधारण सधैं पीडादायी यात्रा गर्न बाध्य छन् । ‘कार, ट्याक्सी, मोटरसाइकलसमेत डुब्ने खाल्डो छ । यो खाडलमा बस र टिप्पर नै फसिरहेको हुन्छ,’ महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले भने, ‘बोडेदेखिको ढल सडकमा आइपुग्छ । ढलको निकासा छैन ।’


मध्यपुर थिमि–९ निकोसेरा माथिल्लो भेगबाट आएको ढलको ठूलो हिमपाइप तल्लो भेगको सानो पाइपमा जोडिएको छ । बोडेलगायत कुण्डोल क्षेत्रबाट आएको ढल ओभरफ्लो हुँदा सडक जलमग्न भएको उनले बताए । ‘सडक विभागलाई आग्रह गरेर धेरै ट्रिप ग्राभेल भरिसकियो,’ नायव उपरीक्षक कोइरालाले भने, ‘तर, समस्या उस्तै छ । सर्वसाधारणले ढलबाटै यात्रा गर्नु परिरहेछ ।’ यो सडक र प्रहरी वृत्तबाट बढीमा ५ सय मिटर दूरीमा पर्छ । २०७४ असारमा विस्तार थालेको पेप्सीकोला–सल्लाघारी सडकको ४.५ किलोमिटर सडक स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको काठमाडौं सडक विस्तार आयोजना प्रमुख आनन्द आचार्यले बताए । ५९ करोड ९७ लाख रुपैयाँ लागतमा यो सडक निर्माण ठेक्का भएको थियो ।


स्थानीयले जग्गाको मुआब्जा नदिएसम्म सडक विस्तार गर्नै नदिएको उनले बताए । स्थानीयको अवरोधले १२ प्रतिशत मात्र काम भएको उनले सुनाए । ‘मध्यपुरथिमि बाहाखा बजारलगायत पुरानो बस्तीको घर भत्काउन दिइएको छैन, स्थानीयले घर, जग्गाको मुआब्जा र क्षतिपूर्तिको माग गरेर अवरोध गर्दै आएका छन्,’ आयोजना प्रमुख आचार्यले भने, ‘हाम्रो काम घर भत्काउने र मुआब्जा दिने होइन ।’ कतिपय स्थानको मुद्दा अदालतमा विचाराधीन रहेको उनले बताए ।


उक्त सडक विस्तारको जिम्मा कान्छाराम/पीआर/उमा एन्ड कम्पनी जेभीले लिएको छ । उसले २०७६ पुस मसान्तमा कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, ढल जमेर सडक अवरुद्व हुँदासमेत स्थानीयले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै ग्राभेलसमेत हाल्न नदिएको आयोजना प्रमुख आचार्यले बताए । बाहाखा बजार क्षेत्रको अधिकांश घर सडकको मापदण्डभित्र पर्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले घर, जग्गाको मुआब्जा दिएर मापदण्डभित्र पर्ने संरचना हटाएपछि मात्र सडक विस्तार सम्भव हुने आयोजनाको भनाइ छ । ‘सडक विस्तारसँगै ढलको समस्या समाधान हुन्छ तर, स्थानीयले सडक विस्तारमा अवरोध गरिरहेका छन्,’ मध्यपुर थिमि–९ का वडाध्यक्ष रामकाजी चक्रधरले भने, ‘मुआब्जाको विषयलाई लिएर स्थानीयले सडकको खाल्डोमा ग्राभेलसमेत हाल्न दिएका छैनन् ।’ सडक विस्तार गरी बाटो व्यवस्थापन नगरेसम्म मध्यपुर थिमि–९ निकोसेरा सडकमा ढलको समस्या आइरहने वडाध्यक्ष चक्रधरले बताए । करिब १५ मिटर कालोपत्रे, फुटपाथ, नालीसहितको सडक निर्माण हुनेबित्तिकै वर्षौंदेखि निकोसेराका बासिन्दाले भोग्दै आएको सास्ती टुंगिने उनले सुनाए ।


स्थानीय बासिन्दासँगै कतिपय निर्वाचित जनप्रतिनिधि पनि सडक विस्तारको विरोधमा उभिएका ठेकेदार कम्पनीको गुनासो छ । समयमा सडक विस्तार सम्पन्न हुन नसक्दा पुरानो थिमिको साँघुरो सडकमा सवारी जाम बढ्दो छ ।

प्रकाशित : आश्विन १२, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?