चक्रपथ सुधार योजना : दोस्रो खण्डमा संरचना भत्काउन सुरु

प्रशान्त माली

काठमाडौँ — चक्रपथ सुधार योजनाले रिङरोडको दोस्रो खण्ड अर्न्तगत सडक मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । सडक मिचेर बनाइएका कंलकी क्षेत्रका पर्खाल, टहरा, घरका छट भत्काएका हुन् । चक्रपथको मापदण्ड सडकको मध्यभागबाट दायाँबायाँ ३१/३१ मिटर छ ।

चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले मापदण्ड मिचेर बनाइएका संरचना निरन्तर भत्काउँदै लैजाने बताए । ‘सम्बन्धित घरधनीलाई भत्काउन सुचना जारी गरिसकेका छौ,’ उनले भने, ‘अटेर गरेमा डोजर लगाएर भत्काइनेछ ।’

चक्रपथको दोस्रो खण्ड ११ दशमलव ६ किमी छ । चीन सरकारको अनुदान सहयोगमा सडकको मध्यभागबाट २५/२५ मिटर सडक बिस्तार गर्न सडक मिचेर बनाएको संरचना भत्काउन सुरु गरेको हो । २५/२५ मिटर बाहेक ६/६ मिटर ट्रयाक रोड नेपाल सरकारले बनाउनेछ । योजनाका अनुसार सडकको डिजाइन तयार भइसकेको छैन ।

मापदण्ड कायम गरिसकेपछि चीनिया र नेपाली प्राविधिक बसेर डिजाइनको अन्तिम रुपमा दिइने प्रमुख रिमालले बताए । ‘चीन सरकारले सडक बनाउन सुरु गरेपछि नेपाल सरकारले पनि आफ्नो जिम्मेवारीमा परेको सडक बनाउन सुरु गरिनेछ,’ उनले भने, ‘ट्रयाक रोड निर्माण गर्न एक अर्ब रुपैया बजेट लाग्ने अनुमान छ ।’

योजनाका अनुसार कंलकी– धोवीखोला अर्न्तगत सार्नुपर्ने बिजुलका पोल एक हजार वटा छन् । जसमध्ये २ सय ५० वटा सारिसकेका छन् । दुई हजार एक सय वटा रुख पनि ढाल्नु पर्ने हुन्छ । खानेपानीका पाइप पनि सार्नुपर्ने हुन्छ । रुख काट्न र पाइप सार्न जिल्ला वन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय भइरहेको योजनाले जनाएको छ ।

योजनाका अनुसार चीनियाँ कम्पनीले कोटेश्वर–कलंकी खण्ड २०७५ पुसमा हस्तान्तरण गरेको थियो ।

प्रकाशित : आश्विन २, २०७६ २१:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुल निर्माणको माग गर्दै १२ दिनदेखि अनशन

रासस

बैतडी — भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै सुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ । पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए । 

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए । सीमानाकामा पक्की पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले जानकारी दिए ।

पुल निर्माणका लागि ठोस पहल नभएसम्म अनशन जारी रहने संघर्ष समितिले जनाएको छ । अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन् । दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाइ नभएपछि झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिको अगुवाइमा रिले अनशन बस्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

२०५९ सालमा १० हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ । यसका साथै मोटरेबल पुल निर्माणको लागि २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

अनशन जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि सुरु भएको हो । झुलाघाटमा मोटरेबल पुल नहुँदा हाल दशकौं पहिले बनेको जीर्ण झोलुंगे पुलबाट वारपार गर्नुपरेको छ ।

प्रकाशित : आश्विन २, २०७६ २०:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT