२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मौलिक शैली गुम्दै हिरण्य महादेव मन्दिर

काठमाडौँ — राजधानीको थापाथलिस्थित जंग हिरण्य हेमनारायण मन्दिरको पुनर्निर्माण रोकिएको छ । मौलिक शैलीमा पुनर्निर्माण नभएपछि सरोकारवालाले मन्दिर निर्माणमा रोक लगाएका हुन् । 

माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर राख्नुपर्ने भए पनि सामान्य गजुर मात्र राखिएको छ । त्यस्तै तेस्रो तल्लाको चारै कुन्नामा राखिएको चार सिंह (मेघ, मल्ल, सिंह र सधुन) पनि सफा नगरी राखिएका छन् ।


मन्दिर मौलिक स्वरूपमा नबनाएकाले पुनर्निर्माणमा रोक लगाएको काठमाडौं महानगर–११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए । ‘पुरातत्त्व विभागले निर्माण गरेको मन्दिरमा नागसहितको गजुर नराखी अर्कै गजुर राखिएकाल पुनर्निर्माणमा रोक लगाएको हो,’ उनले भने । हाल विभागलाई मौलिक शैलीमा नै पुनर्निर्माण गर्न निर्देशन दिइएको उनले बताए ।


पुरानो मन्दिरको माथिल्लो भाग शिखर शैलीको थियो भने, अहिले उक्त भाग मण्डप शैलीतिर ढल्केको छ । ती भाग पनि चर्किएको स्थानीयको भनाइ छ । मन्दिर शिखर शैलीमै बनेको भए पनि आकारमा परिवर्तन आएकोे पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुँवर बताउँछन् । मन्दिरको आकारमा परिवर्तन आएको स्थानीयको गुनासो छ तर आकारको अहिलेसम्म ननापेको भनाइ छ ।


‘मन्दिरको काम बाँकी भएकाले रोकेको छ,’ उनले भने, ‘त्यसैले गजुर पनि राखिको छैन, हराएको भने होइन ।’ मन्दिरको पुनर्निर्माण नसकिएकोले गजुर नराखेको उनको भनाइ छ । करिब एक महिनापछि मन्दिरको काम सुरु हुने उनले बताए । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्‍याएको थियो । पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मेवारी पाएपछि २०७३ सालमा ठेक्का दिएको थियो ।


बीचमा निर्माण केही समय रोकिए पनि २०७५ मा सकाउने लक्ष्य लिइएको मन्दिर भने हालै मात्र निर्माण सम्पन्न भएको हो । जंगबहादुर राणाले विसं १९३१ मा थापाथलीस्थित वाग्मती किनारमा उक्त मन्दिर बनाएका थिए ।


उक्त कालमोचन घाटमा नै राणाले नारायण, लक्ष्मी र सरस्वतीका मूर्ति स्थापना गरी गुम्बज शैलीमा तीनतल्ले ‘जगं हिरण्य हेमनारायण मन्दिर’ निर्माण गरेका थिए । माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर र तेस्रो तल्लाको चारै कुन्नामा चार सिंह राखी स्थापना गरिएको मन्दिर अगाडि भने जंगबहादुरकै पूर्णकदको प्रतिमा रहेको छ ।


बेलायत यात्राबाट फर्केपछि उनले रानी र छोराको नाममा उक्त मन्दिर निर्माण गरेका थिए । करिब ३० रोपनी क्षेत्रफलमा निर्माण गरेको मन्दिर परिसरलाई कालमोचन घाट पनि भनिन्छ । हेमनारायण मन्दिरको अगाडि राणा खानदानी किरिया बस्ने गर्दछन् । त्यहाँ संन्यासी, उदासी र वैरागी गरी तीन अखडा रहेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?